रमझमशुक्रबार, आषाढ २८, २०७०
नर्सिङ छाडी ट्रेकिङ
-ऋषिराम कट्टेल
सानोमा नर्स बन्ने रहर पालेकी टाप्टिङ सोलुखुम्बुकी दिकु तामाङ (२९) हिजोआज कहिले लाङटाङ, कहिले हुम्ला–जुम्ला त कहिले खुम्बु क्षेत्र पुगिरहेकी हुन्छिन्, विदेशी समूह लिएर। पाँच वर्षदेखि टे्रकिङ गाइड बनेकी दिकु भन्छिन्, “मेरो लागि अब छाड्न नसक्ने क्षेत्र भयो, ट्रेकिङ।”
सन् २००५ मा टे्रकिङ गाइड मामा निमा दावा तामाङसँग आफ्नै जिल्लाको खुम्बु ट्रेकिङ गएकी दिकु राम्रो अस्पतालमा परेको भए संभवतः आज नर्सिङ क्षेत्रमै हुन्थिन्। अनमी पढेर काठमाडौं चाबहिलको एउटा अस्पतालमा काम थालेकी उनले त्यहाँ गर्भपतन लगायतका अवैध काम भएको हेर्नु पर्यो।
दिक्क मानेर समय बिताइरहेको त्यही बेला पहिला डेनमार्क बस्दाका साथीहरूले ट्रेकिङका लागि नेपाल आउने भन्दै घुमाइदिन आग्रह गरे। “त्यसयता निरन्तर यही बाटोमा छु”, डेस्टिनेशन नेपाल ट्रेकिङ एजेन्सीकी गाइड दिकुले भनिन्।
यो अवधिमा उनी विदेशी ट्रेकर टोली लिएर दोहोर्याई–तेहेर्याई लाङटाङ, अन्नपूर्ण, रसुवाको तामाङ हेरिटेज ट्रेल, खुम्बु, गोसाईंकुण्ड, कर्णाली लगायतका क्षेत्र पुगेकी छन्। पश्चिम नेपालमा धेरै सुन्दर पर्यटनस्थलहरू भए पनि भौतिक असुविधाले त्यो क्षेत्र र स्वयं पर्यटक समेत लाभान्वित हुन नसकेको दिकुको अनुभव छ। “पर्यटनका लागि नेपाल पृथ्वीको स्वर्ग हो”, दिकुले भनिन्, “तर, व्यवस्थापन बर्बाद छ।”
२३ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
