अर्थ/बजारमंगलबार, आषाढ ११, २०७०
व्यवसायमा छोरीबुहारी
– रमेश कुमार
घरभित्रको काममै सन्तुष्ट रहँदै आएका नेपालको व्यावसायिक घरानाका छोरीबुहारी पछिल्लो समय व्यवसायमा संलग्न हुन थालेका छन्। परिवारका पुरुष सदस्यसँगै पारिवारिक व्यवसायको नेतृत्व गरिरहेका उनीहरूको मिहिनेतले व्यवसायलाई थप सफलता पनि दिलाएको छ।
गोल्छा समूहकी सीमा गोल्छा, चौधरी समूहकी मेघा चौधरी, ज्योति समूहकी सिर्जना ज्योति, वैद्य अर्गनाइजेसनकी ऋतु वैद्यले जस्तै व्यावसायिक नेतृत्वको चुनौती लिने महिलामा होटल द्वारिकाकी संगीता श्रेष्ठ, नेपाल रिपब्लिक मिडियाकी शोभा ज्ञवाली, भोजन गृहकी शुभेच्छा बस्नेत, फोटो कन्सर्नकी सिर्जना थापा, कान्तिपुर पब्लिकेसन्स्की स्वस्तिका सिरोहिया पनि पर्छन्।

सीमा गोल्छा, मेघा चौधरी, सिर्जना ज्योति। तस्वीरहरुः मीनरत्न बज्राचार्य, बिक्रम राई र देवयानी सिवाकोटी
व्यवसायमा अघि बढ्दै १२ वर्षअघि सीमा गोल्छाले दरबारमार्गमा नेपालकै पहिलो इलेक्ट्रोनिक्स आउटलेट शुरू गर्दा सफल हुनेमा परिवारका केही सदस्यलाई पूरा विश्वास थिएन। परम्परागत सोच राख्ने मारवाडी गोल्छा परिवारकी बुहारी उनलाई त्यो बेला सहयोग गर्ने निकै कम थिए।
तर, उनले अहिले पाएको सफलताले परिवारको उनीप्रति विश्वास मात्र बढाएन, व्यावसायिक घरानाका अरू छोरीबुहारीलाई व्यवसायमा आउने वातावरण समेत बनायो। विवाहअघि भारतमा विज्ञापन एजेन्सीमा ‘मार्केटिङ’ गरेकी सीमाले विवाहपछिका ७–८ वर्ष घरभित्रै बिताउनु परेको थियो। विदेशका इलेक्ट्रोनिक्स शोरुम देखेपछि नेपालमा त्यस्तै शोरुम खोल्ने निधो गरेकी उनलाई पति शेखर र ससुरा हुलास चन्द गोल्छाले हौसला दिएका थिए।
शुरूमा सामसुङ ब्राण्डका सामान बेच्ने उनको ‘हिम इलेक्ट्रोनिक्स’ कम्पनीले उन्नति गर्दै अहिले टाइमेक्स ब्राण्डको घडी, हिमस्टार तथा बजाज ब्राण्डका घरायसी र विद्युतीय उपकरण बिक्री गर्छ। सामसुङको सामान मात्र वार्षिक रु.२० करोडभन्दा बढी बेच्ने कम्पनीको काठमाडौंमै पाँच वटा आउटलेट छन्। तिनमा अधिकांश कर्मचारी महिला छन्।
भारतको बैङ्गलोरबाट अर्थशास्त्रमा स्नातक र काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेकी ज्योति परिवारकी बुहारी सिर्जना घरभित्रको कामकाजबाट सन्तुष्ट थिइनन्। परिवारले ‘छोराछोरीलाई बढी समय दिन’ सुझाए पनि केही गर्ने उनको लालसा भने जिउँदै थियो। उनको रूचि देखेर परिवारले पनि युनिलिभर र एसएन इभेन्ट नामका कम्पनीमा घरमै बसेर काम गर्ने वातावरण बनाइदियो।
