टिप्पणीआइतबार, जेठ २८, २०६९
अनुशासन नमान्नेले पार्टी छाड्नुपर्छ
महाधिवेशनबाटै संघीयतामा जाने निर्णय गरिसकेकाले नेकपा एमाले संघीयता विरोधी पार्टी होइन । हामीले सामर्थ्य र पहिचानलाई आधार मानेर प्रदेश बनाउने भनेका हौं । सामर्थ्य अर्न्तगत भौतिक पूर्वाधार, आर्थिक सम्भाव्यता, प्राकृतिक स्रोत र प्रशासनिक सुगमता पर्दछन् । भाषिक, सांस्कृतिक, जातीय, भौगोलिक र ऐतिहासिक निरन्तरतालाई पहिचान अर्न्तगत राखिएको छ ।
पार्टीका केही जनजाति र मधेशी नेताहरुले जातीय पहिचान बाहेक बाँकी कुनै कुरालाई प्रदेश निर्माणको आधार मान्दैनौं भनेपछि विवाद चर्किएको हो । चित्त नबुझेको कुरा बाहिर भन्दै हिंड्नु पार्टी अनुशासन विपरीत हो । अनुशासन नमान्ने हो भने पार्टी छाडेर जानुपर्छ । ४-५ असारमा हुने राष्ट्रिय कार्यकर्ता भेलामा महत्वका साथ यो विषय उठ्नेछ । पार्टी सुदृढीकरण, संगठन विस्तार र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुँदा यो विषय नउठ्ने कुरै भएन ।
बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट राजीनामा दिने विषयलाई हामीले बटमलाइन बनाएका छौं । राजीनामापछि सबै विकल्पमा खुल्ला छलफल गर्न सकिन्छ । र पनि, संविधानसभा निर्वाचन हुन्छ जस्तो लाग्दैन । एमाओवादीले पनि मंसिरमा चुनाव गर्नकै लागि मिति तोके जस्तो लाग्दैन । चुनाव भए पनि संविधानमा त्यो व्यवस्था छैन । एमाओवादीले सरकार नछाड्ने र कांग्रेस-एमाले लगायतका दलले भट्टराईको बर्हिगमनलाई बटमलाइन बनाएको सर्न्दर्भमा तत्काल राजनीतिक सहमति होला जस्तो देखिंदैन । नयाँ संविधान जारी गरेर संक्रमणकालको अन्त्य गर्ने सहमति पनि नगरी भएको छैन ।
एमाले र नेपाली कांग्रेसलाई कमजोर देखाउन चाहनेहरुले २२ दलको भन्दा कमल थापाको भेलामा धेरै मान्छे आए भन्दै हिंडेका छन् । ज्ञानेन्द्र शाह र माओवादीलाई खुशी बनाउन चाहनेहरुको हल्ला हो, यो । चार दिनको तयारीमा खुल्लामञ्चमा जति मानिस आए त्यो प्रर्याप्त हो ।
(एमाले पोलिट्ब्यूरो सदस्य रिमालसँगको वार्तामा आधारित)