रमझमआइतबार, आषाढ ३०, २०७०

थलिए जनकवि

हिमालखबर

-अनुशील

प्रजातन्त्रको काफल, पाक्यो बरी लै…
हरियो डाँडा माथि, हलो जोत्ने साथी…
हाम्रो तेन्जिङ शेर्पाले, चढ्यो हिमाल चुचुरा…
आज मादल बजेको किन, गाउँबेंसी दुनियाँ बिउँझाउँन…
धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला…
घर सम्झी रोएको होला, डाँडा काटी गएको नेपाली…

२६ असारमा काठमाडौंको स्वयम्भू, भगवान पाउँस्थित आफ्नै निवासमा मान्छे नचिन्ने अवस्थामा थापा।

प्रजातन्त्रको मिर्मिरेमा यस्ता गीतहरू गाउँदै कुनाकन्दरा पुगेर नेपाली बिउँझाएका धर्मराज थापा अहिले लगभग अचेत अवस्थामा छन्। २६ असारमा काठमाडौंको स्वयम्भू, भगवान पाउँस्थित आफ्नै निवासमा उनी मान्छे नचिन्ने अवस्थामा थिए।

पक्षघातका कारण उनको दाहिने हात र खुट्टा चल्दैन। तीन वर्षदेखि शारीरिक रूपले असक्त रहँदै आएका थापालाई दुई साता वीर अस्पतालमा राखेर १६ असारमा घर ल्याएको गायिका छोरी ज्ञानु राणाले बताइन्।

“अब त बुबाले हामीलाई पनि चिन्न छाड्नुभयो”, ज्ञानुले भनिन्, “सँगसँगै सरकारले पनि उहाँलाई बिर्से जस्तो छ।” २०१३ सालमा राजा महेन्द्रबाट ‘जनकविकेशरी’ उपाधि पाएका थापा आम रूपमा जनगायकको रूपमा चिनिन्छन्।

उनका लोक भाकाहरूले आज पनि नेपालीलाई लठ्याइरहेकै छ। साउन १९८१ मा पोखराको बाटुलेचौरमा जन्मेका उनले पूरा जीवन नेपाली लोक साहित्य र संस्कृतिको श्रीवृद्धिमा लगाए।

१५ वर्षको उमेरमा शतबीज छर्ने तीर्थयात्रीका साथ काठमाडौं छिरेका थापाको साहित्यतिरको झुकाव २००१ सालदेखि बढेको हो।

लोकभाकाका जन्मजात पारखी रहेका उनले त्यसबेला उद्योग मासिक पत्रिकामा ‘कुवा’ शीर्षकको कविता प्रकाशित भएपछि लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिको संगत पाएका थिए। २००७ सालमा नेपाल प्रजातन्त्र रेडियो स्थापनापछि थापाको गायकीले जनमानसमा जरा गाड्न थाल्यो, उनी नेपाल बाहिरका नेपाली वस्तीहरूमा पनि प्रिय गायक बने।

२००८ सालमा कर्मचारीलाई उक्साएर हड्ताल गरेबापत गोरखापत्र को मुखियाबाट खोसुवामा परेका उनी डा. के.आई. सिंहको विद्रोहको समर्थन गरेकोमा ३० दिन जेल परे। त्यसपछिको पूरा एक वर्ष लोक भाका गाउँदै भाक्सु, देहरादून, आसाम, दार्जीलिङ, सिक्किम लगायतका ठाउँमा बिताएका उनले त्यही अवधिमा हाम्रो तेन्जिङ शेर्पाले…, नेपालीले माया मार्‍यो बरी लै…, झमझम परेली…, धुरुधुरु नरोऊ आमा…, घर झमझम रोएको होला… लगायतका गीतहरू कलकत्ताको एचएमभी कम्पनीमा रेकर्ड गराए।

यसरी थापाको ख्याति बढ्दै गएको देखेका राजा महेन्द्रले उनलाई ‘जनकविकेशरी’ बनाएनन् मात्र, नेपाल–चीन सांस्कृतिक प्रतिनिधिमण्डलको सदस्य बनाएर पेकिङ पनि लगे। महेन्द्रकै चाहनामा थापा २०१६ मा निर्वाचन कमिसनको प्रचार अफिसर, २०१७ मा रेडियो नेपालको लोकगीत प्रबन्धकमा नियुक्त भए। निर्वाचन प्रचार अफिसर हुँदा उनले ‘निर्वाचन लहर’ नामको पुस्तक लेखनसँगै गीतहरू रेकर्ड गराए।

२०५७ मा जगदम्बा–श्री पुरस्कार पाएपछि सत्यमोहन जोशी र स्व. डायमण्ड शमशेर राणाका साथ थापा। तस्बीरः मदन पुरस्कार पुस्तकालय

त्यही अवधिमा नेपाल प्रगतिशील लेखक संघका सभापति बन्न पुगेका थापा प्रजातन्त्रकालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका सह–सदस्य र प्राज्ञपरिषद् सदस्य बने। उनको अहिलेको आयस्रोत भनेको आजीवन प्राज्ञपरिषद् सदस्यको रूपमा सरकारले दिने भत्ता मात्र हो। नेपाली लोकगीत, लोकसंस्कृति र लोकजीवनको अध्ययन तथा प्रचार–प्रसारमा जीवन बिताएका थापाले गाइने र सारङ्गीलाई संसारसामु ल्याएका थिए। रेडियो नेपाल मार्फत झलकमान गन्धर्वको गायकीलाई विख्यात बनाउने पनि उनी नै हुन्।

प्रज्ञा प्रतिष्ठानमा रहँदा उनले सारङ्गी योजनाको खाका कोरे। सयभन्दा बढी गीत रेकर्ड गराएका थापाले गीत, कविता, संस्कृति, यात्रा संस्मरण लगायतका विधामा २९ कृति प्रकाशित गरेका छन्। तिनै वयोवृद्ध सर्जक आज ओछ्यान पर्दा बेखबर भएका छन्। छोरी ज्ञानु राणा भन्छिन्, “राजनीतिमा लागेको भए आज सरकारले बुबाको खोजखबर गर्थ्यो होला, तर लोक साहित्यको सेवा गरेकाले बेवास्तामा पर्नुभएको छ।”

र यो पनि,
धर्मराज थापाको कवि व्यक्तित्वका सम्बन्धमा कमल दीक्षितका भावना ।


३० असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>