व्यवसायमा उनको लगाव र क्षमता देखेका परिवारका सदस्यले तीन वर्षअघि घरानाकै व्यवसायको जिम्मेवारी लिन हौस्याएपछि उनले ज्योति समूहको व्यवसाय प्रवर्द्धनको जिम्मा लिइन्। उनी अहिले पति सौरभ र देवर सुहृदसँगै समूहका कम्पनीहरूको नेतृत्व गरिरहेकी छिन्।
भारतको पुनामा वाणिज्य शास्त्र अध्ययन गरेकी बसन्त चौधरीकी छोरी मेघा समूहको नर्भिक हस्पिटल र पशुपति बिस्कुट प्रवर्द्धनमा नेतृत्व गरिरहेकी छिन्। ९ वर्षअघि नर्भिकमा प्रशिक्षार्थी बनेर प्रवेश गरेकी उनलाई पिता बसन्त र पति पारसको सहयोग रहे पनि परिवारको एक्लो उत्तराधिकारीले निभाउनुपर्ने सबै जिम्मेवारी निभाउन सक्षम रहेको उनले देखाइसकेकी छिन्।
ससुरा हेमराज ज्ञवाली र पति विनोदले शुरू गरेको मिडिया व्यवसायमा अहिले शोभा नेतृत्व तहमा पुगेकी छिन्। नागरिक र रिपब्लिका दैनिक अनि शुक्रबार साप्ताहिक प्रकाशित गरिरहेको नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा कलेज पढ्दादेखि सामाजिक क्षेत्रमा रूचि राख्थिन्।
व्यापार प्रशासनमा स्नातकोत्तर उनको विचारमा धैर्य बढी हुने भएकाले महिलाले मौका पाउने हो भने व्यापार र प्रशासनमा पुरुषभन्दा बढी सफल हुनसक्छन्। शोभा भन्छिन्, “पति र पत्नी मिलेर गरेको व्यवसाय सफल हुने सम्भावना बढी हुन्छ।” विदेशबाट एमबीए सकेकी छोरी समृद्धि पनि अहिले यो व्यवसायमा जोडिन पुगेकी छिन्।
एसएलसी पास गरेर भारत पढ्न गएकी सिर्जना थापालाई विदामा आउँदा हजुरबुबा डीबी थापाको फोटो कन्सर्नले आकर्षित गर्थ्यो। हजुरबुबा र हजुरआमाको सक्रियताबाट प्रेरित उनले त्यो बेलै मन बनाएकी थिएन्, त्यो व्यवसायलाई अरू अघि बढाउन आफ्नो बुद्धि–बर्कत लगाउने।
१२ वर्षअघि स्नातक सकेर नेपाल फर्किएपछि उनी फोटो कन्सर्नमै प्रशिक्षार्थी बनेर प्रवेश गरिन्, महीनामा रु.१ हजार पाउने गरी। दुई वर्षअघि त्यहाँको प्रबन्ध निर्देशक बनेकी सिर्जनाको कम्पनीलाई नयाँ स्वरुपमा विस्तार गर्ने योजना छ।
जर्मनीबाट एमबीए सकेकी शुभेच्छा अहिले पिता भरत बस्नेतको पर्यटन व्यवसायमा संलग्न छिन्। बस्नेतको भोजन गृह समूहमा होटल/रिसोर्ट, ट्राभल एजेन्सी र अर्गानिक पसल छन्। बस्नेतका तीन छोरीमा जेठी उनको विवाह भए पनि व्यवसायमा जाँगर घटेको छैन।
आत्मविश्वासले सफलता
व्यवसायमा अघि बढ्दै गरेका प्रायः सबै महिलाले स्वदेश वा विदेशका विश्वविद्यालयबाट उच्च डिग्री लिएका छन्। देश–विदेश देखेर बलियो बनेको आत्मविश्वासले पनि उनीहरूलाई व्यवसायमा अघि बढ्न सजिलो पारेको छ। त्यसमा पारिवारिक सहयोग थपिंदा अरू व्यावसायिक महिला जस्तै सीमा गोल्छाको करिअर सफलतातर्फ अघि बढ्दै छ। उनी व्यवसायमा आफू सफल भएको जति नै अरू महिला व्यावसायिक बनेकोमा खुशी छिन्।
