रमझमशुक्रबार, साउन ४, २०७०
पाका पत्रकारको अनुभव
लेखकः आदित्यमान श्रेष्ठ
प्रकाशकः शमी सम प्रकाशन गृह
पृष्ठः २५८,
मूल्यः रु.२५०
को धर्मो भूतदया किं सौख्यमरोगिता जगति।
कः स्नेहः सद्भावः किं पाण्डित्यं परिच्छेदः।।
अर्थात् धर्म के हो? प्राणी मात्रमा दया गर्नु। सुख के हो? रोग नलाग्नु। स्नेह के हो? भलो चिताउनु। पण्डित्याईं के हो? परिआएको समस्या समाधान गर्नु। पत्रकार आदित्यमान श्रेष्ठको संस्मरणात्मक कृति नियति को ‘सहयोगी भावना’ शीर्षक लेखको केन्द्रीय भाव हो– संस्कृतको यो सूक्ति। गुल्मीको रिडीमा जन्मिएका आदित्यमानलाई बाबुआमाले पुर्ख्यौली पेशा व्यापार धान्ला भनेर घरमै पढ्ने व्यवस्था मिलाइदिएका थिए। उनी भने पढाइ सकेर पत्रकारितामा लागे। सक्रिय पत्रकारिता कालको देश–विदेशको भ्रमण, पेशागत जीवनका परिघटना तथा अनुभूतिहरूको सँगालो हो हालै प्रकाशित किताब नियति।
पत्रकारिता, समाज, राजनीति, वातावरण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवर्तन बुझ्ोका लेखक आदित्यमानको नियति मा ५१ वटा लेख छन्। पुस्तकले ७० वर्ष यताको नेपाली राजनीतिक तथा सामाजिक परिवेश, लेखकले देखेका पात्रका लोभ–स्वार्थ अनि माया–ममता जस्ता मानवीय प्रवृत्तिका साथै समकालीन विश्व बुझाउँछ। पुस्तकभरि उद्धृत संस्कृतका श्लोक/सूक्तिहरूले पुस्तकलाई मननीय बनाएको छ।
सानन्दं सदनं सुताश्च सुधियः कान्ता प्रियलापिनी।
सन्मित्रं सुधनं स्वयोषित रतिः स्वाज्ञापराः सेवक।।
आतिथ्यं सशिवपूजनं प्रतिदिनं मिष्ठान्न पानं गृहे।
संधोः सङ्लमुपासते च सतत धन्यो गृहस्थाश्रमः।।
अर्थात्, घर आनन्द होस्, छोरा बुद्धिमान होस्, पत्नी मधुर वाणीका हुन्, मित्र असल होस्, इच्छा पूर्तिलायक धन होस्, पत्नीसित प्रेम होस्, आज्ञाकारी सेवक हुन्, प्रतिदिन अतिथि र शिवको पूजा होस्, मिष्ठान्न र शीतल जल मिलोस्, महात्माको संगत पाइयोस्, यस्तो घरको मान्छे ज्यादै सुखी हुन्छ। पाश्चात्य सभ्यताको भौतिक र पूर्वीय सभ्यताको अध्यात्मलाई एकअर्काको पूरक बनाउन सक्दा संसारका सबै मानिस बराबर सुख–शान्तिको भागीदार हुने नत्र, सधैं संसारमा झगडा भइरहने निचोडसहितको पुस्तक संग्रहणीय पनि छ।
रामजी दाहाल