ब्लगआइतबार, आषाढ ३०, २०७०

कवि नै हुन् धर्मराज थापा

कमल दीक्षित

धर्मराज थापालाई मैले कैलेदेखि चिनें भनेर सोधियो भने म भन्नेछु– ‘अनन्तकालदेखि।’ त्यो मेरो अतिशयोक्ति हुनेछ तर कुरा साँचो हो। यसरी छाउनुभएको थियो उहाँ नेपाली समाजमा, नेपाली जातिमा कुनै बेला, उहाँका गीतका एकएक गेडा प्रत्येक नेपालीले आफ्नै बोली हो भन्ठान्थ्यो। भावनाको कुरा छाडेर वास्तविक कुरा गरूँ भने भन्नुपर्छ, धर्मराजजीलाई मैले पैले कलकत्तामा भेटेको हुँ सन् १९५३ मा।

मेरा कान्छा मामा एल आर जोसको घर ल्यान्सडाउनरोडमा बस्नुभएको थियो क्यारे कविजी त्यतिबेला। (एल आर जोस, लक्ष्मीरञ्जन जोशी नेपाल छाडेर गएपछि कलकत्तामा व्यापार गर्दा गर्दै कालिम्पोङ पसेर भारतीय गोर्खालिगको प्रेसिडेन्ट बनी पश्चिम बंगाल विधान सभाको सदस्यमा पनि निर्वाचित हुनुभएको थियो। उहाँले आफ्ना गोर्खाली समर्थकहरूलाई लठ्याउन सक्ने क्षमता भएको कवि–गायक देखेर नै धर्मराजजीलाई साथ लिनुभएको बुझिन्छ।)

‘हाम्रो तेन्जिङ शेर्पाले…’ भन्ने गीत उहाँले सके त्यही बेला रचना गर्नुभएको थियो। एक दिन मामा उहाँलाई लिएर मेरो अफिस, वाटरलूस्ट्रिटस्थित एलायन्स प्रेसमा आइपुग्नुभयो र चिनजान गराउँदै भन्नुभयो, “उहाँ नेपालका ठूला कवि र गायक।” मलाई लाग्छ त्यो कवि र गायकको विवादले धर्मराजजीलाई आजीवन पछ्याइरहेछ।

वास्तवमा धर्मराज थापा के हुन् कवि कि गायक? अरूले के भन्छन् त्यतापट्टि नजाउँ। म मेरो धारणा मात्र अघि सार्छु। म धर्मराजजीलाई कवि नै मान्छु र कवि नै भन्छु। मैले कलकत्ताको प्रथम भेटपछि नै उहाँलाई कविजी भन्न थालें र अझै त्यही शब्दले सम्बोधन गर्छु। कविता, गीत र काव्यका तीन दर्जनभन्दा बढी पुस्तक रचना गरी प्रकाशित गरिसकेका मान्छेलाई कवि नभनेर के भन्ने हो मैले बुझेको छैन।

पोखराका कवि माधव वियोगीले पनि उहाँलाई कवि नदेखेको भए ५०० पृष्ठको त्यति ठूलो ‘धर्मराज महाकाव्य’ किन लेख्दा हुन्? मदन पुरस्कार गुठीले २०२५ सालको साहित्यतर्फको मदन पुरस्कार धर्मराज थापाको ‘मालती मङ्गले’ काव्यलाई प्रदान गर्‍यो। अनि पुनः २०५७ सालमा गुठीले पुरस्कार जगदम्बा–श्री ‘जनकविकेशरी धर्मराज थापालाई’ प्रदान गर्‍यो– ‘काव्य–पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधिसम्म नेपाली भाषाको सेवा गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा बहुमुखी विशिष्ट योगदान गरे बापत’ भन्दै।

यसबाट मैले के निष्कर्ष निकालेको छु भने मदन पुरस्कार गुठी उहाँलाई कवि त मान्छ नै साथै उहाँको गलालाई पनि सम्मान गर्छ। नत्र उहाँलाई मदन पुरस्कार दिइसकेपछि फेरि जगदम्बा–श्री दिने नै थिएन। गुठीबाट दुइटै पुरस्कार पाउने व्यक्ति आजसम्म धर्मराज थापा एक जना मात्र हुनुहुन्छ।

तर, गलाका माध्यमबाट बढी चर्चित र लोकप्रिय भए पनि धर्मराजजी ‘म कवि हुँ, गाइने होइन’ भन्दै आउनुभएको छ। त्यसै हुँदा उहाँले आफ्नो गलाको कदरै गर्नुभएन भन्ने लाग्छ मलाई। गलाको चाहिंदो स्याहारसुसार नभएकैले त्यो बिग्रियो। गलाले उहाँको साथ छाडिदियो अनि कवि धर्मराजजी एक्लो हुनुभयो भन्छ मेरो मनले।

३० असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...