रमझमबुधबार, साउन २, २०७०

‘वेम्व्ले सपना पूरा हुँदैछ’

हिमालखबर

नेपाली संगीत ब्याण्ड नेपथ्य आउँदो १९ साउनमा बेलायतको चर्चित वेम्व्ले एरेनाबाट विश्वसामु प्रस्तुत हुँदैछ।

विश्वभरका कलाकारको सपना हुने वेम्व्ले एरेनामा पहिलो नेपाली प्रस्तुति दिएपछि नेपथ्य को अन्तर्राष्ट्रिय छवि बढ्ने पक्का छ।

१२ हजार ५०० दर्शक क्षमताको वेम्व्लेको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्युडटवेम्व्लेएरिनाडटकम का अनुसार नेपथ्य को कन्सर्टको अनलाइन टिकट तीन महीना अघिदेखि नै बिक्री भइरहेको छ।
गायक अमृत गुरुङसँग अनुशीलले गरेको कुराकानीः

वेम्व्ले एरिनामा कन्सर्टको मौका पाउँदा कस्तो लागिरहेछ?

हामी कलाकारलाई नेपालको वालिङ र बेलायतको वेम्व्लेमा कार्यक्रम गर्नु उत्तिकै महत्वको कुरा हो। सबै मञ्चको उत्तिकै मर्यादा हुन्छ। विश्वका नामूद कलाकारहरूले कार्यक्रम गर्ने ठाउँमा प्रस्तुत हुने मेरो पनि सपना थियो, जुन पूरा हुँदैछ। यस अर्थमा खुशी छु।

त्यहाँको कन्सर्टपछि अन्तर्राष्ट्रिय छवि बन्छ हैन!

सबभन्दा ठूलो कुरा आर्टिष्टको आत्मसन्तुष्टि हो। वेम्व्लेले एउटा सपना पूरा गर्दैछ, तर बढी आत्मसन्तुष्टि चाहिं नेपाली धुनहरू अन्तर्राष्ट्रिय मञ्चमा पुग्दा हुनेछ। त्यहाँ जतिसक्दो राम्रो गाएर, बजाएर अनि मनोरञ्जन दिएर फराकिलो छवि बनाउने संकल्प गरेका छौं। कन्सर्ट कस्तो हुन्छ भन्ने कुरा चाहिं त्यही दिन थाहा हुन्छ। हाम्रो काम भनेको वर्कतले भ्याएसम्म राम्रो गर्ने हो।

कसरी सम्भव भयो, वेम्व्लेको कन्सर्ट?

नेपालयको तर्फबाट वेम्व्लेका व्यवस्थापक, आयोजक र निर्माताहरूसँग विभिन्न चरणमा कुरा भए। त्यसमा बेलायतस्थित नेपालीहरूले समेत सहयोग गरे।

माइकल ज्याक्सन, म्याडोना, ब्रिट्नी स्पियर्स लगायतका मेगास्टारहरूले प्रस्तुत गरिसकेको मञ्चका लागि तयारी कस्तो छ?

नेपथ्य ब्याण्ड जहिल्यै ‘स्ट्याण्डबाइ’ रिहर्सलको अवस्थामा हुन्छ। राम्रो ‘पर्फर्मेन्स’का लागि राम्रै रिहर्सल गरिरहेका छौं।

कति वटा गीत प्रस्तुत गर्नुहुन्छ?

दुई घण्टाको कार्यक्रममा २२–२५ नेपाली गीत हुन्छ होला।

विदेशीहरूले नेपाली गीत बुझ्लान् र?

संगीत हेर्न आउने श्रोतालाई भाषाले खासै फरक पर्दैन। नेपथ्यको संगीतमा नेपाली गाउँघरका धुनहरू छन्। यसमा भाषा तगारो हुँदैन, संसारको जुनसुकै ठाउँमा लगेर सुनाउँदा पनि श्रोता आनन्दित हुन्छन् भन्नेमा म विश्वस्त छु। त्यसमाथि, हामीले देखाउने लोक–आधुनिक गीत हो।

अरू पनि अन्तर्राष्ट्रिय कार्यक्रम छ?

डेनमार्कको रस्केल म्युजिक फेस्टिवल र अमेरिकाका फेस्टिवलहरूमा जाने इच्छा छ। ती ढोकाहरू खोल्यो भने वेम्व्लेलाई धन्यवाद। नेपालका ठूलाठूला शहरहरूमा कार्यक्रम गर्नु छँदैछ। नेपथ्य ले त्यस्ता कार्यक्रम नगरेको धेरै भइसक्यो। देश युद्धमा रहेको बेला ‘शान्ति र शिक्षाका लागि सुन्दर शान्त नेपाल’ कार्यक्रम लिएर हिंडेका थियौं। त्यसलाई निरन्तरता दिनुछ।

३० असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>