समाचारआइतबार, आषाढ १६, २०७०
मधेशी दलहरूको राम्रो पहल
तराई–मधेशलाई राजनीतिक आधारभूमि बनाउँदै आएका मधेशी दलहरूले आगामी संविधानसभा निर्वाचनमा पहाड–हिमालमा पनि धेरैभन्दा धेरै उम्मेदवारी दिने तयारी गरिरहेको बताएका छन् । यो उद्देश्यका लागि काठमाडौंसहित पहाडी र केही हिमाली जिल्लामा संगठन विस्तार अघि बढाएको ती दलका नेताहरूको भनाइ छ । ती दलको संगठन विस्तारले पहाड र हिमाली क्षेत्रको राजनीतिक शक्ति–सन्तुलनमा अहिले नै ठूलो अर्थ नराखे पनि मुलुकको राजनीतिक–सामाजिक जीवनमा धेरै अर्थपूर्ण हुनेछ ।
गत संविधानसभा निर्वाचनमा पनि केही मधेशी दलले काठमाडौं र पहाडका सीमित क्षेत्रमा उम्मेदवारी दिएका थिए । ठूलो आशा नराखी दिइएको ती उम्मेदवारी सांकेतिक थिए । २०६२/६३ को जनआन्दोलनलगत्तै उठेको मधेश आन्दोलनले जन्माएका मधेशी नेता र दलहरू त्यसबेला तराई–मधेशमै हतार–हतार संगठन निर्माणमा लागे । त्यसबेला पहाड–हिमाल उक्लिनु आवश्यक नठानेर होइन, नभ्याएर उनीहरू मधेशमै अल्मलिएका थिए ।
अर्को यथार्थ के पनि हो भने, अनगिन्ती नेता र दल जन्माउने मधेश आन्दोलनको सफलता आफैंमा सबैलाई हतप्रभ बनाउने खालको थियो । एक प्रकारले अनपेक्षित त्यो सफलतापछिको उहापोहमा दल निर्माणमा जुटेका मधेशी नेताहरूले पहाडमा संगठन बनाउने कुरा सोच्नै पाएनन् र उनीहरूको दृष्टिकोण पनि क्षेत्रीय घेरोमै सीमित हुनपुग्यो । त्यसपछिको निर्वाचनबाट मुलुकको चौथो राजनीतिक शक्ति बनेपछि भने उनीहरू राजधानीसहित पहाड–हिमालमा संगठन विस्तार गर्न उत्साहित देखिएका छन् ।
२०६५ सालयता लगातार सत्ता साझ्ेदारी गरिरहेका मधेशी दलहरू यसबीचमा पटक–पटक विभाजित र आफ्ना मतदाताबाटै आलोचित भए । कतिपटक त उनीहरू अशोभनीय तहको विभाजनमा पनि गए । कारण जेसुकै होस्, तीव्र मतभेदको बेला आफूलाई अर्काे समूहभन्दा बलियो देखाउन उनीहरू तराईमा मात्र शक्ति प्रदर्शन गर्ने बाध्यतामा रहे । राजधानीमै पनि बलियो संगठन नहुँदा जुनसुकै उद्देश्यको दबाबमूलक जनपरिचालनका लागि तराईतिरै दौड्नुपर्ने अवस्थामा छन्, उनीहरू । त्यसकारण, उनीहरूसँग समानुपातिक भोटको प्रत्याशा बाहेक देशभर संगठन विस्तारको आवश्यकता अनुभव गर्ने अनेक कारणहरू छन् ।
मधेशमा मात्र आधारित दलहरूले पहाड र हिमालमा दिने उम्मेदवारीले मुलुकको राष्ट्रिय राजनीतिमा दीर्घकालीन र सकारात्मक महŒव राख्छ । यसबाट मधेशी दलहरूलाई क्षेत्रीयबाट राष्ट्रिय दृष्टिकोण बनाउन त कर लाग्छ–लाग्छ, नेपाली जनजीवनमा समेत हिमाल–पहाड–मधेश सामाजिक अन्तर सम्बन्ध अभिवृद्धि हुने निश्चित छ । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक स्वरुपको बृहत्तर नेपाली समाजमा दलीय स्वार्थकै लागि सही, मधेशी दलहरूबाट हुन लागेको यस्तो प्रयासले सकारात्मक परिणाम नै ल्याउनेछ ।
मधेशी दलहरू अहिले राष्ट्रिय दृष्टिकोणको हिसाबले एकाङ्गी छन् र एउटा समुदाय तथा क्षेत्रको मात्र स्वार्थ बोकेको भनेर आलोचित पनि । पहाडी र हिमाली क्षेत्रहरूमा पनि संगठन विस्तार गर्दै उम्मेदवारी दिंदा उनीहरू क्षेत्रीय संकीर्णताको आरोपबाट स्वतः मुक्त हुनुको साथै मुलुकका सबै भागको समस्या, सम्भावना, शक्ति र भावना बुझ्ेर त्यसलाई सम्बोधन गर्ने क्षितिजमा पुग्नेछन् । उनीहरूले पहाड–हिमालमा पाउने मतले तराई–मधेशमा पनि पहाडी मूलका उम्मेदवारको मत बढाउने छ । यसबाट नेपाली राष्ट्रिय दृष्टिकोणलाई फराकिलो र राष्ट्रिय एकतालाई मजबूत पार्ने आवश्यकता पूर्ति हुनेछ ।
पहाड–हिमालमा ठूलो संख्याको उम्मेदवारीले मधेशी दलहरूलाई समावेशी राष्ट्रिय पार्टी बनाउने प्रक्रियासँगै विविधतापूर्ण नेपाली समाजले एकअर्काको भावना बुझने र संवेदनशीलता थाहा पाउनेछ । यस्तो स्वस्फूर्त प्रक्रियाबाट बलियो राष्ट्रिय एकताको भावना निर्माण हुन्छ । त्यसकारण, पहाडमा उम्मेदवारी दिने मधेशी दलहरूको अभिप्राय–उपक्रमलाई भोट माग्ने नियतको रूपमा नभई उत्तर–दक्षिण सामाजिक अन्तरघुलनको सत्प्रयासको रूपमा बुझनु र प्रोत्साहित गरिनुपर्छ ।
१६ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
