टिप्पणीसोमबार, आषाढ ३१, २०७०
लाजमर्दो चाला

नेपालका चार जना पूर्व प्रधानमन्त्री प्रोटोकल विपरीत भारतीय विदेशमन्त्री खुर्सिदलाई भेट्न होटलमै पुग्नुले मुलुककै स्वाभिमान गिराएको छ ।
नेपालका भूतपूर्व प्रधानमन्त्रीहरू लर्को लागेर भारतका विदेशमन्त्री सलमान खुर्सिदलाई भेट्न होटलमा गएको घटनाले यतिबेला नेपाली राजनीति तरङ्गित छ ।
नेपालका चार जना भूतपूर्व प्रधानमन्त्रीका प्रोटोकल विपरीतको त्यो कामले मुलुकको स्वाभिमान कमजोर पारेको छ । राजनीतिक क्षेत्र, सञ्चारमाध्यम र जनताबाट व्यापक आलोचना भएको सो विषयमा विदेशमन्त्री भेट्न जाने नेताहरूको पार्टीमा पनि विवाद र बहस हुने देखिन्छ ।
भारतीय विदेशमन्त्रीलाई पूर्व परराष्ट्र मन्त्रीहरू, पार्टीको विदेश विभाग प्रमुख वा प्रधानमन्त्री नभएका नेताहरूले होटलमै गएर भेटेको भए स्वाभाविक हुन्थ्यो ।
अथवा पूर्व प्रधानमन्त्रीहरूलाई अतिथिले उनीहरूको निवास वा पार्टी कार्यालयमा भेटेको भए पनि प्रोटोकल विपरीत हुँदैनथ्यो ।
छलफल हुनुपर्छ
साउन पहिलो सातादेखि शुरू हुने नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा केही सदस्यले यो विषय उठाउने सम्भावना छ । भारतपरस्त, अवसरवादी र सत्तालोलुप हुँदै गएको र दिल्लीलाई कसले रिझाउने भन्नेमा शीर्ष नेताहरू पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच होडबाजी चलेकाले एमाओवादीले यो विषयमा छलफल गर्ला भन्ने लाग्दैन ।
दिल्लीलाई तीर्थधाम र गंगा बराबर ठान्ने कैयौं नेताहरू रहेकाले नेपाली कांग्रेसमा पनि यो विषय छलफलमा आउने देखिंदैन । त्यसमाथि, नेपालको आन्तरिक मामिलामा भारतले जथाभावी हात हालेको मन नपराउने कांग्रेसका सभापति सुशील कोइरालालाई कमजोर पार्न शेरबहादुर देउवालाई दिल्लीले उचाल्न थालेको छ ।
नेपालका राजनीतिक दलहरूबीचको सहमति, समझदारी र सहकार्य तथा नेपाली जनताबीचको एकतालाई भन्दा नेपालको स्थिरताको लागि भारतको भूमिकालाई निर्णायक ठान्ने पराश्रयी चिन्तनले ग्रस्त कांग्रेस नेताहरूका कारण दिल्लीको सो प्रयासमा बल पुगेको छ । संविधान बनाउन नसकेर पहिलो संविधानसभा विघटित भएको र दोस्रो संविधानसभा निर्वाचनका विषयमा नेपालका राजनीतिक दलहरूबीच विवाद रहेको बेला भएको भारतीय विदेशमन्त्रीको भ्रमणको परिणाम नेपालका लागि कस्तो हुनेछ भनेर अहिले नै भन्न सकिन्न ।
तर, उनको भ्रमणले नेपाली दलका पहिलो पंक्तिका नेताहरूले अब राष्ट्रको स्वाभिमान, मर्यादा, प्रतिष्ठा र आवश्यकतालाई धान्न नसक्ने हुन् कि भन्ने चिन्ता दल र जनतामा छाएको छ । देश अन्तरिम संविधानका भरमा चलिरहेको छ, प्रमुख दलहरू गुट उपगुटमा विभाजित छन् ।
दलहरूबीच अविश्वास र द्वन्द्व बढ्दो छ र यही बेला विदेशी चलखेल र दबाब अरू बढेको छ । यस्तो जटिलताबीच नेतृत्वको प्रमुख पदमा रहेकाहरू प्रभावहीन, दिशाहीन र स्वाभिमानहीन देखिएका छन् । आफ्नै मर्यादा र प्रतिष्ठाको हेक्का नराख्नेहरूले देशको मर्यादा र भविष्यको के हेक्का राख्लान् भन्ने प्रश्न उठ्नु अस्वाभाविक पनि होइन ।
दूतावासको खबर
भारतीय विदेशमन्त्रीले नेपाली प्रेससँग नेपाली नेताहरूले चाहेकाले भेटेको उत्तर दिए पनि भारतीय दूतावासका कर्मचारीहरूले नेपाली नेताहरूलाई फोन गरेर निम्ता दिएका थिए । एमालेका अरू नेतालाई आफूलाई दिइएको समयमै बोलाइएको अध्यक्ष झलनाथ खनाललाई जानकारी थिएन । तर, त्यसरी बोलाइएका केही नेताहरू त्यो भेटघाटमा गएनन् । त्यो हिसाबले कांग्रेस र एमाओवादीका नेताहरूको जम्बो टोली उनीहरूले निर्णय गरेर बनाएका थिएनन् भन्ने स्पष्ट हुन्छ । ती नेताहरू दूतावासको खबरमा त्यहाँ पुगेका थिए ।
भारतीय विदेशमन्त्रीसँग कुन कुन नेताले भेट्ने भन्ने सम्बन्धित दलले निर्णय गर्ने कुरा हो । जुन सम्बन्धित दलको आन्तरिक मामिला र सार्वभौम अधिकार हो । तर, भारतीय दूतावासबाट दलहरूको सो अधिकारमा हस्तक्षेप भयो । दलहरूभित्र भारतीय दूतावासको हस्तक्षेपकारी शैलीको आलोचना पनि हुन थालेको छ । तर, आफ्नो अधिकारमा भारतीय दूतावासले हस्तक्षेप गर्दा दाहाल, रामचन्द्र र झलनाथले आलोचना र विरोध गरेनन्, यो भन्दा लाचारी के हुनसक्छ ?
कूटनीतिक मर्यादा विपरीत दूतावासले गरेको हस्तक्षेप यो पटक जस्तो तीतो रूपमा नेपालका राजनीतिक दलहरूले सम्भवतः यसअघि भोगेका थिएनन् । तर यो तीतो भोगाइले पनि दलका पहिलो पंक्तिका नेताहरूको मूच्र्छा परेको स्वाभिमान बिउँझिएला भनेर आशा गर्ने ठाउँ भने निकै कम छ ।
३० असारको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
