टिप्पणीशुक्रबार, आषाढ १४, २०७०
बद्लावमा बादी
बादी समुदायको जीवनशैलीबारे पढे–सुने पनि साक्षात्कारको मौका जुरेको थिएन।
सिंहदरबारलाई आफ्नो हक―अधिकारको मुद्दा सुनाउन पाँच वर्षअघि उनीहरू जुलुससहित दक्षिण गेटमा भेला भएका थिए।
त्यसक्रममा प्रहरीले गरेको हस्तक्षेपबाट उम्केकी एक महिलाले सिंहदरबारको गेट चढेर आक्रोश व्यक्त गरेको दृश्य मेरो मस्तिष्कमा ताजै छ। त्यसबेला उनको शरीरमा पेटिकोट र बे्रजिएर मात्र थियो।
बादीहरू १४ औं शताब्दीतिर भारतबाट सल्यान हुँदै रुकुम, रोल्पा र जाजरकोटमा बसोबास गर्न आइपुगेको बताइन्छ। जतिबेला उनीहरूको मुख्य पेशा थियो– चाडपर्व, विवाह–ब्रतबन्ध, भोज–भतेर आदि अवसरमा राजामहाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु।
त्यसबापत बक्सिस्मा प्राप्त हुने जग्गा–जमिन, घर अनि नगद–जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो। राणाशासनको अन्त्यपछि भएको रेडियो, टेपरेकर्डर, सिनेमा आदिको लहरले उनीहरूको त्यो परम्परागत पेशा खोसिन थाल्यो।
त्यो अवस्थामा गाउँका सामन्त–धनाढ्यहरूलाई बादी महिलाको अस्मितामा खेल्न सजिलो भयो र अन्ततः उनीहरू जीविकाको लागि यौन पेशा अँगाल्न बाध्य भए। यस क्रममा उनीहरू नेपालगञ्ज, घोराही, तुलसीपुर जस्ता तराईका घनाबस्तीमा बसाइँ सर्न थाले।
जेन्डर र सामाजिक समावेशीकरण सम्बन्धी तालीमको सिलसिलामा यस पटक जाजरकोट पुग्दा सहकर्मी विजय दाहालको सुझाव अनुसार पहाडका बादीहरूलाई भेट्न सुदर्शन अधिकारी, म र शोभा सिंह राउत गाउँ पुगेका थियौं। हामीले त्यहाँ एकसे एक पढालेखा महिला भेट्यौं– बीएड, बीबीएस पढेका।
जाजरकोटका बादी समुदायमा यति पढालेखा महिला भेट्टाउनु सामान्य भइसकेको रहेछ। राउत गाउँमा कोही महिला यौनपेशामा छैनन्। यो गाउँ मात्र होइन, सिंगो जाजरकोटमा बादीहरू यौनपेशामा नभएको मैले कुरा गरेका सबै स्थानीयवासीले सुनाए।
बादी पुरुषहरू माछा मार्ने, मादल, सुल्पी बनाउने लगायतका आय आर्जनका काम गर्छन्। महिलाहरूले श्रीमान्को काममा सघाउँदै अरू ग्रामीण महिलाले जस्तै घर–गृहस्थी सम्हालेका छन्। बादी अभिभावकहरू छोराछोरीको शिक्षाप्रति गम्भीर छन्। पढाइमा छोराछोरीबीच विभेद छैन। शिक्षाको यो चेतनासँगै बादी महिलाहरूको अन्तरजातीय विवाह समेत हुन थालेको छ।
हातेमालो गर्दै
जाजरकोटका अधिकांश गाविसमा बादी वस्ती भए पनि राउत गाउँ, दसेरा र पजारुमा उनीहरूको संख्या बढी छ। उनीहरूको जीवनस्तर उकास्न सरकारले गत वर्षदेखि घर नभएका परिवारका लागि शौचालयसहितको दुईकोठे घर बनाउन रु.१ लाख ६२ हजार दिन थालेको रहेछ।
महिला विकास कार्यालयले पनि अन्य संघ–संस्थासँगको सहकार्यमा रु.२० हजारसम्म अनुदान दिएको रहेछ– घरबासकै लागि। तर, मैले कुरा गरेकामध्ये धेरैले गरीब परिवारका लागि घर बनाउने नीति सराहनीय भए पनि ती कार्यक्रमले जग्गाजमिन नभएकाहरूलाई नसमेटेको बताए।
परिवारको गुजाराको लागि कतिपय दम्पती कामको खोजीमा टाढा जाँदा छोराछोरी हेरचाहको समस्या छ। सरकार अथवा अरू कुनै दातृ निकायले ती बालबालिकाको लागि होस्टलको व्यवस्था गरिदिए उनीहरूको भविष्य राम्रो हुनेथियो।
अझ्, बादी महिलाहरूका लागि चेतना अभिवृद्धिसँगै आयआर्जन र सीप विकास तालीमहरू चलाउन पाए परिवारको आर्थिक सुरक्षा तथा बालबालिकाको भविष्य सुरक्षित हुनेथियो।
अन्त्यमा, बादी परिवारप्रतिको मेरो पुरानो सोचलाई राउत गाउँका बादी परिवारले गलत साबित गरिदिएका छन्। राउत गाउँलाई नमूना गाउँ बनाउने उनीहरूको अभियान यथासक्य छिटो सफल होस्। यसमा सरकार, गैर–सरकारी संघसंस्था, नागरिक समाज सबैले हातेमालो गरेर राउत गाउँका जस्तै देशभरका बादी समुदायले शिर ठाडो पारेर जिउन सजिलो पार्नुपर्छ।
९ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट