टिप्पणीबुधबार, आषाढ १२, २०७०

‘गरिखाने मान्छे’

कनकमणि दीक्षित

मंगलबार बेलुकी अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान फ्रान्सिस्को शहर नजिक अकस्मात् हृदयघातले एकजना नेपालीको मृत्यु भयो। उनी थिए, इञ्जिनियर भाष्कर थापा, जो आफ्नै बौद्धिक बलबुताबाट आफ्नो विधाको माथिल्लो पंक्तिमा स्थापित भएका थिए। उनको विशेष क्षमता नेपालको आर्थिक विकासको लागि चाहिने भौतिक पूर्वाधारको सन्दर्भमा अपरिहार्य थियो, त्यो खोसियो।

भाष्करको विधा थियो– भूमिगत भौतिक पूर्वाधार अर्थात् सुरुङ निर्माण। जलविद्युत् योजनाको लागि होस् वा ‘मल्टिलेन’ सुरुङमार्ग, पानी र ढल निकासको भूमिगत कार्य वा भूमिगत मेट्रो रेल― ठूलो ‘स्केल’को सुरुङ बनाउनु भनेकै भौतिक संरचना निर्माणको सबभन्दा संवेदनशील क्षेत्र मानिन्छ।

जमिनको सतह भन्दा सयौं फिट तल काम गर्दाको विशेष जोखिम एकापट्टि छ भने अर्कोतर्फ ठूलो धनराशी जुटाउनेदेखि कामदार सुरक्षा र व्यवस्थापनसम्मका चुनौती। संयुक्त राज्य अमेरिकाको प्रतिस्पर्धी ‘टनेल इञ्जिनियरिङ’ क्षेत्रमा १७ वर्षको अनुभव बोकेका कहलिएका ‘डिजाइनर’ तथा परियोजना प्रमुख हुन पुगे– भाष्कर।

उनका विशेष सीप थिए जोखिम विश्लेषण, ‘रक मेक्यनिक्स’, परियोजना तयारी, पहिरो अनुसन्धान, भुईंचालो प्रतिरक्षा तथा ‘न्युमेरिकल एनालिसिस्’। पछिल्लो समयमा उनी क्यालिफोर्नियाको ‘बर्कली हिल्स्’को गर्भबाट ३४०० फिट लामो ‘कल्डिकट हाइवे टनेल’ छेड्ने चुनौतीमा सफल भएका थिए।

यसका लागि संसारकै आधुनिक प्रविधि प्रयोग गरेका थिए परियोजनाका ‘चिफ इञ्जिनियर’ भाष्करले। ४० करोड अमेरिकी डलरको परियोजनाको पूरा जिम्मेवारी उनको काँधमा थियो। १० मार्च २०१२ मा काम शुरू भएदेखि मिडियाले तिखो नजर गरी नियालिरहेका भाष्कर कामदार सुरक्षा र सूक्ष्म प्राविधिक पक्षदेखि परियोजनाको सफलता वा असफलतासम्मका लागि जवाफदेही थिए।

‘बर्कली हिल्स्’ को गर्भमा एकदम फुस्रो चट्टानबाट बनेका तीन छुट्टाछुट्टै ‘रक स्ट्रेटा’ पाइयो, जसलाई छिचोल्दै अगाडि बढ्न हरेक २–४ फिटमा कंक्रिटको ‘शट्क्रिट’ नामको प्रतिरक्षात्मक गुम्बज बनाउँदै अगाडि बढ्नुपर्ने। क्यालिफोर्निया भूकम्पीय खतराको क्षेत्र भएकाले निर्माणको प्रविधि अझै पक्का हुनुपर्ने।

कल्डिकट सुरुङमा डाइनामाइटको प्रयोग नगरी जर्मनीमा बनेको भीमकाय ‘रोड्हेडर’ मेशिन उतारेका थिए भाष्करले। जोडी मेशिनले सुरुङको दुवैतर्फबाट कीराले दुलो खने जसरी चट्टान फुटाउँदै छिचोल्दै अगाडि बढे। केही महीनाअघि दुईतिरका ‘रोड्हेडर’ पहाडभित्र भेट हुँदा भाष्करको टीमले हर्षोल्लास मनाएको थियो। भनिन्छ, काम यति राम्ररी भएको थियो कि दुईतर्फको सुरुङ निर्माण जोडिंदा केही अंगुल मात्रको माथि–तल पाइयो।

क्यालिफोर्निया राज्यका गभर्नरबाट कल्डिकट सुरुङमार्गको उद्घाटन हुँदैछ, र आउँदो सेप्टेम्बरको लागि निर्धारित समारोहमा भाष्कर थापा प्रशंसाको मुख्य पात्र हुनेछन्। त्यसक्रममा परियोजना प्रमुखको रूपमा उनको भूमिकासँगै काम फत्ते गर्ने क्रममा उनले देखाएको लगन, सीप र सहृदयी मिजासको स्मरण गरिनेछ।

सुरुङमार्गको उद्घाटनकै बेला उनी ५० वर्ष पुग्ने हुँदा जन्मोत्सवको उपलक्ष्यमा संसारभरबाट उनका निकट आफन्तजन स्यान फ्रान्सिस्को उत्रँदै थिए। तिनमा थिए काठमाडौंबाट पिता भेषबहादुर थापा र माता डा. रीता थापा अनि ब्रसेल्सबाट बहिनी तेजश्री र टोरन्टोबाट अर्की बहिनी मञ्जुश्री।

स्यान फ्रान्सिस्कोमै हुने थिए उनकी श्रीमती सुमिरा र दुई छोरा। दुर्भाग्यवश अब न त उद्घाटन समारोहको ताली भाष्करले सुन्नेछन्, न त रह्यो जन्मोत्सवको उल्लासको सन्दर्भ।

आफैंमा उल्लेख्य परिवारका सदस्य थिए, भाष्कर। नेपालकै प्रख्यात कूटनीतिज्ञ बाबु, मुलुकको जनस्वास्थ्यलाई लिकमा डोर्‍याउने आमा, एउटा बहिनी अन्तर्राष्ट्रिय मानवअधिकारवादी जुझारु र अर्की बहिनी संसारभर ख्यातिप्राप्त लेखक र साहित्यकार। भाष्करले सिक्दै–बुझ्दै आएको सुरुङ निर्माणको उच्चतम ज्ञान र सीपबाट नेपाल लाभान्वित हुने सम्भावना अब रहेन।

द्वन्द्वकालपश्चात् आर्थिक क्रियाकलाप बढ्ने क्रममा यो पहाडी मुलुकमा सुरुङ प्रविधिको खाँचो छ– राजमार्ग, सिंचाइ, पानी/ढल, जलविद्युत् र रेलसेवाका लागि। भूगोलको अर्कोपट्टि रहेर यो विधाको ज्ञाता बन्दै गरेका भाष्करलाई हृदयघातले ५० वर्षको अल्पायुमै लिएर गयो, त्यही समय जब उनले आफ्नो विधालाई नेपालमा कसरी प्रयोगमा ल्याउने, सोच्दै थिए।

९ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...