समाचारशुक्रबार, जेठ २६, २०६९
यसरी सम्पन्न भयो विरोधसभा (फोटो फिचर सहित)
२६ जेठमा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति सुशील कोइरालाले सहमतिको बाटो छोडेर एमाओवादी सत्ताकब्जाको बाटोमा हिंडेको बताए । कांग्रेस र एमालेलाई धोखा दिएको ठान्ने एमाओवादी आफैले धोखा खाएको कोइरालाको धारणा छ । सुख सुविधा छोडेर माओवादीहरु अब जंगल जान नसक्ने उनको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले ७ मंसीरका लागि घोषणा गरिएको चुनाव नौटंकी मात्रै भएको धारणा राखे । एमाओवादी र मधेशवादी दलहरुको भविष्य नभएको भन्दै खनालले भदौमा आएको भेल चाँडै सुक्ने दाबी गरे ।
कार्यक्रममा कांग्रेसबाट सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिं र केन्द्रीय सदस्य भीमबहादुर तामाङ तथा मोर्चाको दोस्रो ठूलो घटक एमाले अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का नेता केपी शर्मा ओलीले लगायतले सम्बोधन गरेका थिए ।
यसैगरी राप्रपा अध्यक्ष पशुपति शमशेर राणा, जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापा, नेकपा माले महासचिव सिपि मैनाली, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, चुरे भावर पार्टी अध्यक्ष केशव मैनाली, जनमोर्चाका महासचिव साध्यबहादुर भण्डारी, नेपाल सदभावना पार्टी (अनन्दीदेवी)का देवेन्द्र मिश्र, नेकपा-संयुक्त (मार्क्सवादी)का अध्यक्ष लोकनारायण सुवेदी, नेपाली जनता दलका अध्यक्ष रामकुमार ओझा र नेकपा -मार्क्सवादी)का तर्फाट माधव ज्ञवालीले विरोधसभालाई सम्बोधन गरे ।
तस्बीरहरुः ऋषिराम कट्टेल/हिमालखबर