टिप्पणीसोमबार, आषाढ २४, २०७०
लोभ, लाभ र विलाप !
स्याङ्जाको आँधीखोला किनारमा वालिङ नामको एउटा गाउँ थियो । पोखरा–भैरहवा सिद्धार्थ राजमार्गमा परेपछि वालिङ हेर्दाहेर्दै व्यापारिक केन्द्र बन्न पुग्यो । ऊ बेलाको वालिङ बजारको एउटा माटोको घरमा थकाली होटल थियो ।
होटल अगाडि एउटा चौपारी र त्यसको पारिपट्टि प्रतीक्षालय थियो । चौपारी त चौपारी भइहाल्यो तीन–घण्टामा मात्र बस आउने भएकाले प्रतीक्षालयको ठूलो उपयोग थियो । आजको वालिङमा छिनछिनमा बस आउँछन्, ट्याक्सीकै फालाफाल छ । हेर्न खोज्दा टोपी खस्ने अग्ला बिल्डिङहरू छन् ।
छैनन् त केवल माटाका घर, प्रतीक्षालय र चौपारी । वालिङमा ५–६ वर्ष अगाडि पतञ्जली योगपीठको ठूलो भवन बन्यो, त्यसपछि एक जना सरकारी कर्मचारीले दुई करोडको आरसीसी बिल्डिङ बनाए । अहिले त सबैलाई भ्याई–नभ्याई छ ।
छिमेकीलाई पीडा
वालिङ पूरै नेपालमा चलेको ‘कंक्रिट विकास’को होडको उदाहरण हो । यसको मुख्य टेको रेमिट्यान्स हो । देशकै कुल गार्हस्थ्य उत्पादनको एक चौथाइ बराबर रेमिट्यान्स भित्रिरहेको छ ।
राष्ट्रले पारिवारिक–सामाजिक विचलन र सांस्कृतिक क्षयीकरणको रूपमा यसको मूल्य चुकाउनु परे पनि गाउँघरको घरबारीमा सलाइका बट्टे ‘कंक्रिट खोर’ बनाउनुलाई सम्पन्नताको प्रतीक मान्न थालिएको छ । राजधानीदेखि जिल्लासम्म आधारभूत सरसफाइ र सुरक्षाको समेत ख्याल नराखी बनाइएका ‘कंक्रिट खोर’हरूलाई विकास मानिंदैछ । स्वच्छ वातावरणको सुरक्षित गाउँमा बढ्दो उमेरका छोराछोरीसँगै रहन पाउनुको मूल्य कति होला ?
‘विकास’को यो तस्वीर अनुत्पादक लगानीको देन हो । बाहिरबाट आएको धनले कि बिल्डिङ बनाइन्छ कि त घडेरी किनिन्छ । बाँकी जति रहन्छ, त्यो उपभोगमा सकिन्छ । लगानी नहुँदा रोजगारको अवसर सिर्जना भएन, उपभोगले महँगी बढायो । महँगीले बाँकी युवालाई पनि विदेशिन बाध्य पार्दैछ ।
विकासको ‘वालिङ मोडल’लाई लोभले पनि अगाडि बढाएको छ । उत्पादन र खपतको खेल मात्र होइन, पूँजीवाद । यो त लोभको जग पनि हो । माग वा आवश्यक भएका वस्तु (प्रोडक्ट) उत्पादन गरेर धन कमाउनु पूँजीवादी प्रणालीको आत्मा हो । यो प्रणालीमा संलग्न हुनेहरूले प्रोडक्टबाट आफ्नो योगदान अनुसार धन कमाउँछन् ।
यसमा धेरैभन्दा धेरै लाभको लोभ पसेपछि ‘प्रोडक्सन’ र ‘कन्जुमरिज्म’ को अन्धता छाउँछ । माग नभएका ठाउँमा पनि अनेक शक्ति लगाएर माग बढाइन्छ । मानव व्यवहार सम्बन्धी खोज–अनुसन्धान र प्रयोगहरूबाट विज्ञापन रणनीति बनाएर जनतालाई उपभोगको जालोमा बेरिन्छ ।
‘प्रयोगकर्ताको गौरव, छिमेकीको डाह’ भन्ने जस्ता विज्ञापन यसैका उपज हुन् ।
‘छिमेकीमा डाह’ हुने गरी नेपालभर बनाइएका खर्बौंका ‘विल्डिङ’ वरपर झुप्राहरु छन् । यस्तो खाडल दक्षिण एशियाका अन्य मुलुकको तुलनामा नेपालमा साँघुरै रहे पनि बढ्दो छ । यो खाडलमा ‘हुने’हरूको चुरीफुरीले ‘नहुने’हरूको आक्रोश बढाउँछ ।
अबको बाटो
विकासको यो मापदण्डमा निहित गडबडी बुझन कोही विदेशी विशेषज्ञ झिकाउनुपर्दैन । आज गाउँघर रित्तिएका, बाउआमा एक्लिएका र चाडपर्वहरू रङ्गहीन बनेका छन् । हजारौं वर्षदेखि गुल्जार गाउँहरू सुनसान बन्दैछन् भने उर्वर खेतबारी बाँझिएका छन् । यही स्थिति रहे अबको केही वर्षमै सारा खेतबारी बञ्जर बन्नेछ, जसलाई पुनः उर्बर बनाउन वर्षौंको कृषि बजेट पनि कम हुनेछ ।
नेपाली समाजमा आफ्नै गाउँघरमा बसेर योगदान गर्दै जीवन बिताएका मान्छेलाई भन्दा बाहिर पैसा कमाएकालाई प्रतिष्ठित मान्ने सोच हावी भएको छ । छोराछोरी सकेसम्म विदेशमै बसिदिए हुन्थ्यो भनेर सोच्न थालेका आमाबाबु अमेरिकाको ग्रीन कार्ड परेकोमा आयोजना गरिएको भोजमा निम्त्याइन्छन् ।
राजनीतिले सही बाटो लिए यो सोचमा परिवर्तन आउने आशा गर्न सकिन्छ, तर चाहिएको परिवर्तन ल्याउने त समाजका सदस्यहरूले नै हो । समाजले जे चाहेर बल गर्छ, राजनीति त्यतै डोरिन्छ । देशका तन्नेरीहरू नै विदेशिन नचाहे कुनै सरकारले वैदेशिक रोजगारको सजिलो बाटो देखाउन सक्तैन । बरु, रोजगारी सिर्जना गर्न बाध्य हुन्थ्यो ।
युवाशक्तिले उथलपुथल ल्याउँछ भन्ने त्रासले पनि सरकारलाई आत्तुरी पर्थ्यो । घुमीफिरी चुनावले देशलाई फेरि जनताकै हातमा सुम्पँदैछ । अब मतदाताले राजनीतिक दलहरूलाई केही आधारभूत प्रश्नहरू सोध्नै पर्छ, गल्तीहरूको स्पष्टीकरण माग्नैपर्छ ।
त्योभन्दा पनि महत्वपूर्ण, विकास तथा सम्पन्नता सम्बन्धी आमधारणा नै फेर्नुपर्छ र आफैं विकल्प बन्न पनि पछिपर्नुहुँदैन । सबै नेपालीले विलाप निम्त्याउने व्यक्तिगत लोभबाट पन्छिएर देश हितको बाटो रोज्नुपर्यो । हामीसँग छ त त्यो आँट ?
२३ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
