रिपोर्टसोमबार, साउन ७, २०७०

दल फेरेका नेताहरू घर न घाटको हुँदै

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले स्थायी समिति सदस्य रामचन्द्र झालाई पार्टीमा प्रवेश गराउँदै ।

-सन्त गाहा मगर

कोटेश्वर पेरिसडाँडामा रहेको एनेकपा (माओवादी)को मुख्यालयमा ११ असारमा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का नेता नन्दन दत्तलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अबिर र फूलमाला लगाउँदै पार्टीमा प्रवेश गराए । कांग्रेस छाडेर मधेशी जनअधिकार फोरम (नेपाल) पुगेका उनी फोरम लोकतान्त्रिक र गणतान्त्रिक हुँदै एमाओवादी प्रवेश गरेका थिए । बाबुराम भट्टराई सरकारमा लोकतान्त्रिकबाट मन्त्री बनेका उनी एमाओवादी प्रवेश कार्यक्रममा ‘कमरेड’ र ‘लालसलाम’ भन्ने क्रममा निकै अकमकिंदा हाँसोको फोहोरा नै छुट्यो । तर, कहिल्यै कम्युनिष्ट नरहेका उनलाई ती शब्द उच्चारण गर्न सहज नहुनु स्वाभाविक थियो ।

संविधानसभा चुनावको मिति घोषणासँगै पुरानो पार्टी छाडेर नयाँमा प्रवेश गरेका धेरैको स्थिति दत्तको भन्दा फरक देखिंदैन । नयाँ दलको इतिहास, परम्परा र उसका नेता÷कार्यकर्ताले प्रयोग गर्ने ‘जार्गन’ बारे कम जानकारी हुनु र नयाँ वातावरणमा घुलमिल हुन तथा पुरानाले स्वीकार्न समय लाग्नु जस्ता कारणले धेरै नवप्रवेशीले समस्या भोगेको देखिन्छ । जसलाई अथ्र्याउँदै राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, “जति नै योग्य नेता/कार्यकर्ता भए पनि नयाँ पार्टीमा गएपछि अवसरवादको आरोपबाट कहिल्यै मुक्त हुन सक्दैनन् ।”

सबैलाई समस्या
भिन्न विचारधारामा प्रवेश गर्ने दत्त मात्रै होइन, कम्युनिष्टबाट कम्युनिष्ट पार्टीमै प्रवेश गर्ने नेता÷कार्यकर्ताले पनि समस्या नै बेहोरेको देखिन्छ । एमालेबाट एमाओवादी प्रवेश गरेका पोलिटब्यूरो सदस्य रामचन्द्र झ, वैकल्पिक पोलिटब्यूरो सदस्य उर्मिला अर्याल, पूर्व सभासद् लक्की शेर्पा र केशव ढुंगानाले एमाओवादी केन्द्रीय समितिको पहिलो बैठकमै ‘भाग खान आएका’ र ‘जनयुद्ध विरोधी’ को आरोप खेप्नु प¥यो । एमालेबाटै भर्खरै एमाओवादी प्रवेश गरेका टंक पोखरेलको नियति पनि फरक नहुने उनी जस्तै नवप्रवेशीले भोगेको व्यवहारले देखाउँछ भने एमाओवादी प्रवेश गरेकी चलचित्र अभिनेत्री रेखा थापालाई त अध्यक्ष दाहाल बाहेक अरूले हाँसोको पात्र नै बनाएको देखिन्छ ।

एमाले अध्यक्ष झलनाथ खनाल तमलोपा नेपालका रत्नेश्वरलाल गोइतलाई पार्टीमा प्रवेश गराउँदै ।

