रिपोर्टशुक्रबार, साउन ११, २०७०
मानसिक रोगः जेल होइन उपचार
– मीना शर्मा
पोखराको गण्डकी स्कूलबाट एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्न काठमाडौं आएका केशर देवकोटालाई अकस्मात् ‘सिजोफेनिया’ नामको मानसिक रोग लाग्यो।
मानसिक रोगीलाई उपचार नगरेर जेल पठाउने चलन अनुसार परिवारका सदस्यले उनलाई ६ महीना थुनिने गरी धुलिखेल जेल पुर्याए। त्यहाँबाट छुटेपछि पनि उपचार र स्याहार गर्ने कोही नपाउँदा सडकमा फालिएका फोहोर खाँदै उनले १७ वर्ष बिताउनुपर्यो।
अपमान र भुक्तमानको त्यति लामो यात्रापछि एउटा संस्थाले उपचार गरिदिएकाले ठीक भएका उनी अहिले आफ्नै कमाइले बाँच्न सक्ने भएका छन्। झण्डै आधा जीवन बर्बाद पारेको रोगबाट निको भएपछि त्यही रोगबारे चेतनामूलक गीत समेत गाएका केशर भन्छन्, “मानसिक रोगीलाई जेल पठाएर होइन; औषधि, हेरचाह र माया दिएर ठीक पार्न सकिन्छ।”
तर, अहिलेसम्म कायम रहेको मुलुकी ऐनले मानसिक सन्तुलन ठीक नभए नेल ठोकेर राखिने भनेकाले मानसिक रोगीलाई गरिने व्यवहारमा सुधार आउन नसकेको बताउँछन्, अधिवक्ता सविन श्रेष्ठ। सो ऐनमा श्रीमतीको मानसिक सन्तुलन ठीक नभए श्रीमानले अर्को विवाह गर्न पाउने समेत उल्लेख रहेको बताउँदै सविन भन्छन्, “संविधानमा समेत उपचार गर्न पाउने अधिकारमा मानसिक रोग नसमेटिएकाले मानसिक रोगीको उपचार र पुनर्स्थापना दुरुह भएको छ।”
औषधिले मात्र हुँदैन
मानसिक अस्पताल लगनखेलका पूर्व निर्देशक तथा वरिष्ठ मनोविज्ञ डा. कपिलदेव उपाध्यायका अनुसार, मानसिक रोगलाई औषधिले ६० प्रतिशत कम गरे पनि पूर्ण रूपमा ठीक पार्न मनोपरामर्श दिंदै सामाजिक र पारिवारिक वातावरण बिरामीमैत्री बनाउनुपर्छ। रोग लाग्नुको कारण पत्ता लगाउँदै लामो समय लगाएर उपचार गर्नुपर्ने यो रोगलाई पागल भनिनु सबैभन्दा ठूलो समस्या रहेको उपाध्याय बताउँछन्।
बिरामीलाई हत्कडी र नेलकडी लगाएर जेल वा त्यस्तै ठाउँमा बन्दी बनाइनु अर्को समस्या रहेको बताउँदै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका मनोचिकित्सक तथा सहप्राध्यापक डा. सरोजप्रसाद वझा भन्छन्, “आफू रोगी रहेको समेत थाहा नहुने मानसिक रोगीलाई माया दिंदै धैर्यपूर्वक उपचार गरेर मात्र निको पार्न सकिन्छ।”
“मानसिक अरू जस्तै रोग भएको र यो उपचार गरेर ठीक पार्न सकिन्छ भन्ने आम मानिसलाई बुझाउनु चुनौती रहेको” बताउँछन्, नेशनल मेन्टल हेल्थ सेल्फ―हेल्प अर्गनाइजेसन कोशिशका प्रमुख मात्रिका देवकोटा। उनका अनुसार, ठूला र जिल्ला अस्पताल तथा स्वास्थ्य चौकीमा मानसिक रोगका विज्ञ नहुनु तथा विज्ञ भएका ठाउँमा पनि एकीकृत परामर्श र उपचारको व्यवस्था नहुनु अर्को समस्या हो।
