रमझममंगलबार, साउन १, २०७०

१०० वर्षअघिका पुस्तक

हिमालखबर

तीन कितापः केही विचार

संकलन/सम्पादनः हेमाङ्ग दीक्षित

प्रकाशकः आशा दीक्षित

पृष्ठः १२४+८,

मूल्यः रु.१००
पेशाले चिकित्सक हेमाङ्ग दीक्षितले संकलन/सम्पादन गर्नुभएको तीन कितापः केही विचार पढेपछि मैले उहाँ एकजना राम्रो लेखक पनि भएको निष्कर्ष निकालें। सामान्य भाकामा भन्ने हो भने तीन किताप एक शताब्दी अघि नेपालीमा निकालिएको अक्षरारम्भ गराउने पुस्तक हो। १०० वर्ष पहिले शिशुबोधिनी (पहिलो र दोस्रो भाग) अनि गोरखाव्याकरणबोध शीर्षकका पुस्तक लेखिएका रहेछन्। तिनै कितापका आधारमा अहिले हाम्रो व्याकरण नचले पनि नेपाली भाषालाई व्याकरणको आधार प्रदान गरेका रहेछन्।

मेरो उद्देश्य तीन किताप माथिको टिप्पणी होइन। यसबारे किताबमै पर्याप्त पारिभाषिक टिप्पणीहरू गरिएका र धेरै ज्ञानवर्द्धक विषयहरू उठाइएका छन्। दुःखका साथ भन्नुपर्छ, ती अङ्ग्रेजी भाषामा छन्। कमल दीक्षितले समेत आफ्नो केही शब्द अङ्ग्रेजीमै लेख्नुभएको छ। अङ्ग्रेजी पढ्न गाह्रो मान्नेहरूले तीन किताप शीर्षकमा लुकेका अतिरिक्त तर महत्वपूर्ण ज्ञान छिचोल्नै पाउँदैनन्। भविष्यमा यो किताब नेपालीमा निकाल्नै पर्छ। अहिले म अज्ञानको पहाडले थिचिएर नेपाली भाषाबारे गलत निष्कर्ष निकालिरहिएको अवस्थामा तीन किताप को कुरा गर्न हतारिएको हुँ।

हेमाङ्ग दीक्षितले जर्मनीमा विद्यार्थी रहँदाको एउटा ज्ञानवर्द्धक उदाहरण दिनुभएको छ, पुस्तकमा। उहाँलाई एकजना शिक्षकले ‘तिमी कुन धर्म मान्छौ?’ भनी सोध्नुभएछ। स्वाभाविक रूपमा उहाँले आफू हिन्दू धर्मावलम्बी भएको बताउँदा शिक्षकले भन्नुभएछ, “त्यो (हिन्दू) त धर्म होइन, जीवनको सिद्धान्त हो।” अहिले हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूले हिन्दुत्वको महानतालाई घटाइरहेका छन् भन्ने ज्ञान पाउन्।

कुरै नबुझी संघीयताको अभियानमा लागेका, एकल या बहुल जातीय पहिचानको माग गर्नेहरूले नेपाली भाषालाई बाहुनहरूको भाषा भन्छन्। त्यसभित्रका थोरथार फराकिलो मन भएकाहरूले नेपाली भाषालाई ‘खस भाषा’सम्म भनेर दयाभाव देखाएका छन्।

तीन किताप मा हेमाङ्ग दीक्षितले भाषाको उद्गम र विकासबारे पनि नयाँ सत्य पस्किनुभएको छ। इसाको १९३० मा बेलायती सेनाका कर्णेल राल्फ टर्नरले पहिलो नेपाली– अङ्ग्रेजी शब्दकोश तयार पारेका रहेछन्। कहिल्यै नेपाल आउन नपाएका टर्नरले बेलायती गोर्खा पल्टनमा रहेका सैनिकहरूबाट नेपाली शब्द संकलन गरेका रहेछन्। सबैलाई थाहा छ– बेलायतीहरूले ब्रिटिश–गोर्खामा नेपालका जनजातिहरूलाई प्राथमिकता दिएका थिए। बेलायती गोर्खा फौजमा मगर, गुरुङ, राई र लिम्बूकै संख्या ज्यादा रह्यो। ज्ञानको अभावमै होला, आजका मगर, गुरुङ, राई र लिम्बूहरू आफ्ना पुर्खाले बोकेको भाषालाई बाहुनको भाषा बनाइरहेका छन्।

विश्व जति साँघुरिंदै जान्छ, नेपालका अरू भाषाको त कुरै छाडौं, नेपालीकै भविष्य पनि खतरामा पर्दै जान्छ। यस्तो अवस्थामा नेपालभित्रैबाट त्यसमाथि प्रहार हुनथाल्यो भने त्यो झ्ान् छिटो ओरालो लाग्छ। नेपाली भाषालाई बाहुनको भाषा भन्नेहरूले अहिले नै बुझ्नुपर्छ– नेपाली कमजोर भएर तामाङ, लिम्बू वा नेपाल भाषा बलियो हुँदैन। नेपाली कमजोर हुँदा, अहिले नेपालभित्र बोलिने कुनै पनि भाषा बलिया हुँदैनन्। यतिबेला नेपाली भाषा विरुद्ध विषवमन गर्नु भनेको, दक्षिण एशियाको सन्दर्भमा अङ्ग्रेजी भाषालाई बलियो बनाउनु हो भनेर आफूलाई जनजाति भनाउन चाहनेहरूले बेलैमा बुझ्नु राम्रो हुन्छ।

प्रदीप नेपाल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>