अन्तर्वार्ता/विचारआइतबार, आषाढ ३०, २०७०
‘अब लथालिङ्ग रहँदैन’
पशुपति क्षेत्रलाई राम्रो बनाउने कस्तो योजना बनाउनुभएको छ ?
पहिले योजना बनिसकेका काम सक्दै भत्किएका भवन, मठ—मन्दिर, पौवा मर्मत गराउनेछु । पर्यटकको सुविधाको लागि धर्मशाला बनाएर खानेपानी र अरू सुविधाको व्यवस्था गर्नेछु । साथै पशुपति क्षेत्रको जानकारी लेखिएका सूचनापाटीहरू पर्याप्त मात्रामा टाँस्ने योजना छ ।
सदस्य सचिवको तपाईंको पहिलो कार्यकाल विवादमा वितेको थियो नि, हैन ?
पशुपतिमा उठेको भेटीलाई नियम बनाएर प्रयोग गर्नुपर्छ भन्दा म विवादमा परें । मूल भट्टले मसँग काम गर्न नसक्ने भनेपछि राजीनामा दिएँ । तर, अहिले मैले भने अनुसार नै ऐन आएकाले म त्यो बेला गलत थिइनँ भन्ने प्रमाणित भएको छ ।
पशुपतिको भेटी व्यवस्थापन र मृगस्थलीमा किरात समुदायको समाधिबारेको विवादलाई कसरी समाधान गर्नुहुन्छ ?
भेटीको विवाद अहिले खासै छैन । नियमित तलब बाहेक विशेष पूजाको पैसा पाउनुपर्ने पुजारीको माग केही दिनमै मिल्छ । मृगस्थलीमा समाधि बनाएर लाश गाडियो भने खाली ठाउँ नै बाँकी रहँदैन । पहिले पनि जोगी र सन्न्यासीको मात्र लाश गाडिन्थ्यो, समाधि नबनाई । तर, त्यो विवाद पनि छलफल गरेपछि मिल्छ ।
अरू ठाउँका देवस्थलहरू जस्तो पशुपति सफा र व्यवस्थित किन हुन नसकेको हो ?
महीना दिनमै उठ्ने रु.१४—१५ करोड व्यवस्थापन गर्न नसकेर यस्तो भएको हो । पहिले जस्तो यो क्षेत्रमा काम गर्ने अरू निकायसँग अब समन्वयको अभाव पनि हुने छैन । अब पशुपति क्षेत्र यस्तो लथालिङ्ग रहँदैन ।
पशुपति क्षेत्रको विकासमा कोष र भट्ट—भण्डारी तथा अधिकारसम्पन्न वागमती आयोजनाबीच कस्ता असहमति छन् ?
हाम्रो उद्देश्य एउटै भएकाले असहमति हुने कुरै भएन । वागमती र पशुपति दुवैको उत्तिकै महत्व छ । घाट र नदीको सरसफाई गर्दै नदीमा शुद्ध पानी बगाउन हामी मिलेर काम गर्छाैं ।
३० असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
