रिपोर्टबुधबार, आषाढ १२, २०७०
प्राकृतिक प्रकोप: बेपर्वाह राज्य
रामेश्वर बोहरा, काठमाण्डौं
बच्चु बिक, धनगढी
रामेश्वर बोहरा, काठमाण्डौंबच्चु बिक, धनगढी३ असार बिहान महाकाली नदीमा आएको बाढीमा बग्दै गरेका दार्चुला सदरमुकाम खलंगा जिल्ला प्रहरी कार्यालय भन्दा दक्षिणतर्फका घरहरु। मुलुकको पूर्वी भेगबाट शुरू हुने मनसुनले खासै असर नगर्ने र वर्षात्भर शान्त रहने सुदूरपश्चिम यसपालि असार लाग्दानलाग्दै नराम्ररी हल्लियो– मनसुनी वर्षा र बाढी–पहिरोले।
सुदूरपश्चिमको पनि सुदूर जिल्ला दार्चुला र त्यसको अन्तिम सीमा महाकाली नदी किनारमा अवस्थित सदरमुकाम खलंगा त भताभुङ्ग नै भयो। २ असार मध्यरातपछिका ७–८ घण्टामा यसले जे–जति व्यहोर्नुपर्यो, त्यसको सम्झ्ना मात्र पनि कहालीलाग्दो छ।
त्यो ७–८ घण्टामा त्यहाँका १७ वटा सरकारी कार्यालय, कम्तीमा ७७ घर र सुकुम्बासीका १८ टहरा महाकालीले आफूसँगै लिएर गयो। घडेरी–जग्गा र सरसामानसँगै कति सम्पत्ति बग्यो, लेखाजोखा भएको छैन।
आफ्नो भवनसहित कम्पाउण्ड बगेपछि जिल्ला प्रहरी कार्यालय दार्चुला बहुमुखी क्याम्पस प्राङ्गणमा आश्रय लिएर क्षतिको विवरण संकलन गर्न जुटेको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी कुवेर कडायत भन्छन्, “सदरमुकामका १०–१२ हजार मानिसमध्ये कसको कति क्षति भयो, कति विस्थापित भए भन्ने यकिन विवरण पत्ता लगाउन समय लाग्छ।”

बाढीले बिध्वंश गर्नुअघि महाकाली पारी भारतको धार्चुला पट्टिबाट खिचिएको खलंगाको तस्वीर । तस्वीरः बच्चु वि. क.
अवश्यंभावी विपत्ति!
विगतका वर्षमा असार पहिलो सातासम्म देशका अधिकांश भागमा खडेरीको रजाइँ हुन्थ्यो। देशको पश्चिमी भू–भागमा मनसुन पुग्न साउन कुर्नुपर्थ्यो। यसपालि भने सुदूरपश्चिमवासीका लागि संकट लिएर मनसुन छिट्टै भित्रियो।
छिट्टै शुरू भएको मनसुनले देशभर विपत्ति निम्त्याएको छ। गृहमन्त्रालयका अनुसार, २ देखि ५ असारका बीच देशभर भएको वर्षा र त्यसबाट सिर्जित बाढी–पहिरोले ३० जनाको ज्यान गएको छ भने १७ जना हराइरहेका छन्। मध्य तथा सुदूरपश्चिममा मात्र २६ जनाको मृत्यु भएको छ। कालीकोटमा १३ जना हराइरहेका छन्।
सबभन्दा ठूलो प्रकोप भने दार्चुलामा नै पर्यो। उद्धारमा जुटेका सुरक्षाकर्मी क्षतिको विवरण संकलन गरिरहेका छन्। दार्चुलामा करीब ४०० परिवार विस्थापित भएको र अर्बौंको धन–सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ। महाकाली नदीमाथिको जोलजिबी झोलुङ्गे पुल, अन्य साना नदीका करीब एकदर्जन झोलुङ्गे र काठे पुलका साथै सार्वजनिक संरचना तथा खेतीयोग्य जमिन बगेको छ।
