खेलकुदमंगलबार, आषाढ १८, २०७०
पारस र गंगा पल्सर वर्ष खेलाडी
खेलकुद पत्रकार मञ्चले १८ असारमा आयोजना गरेको कार्यक्रममा पारसलाई पुरुष र गंगा महिलातर्फको उत्कृष्ट वर्ष खेलाडी घोषित गरिएको हो ।
पुरुषतर्फको प्रतिस्पर्धामा पारससँगै क्रिकेटकै बसन्त रेग्मी, एथलेटिक्सका तिलकराम थारु, फुटबलका भरत खवास र कराँतेका सुनिल लामा थिए । यस्तै गंगा, फुटबलकी अनु लामा, जमुना गुरुङ्ग, उसुकी झरना गुरुङ्ग र पौडीकी श्रेया धिताल महिलातर्फको मनोनयनमा परेका थिए ।
उसुकी झरना गुरुङ सर्वाधिक लोकप्रिय खेलाडी घोषित भएकी छन् । उनले एसएमएस भोटिङ्ग र फेसबुक पेज लाइकबाट ७१ हजार ८ सय ६ भोट पाएकी थिइन । झरनाले पारस, स्वीमिङका शिरीष गुरुङ्ग, एथलेटिक्सकी केशरी चौधरी, फुटबलका जगदिश श्रेष्ठलाई पछाडि पारेकी हुन ।
यस्तै युवा खेलाडीको उपाधि उसुकी चाहना बम्जनले जितेकी छन । यो उपाधिका लागि चाहनासँगै क्रिकेटका आकाश विष्ट, पौडीका शिरीष गुरुङ्ग, निरु थापा र व्याडमिन्टनकी रञ्जित तामाङ मनोनयनमा परेका थिए ।
उत्कृष्ट प्रशिक्षकमा राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक पुबुदु दासानायके घोषित भएका छन् । श्रीलंकाली मुलका दासानायके स्वदेशमा गएकाले कार्यक्रममा उपस्थित थिएनन् ।
राष्ट्रिय टोलीका पूर्व कप्तान भीम थापाले लाइफ टाइम एचिभमेन्ट अवार्ड जितेका छन् । उत्कृष्ट पारा एथलेटिक्समा नेपाली सेनाका विक्रमबहादुर राना र दि स्पेसल खेल अवार्ड पवन घिमिरेलाई प्रदान गरिएको छ । दुबै जनाको माओवादी द्वन्द्वमा आँखा गुमेको थियो ।
उत्कृष्ट महिला र पुरुष खेलाडीले १५० सिसिको पल्सर मोटरसाइकल तथा बाँकी विजेताले जनही रु. ५०/५० हजार नगद प्राप्त गरे ।
देवकी विष्ट, काठमाडौं