एमाले छाडेर माले हुँदै समाजवादी मालेबाट पुनः एमालेमै पुगेका यदुवंश झलाई एमालेले गर्ने व्यवहार हेर्न बाँकी छ । एमालेबाटै तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गएर तमलोपा नेपाल हुँदै झअघि एमाले आएका रत्नेश्वरलाल गोइतले अहिलेसम्म कुनै पद पाएका छैनन् । गोइतसँगै २८ जेठमा एमाले प्रवेश गरेका तमलोपा नेपालका केन्द्रीय सदस्यहरू जयप्रकाश यादव, रामपदार्थ सलैता, हेमशंकर मण्डल, राजेन्द्र मण्डल र सत्यनारायण यादव तथा त्यही दिन एमाले बनेका एमाओवादी राज्य समितिका सदस्यहरू रोमहर्ष धिताल, लोकमणि आचार्य, भगवानप्रसाद दाहाल, मोतीलाल पासवान, जगन्नाथ मण्डल, लक्ष्मी धितालसँग पनि प्रवेशको टीका लगाउँदा पाएको सदस्य बाहेक अरू जिम्मेवारी छैन । तर पनि त्यसको केहीपछि रेडियो नेपालमा लामो समय कृषि कार्यक्रम चलाएकी लक्ष्मी भुसाल (बूढीआमै) एमाले प्रवेश गरिन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नेपाल राष्ट्र ब्याङ्कको गभर्नर भएका डा. तिलकबहादुर रावल फोरम नेपाल, फोरम लोकतान्त्रिक हुँदै कांग्रेस फर्के ।

फोरमबाट समानुपातिकतर्फको सभासद् बनेका उनलाई पनि कांग्रेसले राम्रो व्यवहार गर्ने अनुमान गर्न गाह्रो छ । किनभने, नेकपा (संयुक्त) बाट सांसद् भइसकेका भीमबहादुर श्रेष्ठ र २०४९ ताका एमाले केन्द्रीय कार्यालय सचिव रहेका केशरमणि पोखरेलले कांग्रेसमा उल्लेखनीय जिम्मेवारी पाएनन् । पोखरेल झ्ण्डै दुई दशकपछि पुनः एमाले फर्केका छन् भने श्रेष्ठ कांग्रेसमै छन् ।

सत्ता र पदको आशा
खिलराज रेग्मीको नेतृत्वमा चुनावी मन्त्रिपरिषद् गठन भएपछि चुनाव हुने सम्भावना बढेकाले नेता कार्यकर्ताको दल बदल बढेको देखिन्छ । जसलाई, प्राध्यापक खनाल स्वाभाविक र लोकतान्त्रिक पद्धतिको अभिन्न अंग मान्छन् । तर, यो बेला चलेको दल बदललाई व्यक्तिगत स्वार्थ भन्दै भर्खरै तराईका जिल्ला घुमेका खनाल भन्छन्, “छोड्ने पार्टीको पदलाई मोलमोलाइको साधन बनाउने चलन अनुसार केन्द्रीय नेता, पूर्व सभासद् र जिल्ला नेताको भिन्नाभिन्नै मूल्य हुनेरहेछ ।” ‘मूल्य’ पाउँदा जुनसुकै पार्टीमा जान तयार समूह नै रहेको पनि उनको बुझइ छ ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ केही व्यक्तिहरू सैद्धान्तिक वा वैचारिक मतभेदले नयाँ पार्टीमा गएको देखिए पनि धेरै व्यक्तिगत स्वार्थका कारण गएको बताउँछन् । दल बदलको प्रमुख कारण ‘पावर’ र ‘पोजिसन’ भए पनि वैचारिक रंग दिने गरेको उनको भनाइ छ । राज्य पुनर्संरचनाको विषयमा पार्टी नेतृत्वसँग असहमत भएको भन्दै एमालेबाट एमाओवादी प्रवेश गरेका रामचन्द्र झले नवौं वरियता नपाए त्यो पार्टी पनि छाड्ने सार्वजनिक रूपमै बताउनुले श्रेष्ठको भनाइ नै पुष्टि हुन्छ ।

राजनीतिक विश्लेषक नीलाम्बर आचार्यको विचारमा दलहरू दार्शनिक र सैद्धान्तिक रूपमा कमजोर रहेकाले तिनका नेता÷कार्यकर्तामा दल बदल प्रवृत्ति देखिएको हो । संक्रमणकालमा यो प्रवृत्ति देखिनुमा ‘अवसरवाद’ प्रमुख कारण रहेको उनको बुझइ छ ।
२०६२÷६३ को जनआन्दोलनमा सात संसदीय दललाई नेतृत्व गर्नेमध्ये एक तत्कालीन नेपाल सद्भावना पार्टीका उपाध्यक्ष भरत विमल यादव ३० वैशाखमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुलाई पनि भिन्नै आँखाले हेरिएको छैन । कांग्रेस पृष्ठभूमिका पूर्व स्वतन्त्र सभासद् बबन सिंह, पूर्व राज्यमन्त्री रामचन्द्र राय यादव र अनिल झ नेतृत्वको संघीय सद्भावना पार्टीका नेता तथा पूर्व सभासद् महेशप्रसाद यादव पनि अहिले नै फोरम प्रवेश गरेका छन् ।