२ असार रातिदेखि विपत्तिमा फँसेका सदरमुकामवासीको ज्यान त्यहाँ कार्यरत प्रहरी, सेना र स्थानीय बासिन्दाले डोरीको भरमा उर्लिरहेको महाकालीमा हाम्फालेर जोगाए। आफैं बिचल्लीमा परेका प्रहरीहरू भोकभोकै उद्धारमा जुटे।
काठमाडौंमा मन्त्रिपरिषद्का अध्यक्ष र सदस्यहरूलाई भने दार्चुलावासीको पीडाले छोएको देखिएन। विपत्तिको तीन दिनपछि ५ असारमा मात्र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपालमा सरकार रहेको जनाउ दिए– चार मन्त्री र सुरक्षा निकायका प्रमुखहरूलाई बालुवाटार बोलाई उद्धारमा जुट्न अह्राएर।
सरकारले सम्भवतः ४ असारमा केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले गरेको बाढी प्रभावित दार्चुला र कञ्चनपुरलाई रु.५०/५० लाख दिने निर्णयबाटै आफ्नो जिम्मेवारी पूरा भएको ठानेको थियो। समितिका अध्यक्ष लक्ष्मीप्रसाद ढकाल चाहिं तीन दिनसम्म मौसम नसुधि्रएकाले काठमाडौं, नेपालगञ्ज र धनगढीबाट उद्धार–राहत टोली जान नसकेको बताउँछन्।
नभन्दै, ६ असारमा मौसम खुलेपछि मन्त्रीहरूको लावालस्कर लिएर दार्चुला पुगेका रेग्मीले प्रति पीडित परिवार रु.३५ हजार दिने, सडक लगायतका ध्वस्त संरचना बनाउन दार्चुलालाई आगामी बजेटमा रु.५० करोड दिने बताए।
कतिपयले दार्चुला सदरमुकामभन्दा करीब १८ किमी उत्तरमा भारतले बनाएको धौलीगंगा विद्युत् परियोजनाको बाँधलाई यो विनाशको कारक माने पनि समस्या महाकाली किनारको असुरक्षित बस्तीलाई सुरक्षित बनाउने प्रयास नहुनु नै हो। महाकाली पारि धार्चुलामा भारतले अग्लो पक्की तटबन्ध बनाएको छ। नेपालतर्फ भने दुईचारवटा ढुंगाका जाली बनाइएको थियो। त्यही जालीका पनि ढुंगा झिकेर गिटी बनाउने काम हुन्थ्यो।
स्थानीयवासी त्यसो गर्दा आउन सक्ने खतराप्रति सचेत भएनन्, राज्य–संयन्त्रले त्यसलाई रोकेन। गृहसचिव नवीन घिमिरे भन्छन्, “हामीले विपत् व्यवस्थापन त भन्यौं, तर विनाश रोक्नेतर्फ ध्यान दिएनौं।”
दार्चुलाको कालापानीदेखि कञ्चनपुरको कुतियाकभरसम्मको २२३ किमी महाकाली नदीमा कतै गतिलो तटबन्ध छैन। कञ्चनपुरको भुजेला, बडैपुर र ओदाली क्षेत्रमा बनाइएको ११ किमी तटबन्ध तीन वर्षअघि क्षतविक्षत भएको छ। दार्चुला, बैतडी र डडेल्धुराको महाकाली किनार सधैं बाढी र कटानको जोखिममा छ।
परिणाम, दार्चुलाले २ असारमा यत्रो क्षति व्यहोर्नुपर्यो। सम्भावित विपत्तिप्रति बेपर्वाह राज्य–संयन्त्र उद्धार र राहतमा पनि प्रभावहीन सावित भयो। वर्षायाम भर्खरै शुरू भएकाले बेलैमा ध्यान पुर्याउने हो भने दार्चुलाको यो विपत्ति अन्यत्रका निम्ति पाठ हुनसक्छ।
९ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
