अन्तर्वार्ता/विचारसोमबार, आषाढ १०, २०७०
निगम, एयरबस र भविष्य
१७, नोवेम्बेर २००९, दुबई एयरशो (Dubai Airshow), राष्ट्रिय ध्वज्बाहक नेपाल वायुसेवा निगमका तत्कालिन अधक्ष्य सुगत्रत्न कंसाकारले यूरोपेली जहाज निर्माता एयरबससँग नयाँ जहाज किन्ने सम्झौता गर्दा, म प्रसन्न भएको थिए | साढे दुई दशकपछि किन्न लागेको नयाँ बिमानहरुको सम्झौता दुबई एयरशो जस्तो भब्य हवाई ब्यापारिक मेलामा सम्पन्न भएको र संसारभरिका हवाई मीडियामा पाएको चर्चाले त गौरवबांतित नै महसुस गरेको थिए | तर बिडम्बना, त्यसको दुई वर्षपछि जहाज आउन त परै जाओस, जहाज किन्ने रकमको बेवस्ता नहुदै जहाज निर्माता एयरबसलाई ५ करोड ७३ लाख ७५ हजारको बैना पठाउदा भ्रस्टाचार भएको भन्दै कंसाकारलाई जेल चलान नै गरियो |
नेपाल वायुसेवा निगमले यूरोपेली जहाज निर्माता एयरबससँग न्यारोबडी जहाज खरिदको लागि गरेको हवाई समाजदारी र कर्मचारी सञ्चय कोषको १० अर्बको ऋण सम्झौताले नेपालको हवाईक्षेत्र फेरि तातेको छ | मुलुकले नयाँ जहाज पाउने सम्भावनासंगै, सबैतिरबाट देखिएको सकारात्मक माहोलले नेपाली पर्यटन र हवाई क्षेत्र एवं आम नेपालीमा हर्सोल्लास छाएको छ | चार वर्ष पहिले आफुले थालेको यो प्रकियाले पुन सार्थकता पाउने अवस्थासंगै, कंसाकार पनि सन्तुस्ट भएको हुनुपर्छ | जहाज खरिद प्रकिया जति चुनौतीपूर्ण छ, चुस्त ब्यवस्थापन त्यो भन्दा बडी महत्वपूर्ण र चुनौतीपूर्ण छ |
जहाजको आम्दानीबाट नभई त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिंग (Ground Handling) बाट खर्च धानिरहेको अवस्था, कर्मचारीतन्त्र, राजनीतिक अस्थिरता , कमिसन चलखेल, जहाज भाडाकाण्ड जस्ता समस्याहरुबाट निगमलाई उक्लन त्यति सजिलो छैन | नयाँ जहाज किन्दैमा निगम सफल हुन्छ भनेर हचुवाको आधारमा निर्णय गर्न सकिन्न | जहाज हुदैमा सफल हुन्छ भनेर सोच्ने हो भने त छिमेकि राष्ट्र भारतको राष्ट्रिय ध्वज्बाहक एयर इंडिया र किङ्गफिसर एयरलाईन्स कसरी आर्थिक रुपमा असफल हुन्थे होलान् र |
चार दशकअघि नेपाली हवाई क्षेत्रमा एकाधिकार जमाएर बसेको परिस्थितिमा, बोईङ्ग जहाज किन्नु र बिदेशी बिमान कम्पनीहरुले राम्रा सुबिधा दिइराखेको अहिलेको परिस्थितिमा, एयरबस जहाज किन्नुमा आकाश-जमिनको फरक छ | पंचायत कालमा जस्तो विदेश यात्राको लागि नेपाल वायुसेवा नै चड्नुपर्ने ब्याधात्मक परिस्थिति बर्तमानमा पक्कै छैन | त्यसकारण, निगममा व्यापक ब्यवस्थापकिय सुधार, सम्बन्धित क्षेत्रका स्वदेशी एवं बिदेशी विज्ञहरुलाई बोलाएर कर्मचारीहरुलाई आवस्यक तालिम र मुख्यत कुरा, यात्रुहरुलाई सुखद यात्रा अनुवभ गराउन अत्यन्त जरुरि छ |
राष्ट्रिय ध्वज्बाहक एउटा बिमान कम्पनीमा मात्र सिमित हुदैन, योसँग राष्ट्रको इज्जत, साख र गौरव जोडिएको हुन्छ | विदेश यात्राको निम्ति बिदेशी बिमान कम्पनीका सुबिधा-सम्पन्न जहाज चड्नुपर्ने हामी नेपालीहरुको परिस्थितिबीच तीन-चार वर्षअघि, नेपाल वायुसेवा निगमको पुरानो बोइङ्ग चड्ने सुवर्ण अवसर प्राप्त गरेको थिए | भलै पुरानो जहाज होस् वा उडान तालिका समयको ठेगान नभहोस, आफ्नै राष्ट्रको वायुसेवा निगम उडदा पाउने गौरवता र आनन्दताको महसुस, बिदेशी बिमान चढेर अवस्य पनि प्राप्त गर्न सकिन्न | मलाई लाग्छ, आम नेपालीले पनि विदेश यात्रा गर्नुपरे, पहिलो प्राथमिकता राष्ट्रिय ध्वज्बाहकलाई नै दिन्छन भन्दा दुईमत नहोला | नेपाल वायुसेवाले येस्ता राष्ट्रप्रेमी यात्रुहरुलाई एउटा अवसरको रुपमा लिई, राम्रो हवाईयात्राको अनुवभ दिनसक्नु पर्दछ |