२०६१ मा राजाको सरकारमा मन्त्री रहेका तमलोपाका पूर्व सभासद् गोविन्द चौधरी विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा गएका छन् । द्वन्द्वकालमा एमाओवादीको थारुवान राष्ट्रिय मुक्ति मोर्चामा रहेका लक्ष्मण थारू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, थरुहट तराई पार्टी नेपाल हुँदै अहिले फोरम लोकतान्त्रिकमै पुगेका छन् । राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदतारा पनि तमलोपा छाडेर त्यहीं गएकी छन् ।

उता, फोरम लोकतान्त्रिक छाडेर साझ प्रकाशनकी अध्यक्ष तथा महाप्रबन्धक ममता झ राजेन्द्र महतोको सद्भावना पुगेकी छिन् भने शाहीकालीन उप–प्रधानमन्त्री बद्रीप्रसाद मण्डल सरिता गिरीको नेपाल सद्भावना पार्टी गएका छन् । रूपन्देही–२ बाट सभासद् निर्वाचित ओमप्रकाश यादव पनि जयप्रकाशप्रसाद गुप्ताको मधेश अभियान छाडेर सद्भावनामै गएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्तिको एकता अभियानको संयोजक रहेका विश्वबन्धु थापा दुई पार्टी एकीकरण भएपछि आश्चर्यजनक रूपमा कमल थापाको राप्रपा नेपाल गएका छन् । यही बीचमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सभासद् बनेका राजकुमार नाल्बो अशोक राईको संघीय समाजवादी पार्टी गएका छन् । २०५१ मा स्याङ्जामा एमालेबाट सभासद् जितेका महेन्द्र थापा पनि अहिले त्यहीं पुगेका छन् ।

चुनौती नवप्रवेशीलाई
राजनीतिक विश्लेषक आचार्यको विचारमा नयाँ पार्टी प्रवेश गर्नेहरूले अहिले पनि अवसरभन्दा बढी चुनौती बेहोर्नुपर्नेछ । नयाँ पार्टीमा उनीहरूले सशक्त भूमिका पाउने सम्भावना नरहेको पनि उनको धारणा छ ।

१३ असोज २०६७ मा एमाओवादी प्रवेश गरेका पूर्व मन्त्री राधाकृष्ण मैनालीले त्यहाँ उल्लेखनीय भूमिका नपाउनुले नै देखाउँछ, नवप्रवेशीको अप्ठ्यारो । उनी त्यो अप्ठ्यारोबाट निराश हुँदै पुरानो घर एमालेमै फर्कने मनस्थितिमा पुगेको बताइन्छ । एमाओवादी प्रवेश गरेका तमलोपाका पूर्व सभासद् रामकुमार शर्माले पनि नयाँ पार्टीमा भूमिका पाएका छैनन् । २०५१ सम्म एउटै पार्टीमा रहेर संविधानसभा चुनावपछि एकताकेन्द्र मसाललाई एमाओवादीमा मिसाएका नारायणकाजी श्रेष्ठहरूले एकीकृत पार्टीमा अझ्ै दोस्रो दर्जाको व्यवहार भोग्नुले समग्र नवप्रवेशीको स्थिति दर्शाउँछ ।

प्राध्यापक खनालको विचारमा ‘भर्खरै आएका त हुन्’ भन्ने रैथानेहरूको मनोविज्ञानले नवप्रवेशीहरू सफल हुन नसकेका हुन् । २०४८ यताका घटना हेर्दा नवप्रवेशीले चुनावी नतिजामा पनि प्रभाव पार्न नसकेको देखिएको उनी बताउँछन् ।

खनालले भने जस्तै संविधानसभा चुनाव अघि माओवादीका रवीन्द्र श्रेष्ठलाई प्रवेश गराए पनि एमालेले कुनै फाइदा लिन सकेन भने काठमाडौंमा लोकप्रिय भनिएका केशव स्थापितलाई प्रजापरिषद्बाट फर्काउँदा पनि एमालेको अवस्था काठमाडौंमा कमजोर नै रह्यो ।
६ साउनको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>