ब्लगआइतबार, आषाढ २३, २०७०
विवाह कहिले गर्ने
घरमा भिक्षु, आनी र लामा गुरुहरूको आउजाउ अनि पूजापाठ, ‘ॐ मणिपद्मो हुम्’ को जपतप, ध्यान तथा समय–समयको प्रवचन श्रवण र गुम्बा भ्रमणले सानो छँदा भविष्यमा कपाल मुण्डन गरी कलेजी रङको वस्त्रधारण गरी आनी बन्ने कल्पना गर्थें म ।
औंसी–पूर्णिमाको विशेष धार्मिक पूजामा मेरो चाहना अझ प्रबल हुँदा आमाबुबासित आनी बन्ने अनुमति माग्थें ।
उहाँहरू हरेकचोटि ‘ठीक छ, अहिले अलि बेला भएको छैन’ भन्नुहुन्थ्यो । उमेर–शैक्षिकस्तर वृद्धिसँगै मेरो चाहना र सोचमा परिवर्तन हुँदै गयो, स्नातकोत्तरपछि आफैंले रोजेको केटासित प्रेमविवाह गरें ।
शिक्षाले ल्याएको चेतना र आत्मनिर्भरतासँगै परिपक्व उमेरमा पुगेपछि आफैं रोजेर विवाह गर्ने महिलाको संख्या बढ्दैछ । शहरका केटीहरूको विवाह गर्ने औसत उमेर २३/२४ पुगिसकेको छ । शहरका अधिकांश केटी स्नातकभन्दा माथिको शिक्षा लिएर मात्र विवाह गर्छन् । यही असारमा विवाह हुन लागेका मेरा दुइटी भतिजी पनि जागिरसँगै स्नातकोत्तर तहमा छन् ।
तर, गाउँघरका छोरीचेली १५ वर्ष पूरा नहुँदै वा हुनासाथ वैवाहिक बन्धनमा पर्छन् । यसो हुनुमा धर्म–संस्कृति र परम्पराप्रति कट्टर तिनका निरक्षर अभिभावक बढी जिम्मेवार हुन् भन्ने ठान्थें म । हालैको दार्चुला, जाजरकोट र पाँचथर भ्रमणले भने मेरो भ्रम टुटाएको छ ।
जिल्लामा अशिक्षा र गरीबीका बीच पनि अभिभावकमा छोराछोरी पढाउनुपर्छ भन्ने भावना/चेतना फैलिसकेको रहेछ । बरु, छोरीचेलीमै अझ धेरै पढ्नुपर्छ, भविष्य बनाउनुपर्छ भन्ने सोच र प्रतिबद्धता अलि कम देखियो । ८/९ कक्षा पढ्दा–पढ्दै, १५/१६ वर्षको अल्लारे उमेरमै अभिभावकको इच्छा विपरीत मन पराएको केटोसँग जाने चलन बढेको रहेछ ।
यस प्रसंगमा त्यहाँका केटीहरूसँग विचार–विमर्श गर्दा धेरैजसोले मोबाइल फोन र फेसनले यस्तो भएको प्रतिक्रिया दिए । उनीहरूको भनाइलाई सही मान्ने हो भने, अभिभावक, गुरु वर्ग र शैक्षिक संस्थाहरू मार्गनिर्देशमा चुकेको वा उनीहरूको जिम्मेवारी बढेको भन्नुपर्ने हुन्छ ।
कानून र व्यवहार
तीन/चार महीनाअघिको कुरा हो, १६ वर्ष पुगेका केटीहरू शारीरिक–मानसिक दुवै हिसाबले यौनसम्पर्कको लागि स्वीकृति दिन पूर्ण रूपले सक्षम हुन्छन् भन्दै भारतीय कानूनमा कायम वालिग मानिने १८ वर्षलाई १६ मा झार्न खोजिएको थियो । तर, यसको चौतर्फी विरोध भएपछि केन्द्रीय सरकारले बाध्य भएर यो उमेरलाई भोट दिन पाउने १८ वर्षसँगै मिलान गर्यो ।
नेपालको कानूनले पनि १८ वर्षलाई संरक्षकको मञ्जुरीमा विवाह गर्न र भोट दिन पाउने उमेर मानेको छ । अर्थात्, यौनसम्पर्क राख्न शारीरिक–मानसिक रूपले पूर्ण सक्षम भएर वा कानूनका किताबमा लेखे अनुसारको उमेर पूरा गरेर अभिभावकको इच्छा पूरा गर्न विवाह गर्ने चलन छ, हामीकहाँ ।
केही अपवाद बाहेक विवाह हरेक मानिसको सपना र कल्पनाको साथै वास्तविकता पनि हो । तर, परिपक्व उमेरको साथै भविष्य सुनिश्चित गर्न सक्षम नहुँदै गरिएको विवाह सफल हुँदैन । यस विषयमा एउटा घटनाः
“बुबा, म साथीसँग बिहे गर्छु, ऊ मलाई साह्रै मनपर्छ ।”
एउटी बच्चीले स्कूलबाट आउँदा–आउँदै बुबालाई भनिछन् ।
“ठीक छ छोरी, तिमी ठूली भएपछि ऊसितै बिहे गरिदिन्छु ।”
बुबाको कुरा सुनेर छोरी दङ्ग परिन् ।
“बुबा मलाई त्यो साथी मन परेन, मेरो अर्कै साथीसँग विवाह गर्छु ।” केही वर्षपछि एकदिन फेरि तिनै छोरीले बुबालाई भनिन् ।
“हुन्छ, तिम्रो विवाह तिमीले रोजेकै साथीसित गरिदिन्छु ।”
तर, पढाइमा राम्रो गरेकी छोरी पछि डाक्टर भइन् र डाक्टरसँगै विवाह गरिन् ।
एकदिन प्रसंगवश उनले बुबासित सोधिन्, “तपाईंले म केटाकेटी छँदा मेरो मनपर्ने साथीसँग बिहे गरिदिन्छु भनेर साँच्चै भन्नुभएको थियो ?”
बुबाले जवाफ दिए, “मैले त साँच्चै भनेको थिएँ, तर तिम्रो निर्णय साँचो होइन भन्ने पनि मलाई थाहा थियो ।”
२३ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
