अन्तर्वार्ता/विचारसोमबार, आषाढ १०, २०७०

“सुशासनमुखी बजेट ल्याउँछौं”- अर्थमन्त्री

हिमालखबर

तस्वीरः बिक्रम राई

बजेटको तयारी कस्तो हुँदैछ ? नयाँ बजेटको विशेषता के हुनेछन् ?

चालु आर्थिक वर्षमा तीन पटक बजेट प्रस्तुत हुँदा अर्थतन्त्रमा नकारात्मक असर परेको छ । त्यसैले समयमै बजेट ल्याउन तयारी भइरहेको छ । राष्ट्रिय योजना आयोगले तोकेको सीमा अनुसार मन्त्रालयहरूबाट कार्यक्रम आएका छन् र बजेट महाशाखाले उनीहरूसँग छलफल गरिरहेको छ । दैनिक दुई तीन घण्टा मन्त्रीस्तरीय छलफल पनि भइरहेका छन् । असार मसान्तभित्रै पूर्ण बजेट ल्याउँछौं ।

यसअघिका र यो बजेटको भिन्नता के ?

पहिलेको बजेट निर्वाचित संसदमा प्रस्तुत हुन्थ्यो । अहिले संसद् नभएकाले अध्यादेशबाट बजेट ल्याइनेछ । अहिलेको बजेट मूलतः संविधानसभा निर्वाचन सम्पन्न गराउन केन्द्रित हुनेछ । यसैगरी बजेटको अर्को ध्यान स्रोतसाधनको व्यवस्था गर्नु हुनेछ ।

अर्थतन्त्रको गतिशीलताका लागि नगरी नहुने विकास निर्माणमा ध्यान दिनेछौं । सुशासनको प्रत्याभूति दिलाउने छौं । राजनीतिक लोकप्रियताका लागि नारामूलक कार्यक्रम होइन, राष्ट्रिय विकासका साझा योजनालाई प्राथमिकता दिनेछौं ।

ऊर्जा, प्याकेजका कार्यक्रम, पूर्वाधार विकास (सडक संजाल, रेल्वे र सिंचाइ), कृषि, पर्यटन र निर्यातमूलक क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।

बजेटलाई ठूला आयोजना केन्द्रित गर्न सक्नुहोला ?

यो सरकारका लागि बजेट थिति बसाल्ने एउटा महत्वपूर्ण अवसर हो । पूर्व जनप्रतिनिधिहरू र विकासप्रेमीहरूबाट केही आयोजनाको माग आउनु स्वाभाविक भए पनि राजनीतिक दबाब निकै कम आएको छ ।

नियमित प्रक्रियाबाट आएका योजना मात्र समावेश गरिने छन् । जिल्ला, क्षेत्र, केन्द्र र योजना आयोगबाट आएका आयोजनालाई प्राथमिकता दिइने छ ।

राजनीतिक स्वार्थका कार्यक्रमलाई रकम दिने परिपाटी रोक्न सक्नुहुन्छ ?

आर्थिक सहायता र चन्दा पुरस्कार (आसचपु) बन्द गरिएको छ । त्यसले पनि हामी अपारदर्शी र वितरणमुखी कार्यक्रम ल्याउँदैनौं भन्ने स्पष्ट पार्छ । राजनीतिक स्वार्थ र नारा भएका कार्यक्रम यो बजेटमा हुँदैन ।

यो सरकारलाई राजस्वको दर हेरफेर गर्न पाउँदैन भनिन्छ नि ?

संविधान संशोधनले सरकारलाई आयव्यय विवरण पेश गर्ने अधिकार दिएको छ । तर करको दर परिवर्तन गर्ने हाम्रो सोचाइ छैन ।

केही अर्थविद्हरू यो सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार छैन भन्दैछन् नि !

उहाँहरूलाई संविधानको पछिल्लो संशोधन पढ्न अनुरोध गर्दछु । छलफल, बहस र टीकाटिप्पणी हुनु भने स्वाभाविकै हो ।

विकास खर्च नहुने समस्याको समाधान कसरी गर्नुहुन्छ ?

हामी समयमै बजेट ल्याउँछौं । विकास निर्माणका काम समयमै पूरा गर्न १ साउनभित्र सबै मन्त्रालयको कार्यक्रम स्वीकृत गरेर खर्च गर्ने अख्तियारी दिइनेछ ।

९ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>