सिर्जना ज्योति पनि व्यवसायमा आफू सफल हुँदै जानुमा सामाजिक सेवामा सक्रिय सासूको उत्प्रेरणा, देउरानीको उत्साह र पतिको सहयोग महत्वपूर्ण कारण रहेको बताउँछिन्। घरायसी कम्पनीमै काम गर्न पाएकाले हुनसक्छ, पुरुष सदस्यहरूसँग काम गर्दा उनले कुनै अप्ठ्यारो बेहोर्नुपरेको छैन।
कम्पनीका महत्वपूर्ण निर्णय गर्न छलफलमा बस्दा पनि महिला भएकाले कमजोर रहेको भन्ने व्यवहार भोग्नु नपरेको बताउने उनी कैयौं छलफलमा फरक मत राख्न हिचकिचाउँदिनन्। उनको विचारमा छोराछोरीको हेरचाह गर्ने जिम्मा महिलाको हुने भएकाले जुनसुकै क्षेत्रमा पुरुषलाई भन्दा महिलालाई केही कठिनाइ भने हुन्छ। त्यही कारण व्यवसायको स्थिति बुझन काठमाडौं बाहिर जाने उनको योजना पूरा भएको छैन।
पिता बसन्तको सामाजिक काममा सक्रियता बढेपछि पारिवारिक व्यवसायको नेतृत्व लिंदै गरेकी मेघा चौधरीले पनि महिला भएकोमा कहिल्यै कमजोर महसूस गर्नुपरेको छैन। तर महिलामैत्री हुन नसकेका सरकारी कार्यालयमा जाँदा भने उनलाई केही अप्ठ्यारो अनुभूति हुने गरेको छ।
त्यसैले त्यता जाँदा उनी बाबु वा पुरुष कर्मचारीको सहयोग लिन्छिन्। उनको नेतृत्वले नर्भिकको सेवा विस्तार गर्दै पशुपति बिस्कुटलाई बजारमा नयाँ रूपमा स्थापित गराएको छ भने सर्वोत्तम लिटोको बजार बढाएको छ।
महिला भएकोमा कहिल्यै कमजोर महसूस नगरेकी फोटो कन्सर्नकी सिर्जना थापा भर्खरै नेपाल डिजिटल कलर ल्याब एसोसिएसनको अध्यक्ष बनेकी छिन्। व्यवसायलाई पनि आधुनिक रूप दिएकी अविवाहित उनले परिवारका पुरुष सदस्यबाट राम्रो सहयोग पाएकी छिन्।
शोभा ज्ञवालीको विचारमा अबको केही वर्षमा महिलाको सहभागिता पुरुषको वर्चस्व रहेको व्यावसायिक क्षेत्रमा अरू बढ्नेछ। छोराले जस्तै छोरीले पनि राम्रो शिक्षा र व्यवहार पाउन थालेकाले महिलामा आत्मविश्वास बढेको र त्यसले घर बाहिरको काममा महिलालाई लाग्ने वातावरण बनाएको उनको विश्वास छ।
व्यवसायमा पतिलाई सघाए जस्तै घरको काममा पतिले आफूलाई सघाउने गरेको बताउने शोभा भन्छिन्, “समाजको परम्परागत सोच परिवर्तन भएकाले पनि महिलालाई सबै क्षेत्रमा अघि बढ्न सजिलो भएको हो।”
भान्छाघर समूहकी शुभेच्छा बस्नेतले पनि महिला भएकोमा कहिल्यै कमजोर महसूस गर्नुपरेको छैन। कम्पनीका साना निर्णयहरू एक्लै गर्दै अनुभव बढाउँदै गरेकी उनी ठूला निर्णयमा भने अहिलेसम्म पितामा निर्भर छिन्। आफ्नो सोचले अर्गानिक पसल शुरू गरेकी उनी होटल व्यवसायमा पनि ‘केही नयाँ’ गर्ने योजनामा छिन्।
९ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
