समाचारशनिबार, साउन ५, २०७०
बाढीले एकको मृत्यु, दुई हजार परिवार प्रभावित
बाढी र डुबानको समस्याबाट धनगढी नगर क्षेत्रमा झन्डै एक हजार घर र जिल्लाका अन्य गाविसमा एक हजार घर परिवार प्रभावित भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले बताए । मालाखेती गाविसकी १३ वर्षीया चन्द्रा भट्टराईको घर नजिकैको खोलामा आएको बाढीमा डुबेर मृत्यु भएको छ भने फूलबारी नदीमा डुबेर बेपत्ता भएका स्थानीय २५ वर्षीय भुवन चौधरी सुकशल फेला परेका छन् । नदीमा डुबेर बेपत्ता भएका चौधरीलाई झण्डै तीन किलोमिटर तल सोही नदी किनारको रुखमा चढेर बसेको अवस्थामा फेला पारिएको हो ।
धनगढी नगर क्षेत्रमा कैलाली खोला, शिवनगर खोला र बैया बहेडी खोलामा आएको बाढीपछि भएको डुबानबाट सरस्वतीनगर, शिवनगर, शान्तिनगर गाउँ, बेली, तारानगर, धनगढी नगरपालिका र मुक्त कमैया वस्तीका घरहरु प्रभावित भएपछि अधिकांश परिवार आफन्तको घरमा सरेका थिए ।
डुबानबाट घरभित्र पानी पसेपछि यी परिवार प्रभावित भएका हुन् । नगर क्षेत्रको खोला आसपासका पाँच÷छ घर बाढीले भत्काएको छ । जिल्लाको मालाखेती, गेटा, रामशिखरझाला, चौमाला, पहलमानपुर, फूलबारी, हसुलिया, लालबोझी, धनसिंपुर, भजनीलगायतका गाविस डुबान र बाढीबाट बढी प्रभावित भएका छन् । प्रभावित परिवारलाई प्रहरीले उद्धार गरी तत्काल सुरक्षित स्थानमा सारेको छ । केही परिवार आज बिहानसम्म पानीको सतह घटेपछि आ–आफ्नो घरतर्फ लागेका प्रहरीले जनाएको छ ।
जिल्लाको सबैभन्दा होचो क्षेत्रमा रहेको लालबोझी गाविसमा डुबानबाट बिचल्लीमा परेका घर परिवारले आ–आफ्नो घरको छाना र छतमा बसेर रात काटेका छन् । लालबोझी गाविस पूरै जलमग्न भएकाले त्यहाँ आजसम्म पनि प्रहरी उद्धार टोली पुग्न सकेको छैन् । वर्षासँगै कान्द्रा नदीको बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको पहलमानपुर सडक खण्डको कालोपत्रे सडक कटान गरी क्षति पु¥याएको छ । बाढीका कारण कान्द्रा नदीमाथिको पुल पनि खतरामा परेको स्थानीयवासीले बताएका छन् ।
बाढी र डुबानबाट प्रभावित परिवारलाई जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीको संयुक्त पहलमा शुक्रबारदेखि नै तयारी तथा सुख्खा खानेकुरा वितरण सुरु गरिएको छ । बाढी र डुबानबाट परेको क्षतिको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ । अबिरल वर्षापछि यहाँ बिहीबार रातिदेखि शुक्रबार मध्याह्नसम्म २०९.९ मिलिमिटर वर्षा भएको स्थानीय जल तथा मौसम विज्ञान विभागको कार्यालयले जनाएको छ ।रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