विश्वको हवाईजेट बजारमा, बोइङ्ग र एयरबस सबैभन्दा ठूला र आकर्षक बिमान निर्माण कम्पनी मानिन्छ | निगमले ठूला जहाज खरिदको टेन्डर आह्वान गर्दा, एयरबसले बोइङ्ग भन्दा सस्तोमा टेन्डर हालेर ग्लोबल टेन्डर जितेको थियो | तर, टेन्डर जितेको आधारमा निगमकोलागि एयरबस बिमान नै बोइङ्ग भन्दा उपयुक्त हो भनेर मान्न सकिन्न | मेरो ब्येक्तिगत बिचारमा निगमको लागि एयरबस भन्दा बोइङ्ग नै उपयुक्त छ | निगमसँग अहिले बोइङ्ग जहाज भएको कारणले, प्राभिधिक रुपमा दक्ष्य जनशक्ति, अनुभभी पाईलट, इनजीनियर र सम्बन्धित पार्टपुर्जा हुनाले सजिलो हुने निश्चित छ |
बोइङ्ग एयरबस भन्दा पुरानो र लोकप्रिय बिमान निर्माण कम्पनी हो र विश्वका धेरै ठूला एयरलाईन्स कम्पनीहरुले बोइङ्ग बिमान नै संचालन गरिरहेको छ | बोइङ्ग र एयरबस दुवैका फाइदा र बेफाइदा पछहरु छन् र संसारभरिको हालको स्थिति हेर्दा र नेपाली हवाईक्षेत्र बजारको हिसाबले जुन बिमान निर्माण कम्पनी छाने पनि नेपाल बायुसेवालाई समस्या नहोला | बोइङ्ग ७५७ बिमान संचालन गरिराखेको निगमको यो कदमले बोइङ्गसँग बर्षौदेखि रहिआएको सम्बन्दमा पनि आँच आउन सक्दछ भन्ने ख्याल निगमको सम्बन्धित कर्मचारीहरुलाई पक्कै राखे होलान् | विभिन्न यूरोपेली देशका राजदूत र कुटनीतिक अधिकारीहरुले नेपालको सरकारी कर्मचारीहरुलाई भेटेर एयरबस नै किन्न दबाब दिनु र सरकार एवं निगम एयरबस नै किन्न लाग्नु पछाडी कमिसन खेललाई पनि नकार्न सकिन्न | विश्वका धेरै बिमानसेवा कम्पनीहरुले एयरबस र बोइङ्गलाई सयुंक्त रुपमा सफलताका साथ संचालन गरेको थुप्रै उदारहणहरु पनि छन् | तर, निगमजस्तो सानो बिमान सेवा कम्पनीले दुईथरि बिमान निर्माण कम्पनीका जेट बिमान संचालन गर्नु त्यति उपयुक्त नहोला |
समग्रमा भन्नुपर्दा, यदि नेपाल वायुसेवा निगमले २०१५ वर्षभित्र दुईवटा एयरबस भित्राएमा, नायक-खलनायक जसले जे भनेपनि, त्यसको धेर-थोर श्रेय कंसाकारलाई दिनैपर्दछ | करिब ६० अर्ब रुपिया रहेको नेपाल वायुसेवा बजारमा, निगमलाई सफल हुन त्यति गार्हो पनि छैन | निगमलाई चुस्त ब्यवस्थापन, नीति-नियम पालना, सबल कार्यनन पछ्, दुरदर्सिता एवं राजनीतिक स्थिरताको खाचो छ | उदारहण लिनुपरे (Ethiopian Airlines) इथोपियन एयरलाईन्सलाई लिन सकिन्छ, गरिब देशको अत्यन्त सफल राष्ट्रिय ध्वज्बाहक |
बोइङ्ग ७८७ ड्रिमलाइनर(Boeing 787 Dreamliner) जस्तो अत्याधुनिक वाइडबडी बिमान सहित ८० वटा बिमान संचालन गरिराखेको इथोपियन एयरलाईन्सलाई अफ्रिकी महादेशको एउटा सफल र नाफायोग्य बिमानसेवा कम्पनीमा दर्जा गरिन्छ | पंचायतकालमा ४-५ वटा जेट बिमान संचालन गरेर युरोप र जापानमा समेत उडान भरि मुनाफा कमाएर कर्मचारीहरुलाई बोनस बाडेको सुनौलो इतिहास त वायुसेवा निगमसँगै छ | आम नेपालीहरुलाई आउने दिनहरुमा त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा निगमको दुई वटा टलक्क टल्कने नया एयरबस देख्न पाउला नपाउला, त्यो त समयले नै बताउला | आशा छ, निगमको दुईवटा नयाँ एयरबस-३२० समयमै आओस र निगम पुन सफलताको उचाईमा पुगोस | नेपाल वायुसेवा निगमलाई मेरो हार्दिक शुभकामना |
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
