अर्थ/बजारशनिबार, आषाढ १५, २०७०

यार्साबाट मुदी गाउँमा डेढ करोड भित्रियो

हिमालखबर

वैशाख महिनादेखि असार दोस्रो हप्तासम्म उच्च हिमाली क्षेत्रमा पुगेर मुदीवासीले नौ किलो यार्सा संकलन गरेका थिए । प्रतिकिलो १५ लाख ५० रुपैयाँका दरले एक करोड ३५ लाख रुपैयाँ यो याममा गाउँ भित्रिएको प्रथम धौलागिरि युवा क्लबका अध्यक्ष दलमान पुनले जानकारी दिए ।

खराब मौसमका कारण अघिल्लो वर्ष साढे चार किलो मात्र सङ्कलन भई ४५ लाख रुपैयाँ भित्रिएको थियो । “अघिल्लो वर्ष प्रतिकिलो १० लाख रुपैयाँमा बिक्री गरेका थियौँ”, क्लब अध्यक्ष पुनले भने, “यस वर्ष मूल्य पनि बढ्यो, हामीले धेरै पनि सङ्कलन ग¥यौँ ।”

यो वर्ष मुदी गाविसको १ देखि ४ वडासम्म तीन सय ५० सर्वसाधारणले बगर, मइरे, नेबाङ्ग र रातोढुङ्गा बुकीमा दुई महिनासम्म यार्सा सङ्कलन गरेका थिए ।

दुई सय एक घरधुरी बसोबास गर्ने मुदीगाउँमा यो याममा थोरै गर्नेले ५० हजार र धेरै गर्ने सात लाख रुपैयाँसम्म आम्दानी गरेको क्लबका अध्यक्ष पुनले बताए । यार्साको आम्दानीबाट तीन वर्षअघि मुदीवासीले प्रत्येक घरमा सौर्य बिजुली जडान गरेर गाउँलाई झिलिमिली बनाएका छन् ।

सिङ्गापुर, हङकङ, चीन र कोरिया जस्ता देशहरूबाट यार्साको माग धेरै आउने गरेको व्यापारीले बताएका छन् ।

जाजरकोटका दुई वडामा पनि एक करोड सङ्कलन

जाजरकोटका दुई वडाका स्थानीयवासीमा यार्सागुम्बाको कमाइले खुसीयाली छाएको छ ।

जिल्लाको खगेनकोट गाविस वडा नम्बर ५ र ६ का स्थानीयवासी प्रत्येकले यार्सागुम्बा सङ्कलनबाट रु तीन लाखभन्दा बढी कमाएको स्थानीय नारायण खत्रीले बताएका छन् ।

उनीहरूले प्रत्येकले यसपालि लाखभन्दा बढी कमाएका छन् । गाउँमा खुसीयालीसँगै भारत जाने दिन पनि समाप्त भएको उनीहरूको भनाइ छ । विगतका वर्षहरूमा यी दुई वडाका मानिसहरू हातमुख जोड्नैका लागि भन्दै भारतको विभिन्न ठाउँमा कमाइएका लागि जाने गरेका थिए ।

अब आफुहरू घरमै केही व्यवसाय गरेर जीविकोपार्जन गर्ने मनस्थितिमा पुगेको रुद्रबहादुर खत्री बताउँछन् ।

छोटो समयमा धेरै कमाउने ठाउँको रुपमा रहेको यार्सागुम्बा सङ्कलन कार्य जाजरकोट, रुकुम, रोल्पा र डोल्पा जिल्लाका स्थानीयले गर्दैआएका छन् ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>