रमझमशनिबार, आषाढ २९, २०७०
न्याय नपाउनेको कथा
पीडाका ५००० दिन
लेखकः सावित्री श्रेष्ठ
प्रकाशकः गणेश–उज्जन (भुवन) स्मृति प्रतिष्ठान
पृष्ठः १३७+१७,
मूल्यः रु.२२५
टारकेराबारी–७ ओखलढुंगाका उज्जनकुमार (भुवन) श्रेष्ठको हत्यामा अदालतले सर्वस्वसहित जन्मकैद फैसला सुनाएर पनि निस्पि्कक्री घुमिरहेकालाई कानूनी दायरामा ल्याउन संघर्षरत सावित्री श्रेष्ठको संघर्षको कथा हो– ‘पीडाका ५००० दिन’। उज्जन हत्यासँग जोडिएका घटनाक्रममा उनका दाजु गणेशकुमार र भतिजी रचनाको पनि ज्यान गएको छ, तर दोषीमाथि कारबाही भएको छैन।
ओखलढुंगा जिल्ला अदालतले उज्जन हत्यामा माओवादीका तर्फबाट सभासद् रहेका बालकृष्ण ढुंगेल र पार्टीका तत्कालीन ओखलढुंगा सेक्रेटरी पुष्कर गौतम दोषी किटान गर्दै सर्वस्वहरणसहित जन्मकैदको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले पनि १९ पुस २०६६ मा जिल्ला अदालतको फैसला सदर गरेको थियो। तर, हत्याका प्रमाणित दोषीहरू पक्राउ नपर्दा पीडित परिवारले भोग्नुपरेको असह्य पीडा र अपमानको वर्णन छ, ‘पीडाका ५००० दिन’ मा। अदालतबाट दोषी ठहरेका ढुंगेल १० असार २०५५ मा उज्जनको हत्या हुँदा माओवादीमा प्रवेश नै नगरेको तर, गौतमले टर्चलाइट बालेर ढुंगेलले नै उज्जनलाई गोली हानेको दाबी पुस्तकमा छ।
पुस्तकमा परिवारका सदस्यहरूको श्रृंखलाबद्ध हत्या हुनुभन्दा पहिलाको सुखी पारिवारिक वातावरणदेखि सावित्रीको ‘अन्तिम बिन्ती’सम्म समेटिएका छन्। लेखकले ‘अन्तिम बिन्ती’मा चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अदालती फैसला कार्यान्वयनमा सघाउन आग्रह गरेकी छन्। हत्यारालाई कारबाहीको माग गर्दै हिंड्दा ज्यान मार्ने धम्कीदेखि पैसाको प्रलोभनमा पार्न खोजिएको प्रसंगहरूसम्म किताबमा छन्। धम्की दिनेको नाम, फोन नम्बर र हुलिया थाहा भएर पनि केही गर्न नसक्दाको पीडा र न्याय नपाएर आत्मदाह गर्ने घोषणादेखि माओवादीले ‘अकुपाई बालुवाटार’ अभियानलाई कसरी विफल पार्यो भन्नेसम्मका विषय पुस्तकमा छ।
प्रकाशक संस्थाको कार्यविवरण, समाचारका कटिङका चाङ, अचानाको चोट खुकुरीलाई नै थाहा हुन्छ जस्ता उल्टोपाल्टो उखान आदि अनेक कमजोरीहरू बिर्सने हो भने माओवादी हिंसाको पिसाइमा परेका सयौं परिवारको प्रतिनिधि अभिलेख बनेको छ, यो किताब।
सन्त गाहा मगर