देवकोटा भन्छन्, “रोगका लक्षण देखा पर्नासाथ उपचार गर्दा ठीक पार्न सकिने भए पनि कडा रोग नलाग्दासम्म परिवारले वास्ता नगर्ने भएकाले बिरामी जटिल अवस्थामा पुग्ने गर्छ।” जटिल रोग लागेपछि एकीकृत र बहुपक्षीय उपचार गर्नुपर्नेमा थुन्ने वा बेवारिसे छाडिदिने प्रवृत्तिले निको हुनै गाह्रो हुने अवस्थामा बिरामी पुग्ने पनि उनी बताउँछन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को एउटा तथ्याङ्कले नेपालको जनसंख्याको २० देखि ३० प्रतिशतमा कुनै प्रकारको मानसिक समस्या रहेको बताउँछ। नेपालमा कार्यरत गैरसरकारी संस्थाहरूको तथ्याङ्कले पनि मानसिक रोगीको संख्या बढेको देखाउँछ। तर, मानसिक रोगी बढ्नुको कारण नखोजिएकाले यो रोगको नियन्त्रण अभियान पनि राम्रोसँग चलाउन नसकिएको विज्ञहरू स्वीकार्छन्।
सहप्राध्यापक डा. वझा एकल परिवारमा बाडिंदै गरेको नेपाली समाजमा समस्या पर्दा साथ दिने कोही नहुने कारण तथा बढ्दै गरेको प्रतिस्पर्धा र संघर्षको बोझ्ले थिचिएर मानसिक रोग बढेको हुनसक्ने अनुमान गर्छन्। विदेशमा रहेको जनशक्ति उतैको समस्या र बोझ्ले मानसिक रूपमा पीडित हुने तथा मुलुकमै रहेकालाई पनि यहाँको सामाजिक र आर्थिक परिस्थितिले कायल बनाउँदै मानसिक रोगी बनाउँदै लगेको उनको निष्कर्ष छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागका प्राध्यापक डा. शिशिर सुब्बाको भनाइमा चाहिं दशवर्षे सशस्त्र द्वन्द्व तथा त्यसले ल्याएको सामाजिक विचलन र विग्रह मानसिक समस्या बढ्नुको अर्को कारण हो।
बढे रोगी
सामुदायिक मानसिक स्वास्थ्य केन्द्र, नेपाल (सीएमसी) ले इलाम, मोरङ, ओखलढुंगा, धादिङ, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, डडेल्धुरा, डोटी, अछाम र बझाङमा सन् २०११/१२ मा गरेको सर्वेक्षणले मानसिक रोगका ४ हजार ४८ जना बिरामी बढेको देखायो। ती जिल्लामा पहिले नै ६ हजार ६८० मानसिक रोगी थिए।
सो सर्वेक्षणले ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा देखिएको मानसिक रोगमध्ये २७ प्रतिशतमा डिप्रेसन, ७ प्रतिशतमा साइकोसिस, ४३ प्रतिशतमा एनजाईटी डिसअर्डर, ११ प्रतिशतमा इपिलेस्पी, ५ प्रतिशतमा कन्भरसन डिसअर्डर र बाँकी ७ प्रतिशतमा अरू समस्या रहेको देखायो।
दोलखा र काभ्रेका तीन नगरपालिका र ३४ गाविसका ६९ विद्यालयमा १९ हजार १३५ विद्यार्थीबीच उसले गरेको अर्को सर्वेक्षणबाट एकहजार ५१२ मा मानसिक समस्या रहेको देखियो।
सर्वेक्षणबारे सीएमसी नेपालका कार्यक्रम संयोजक शंकर मालाकार भन्छन्, “प्राथमिक स्वास्थ्यकेन्द्रदेखि जिल्ला तहसम्म मानसिक रोग पहिचान गर्ने र परामर्श दिने विज्ञ नभएकाले रोगीहरू समस्या पालेर बस्न बाध्य छन्।” नेपालमा अहिले रहेका ६० जना मनोविज्ञमा पनि ४० जना काठमाडौं बस्छन् भने १० जना क्षेत्रीय अस्पतालहरूमा।
प्राध्यापक डा. सुब्बाका अनुसार मानसिक समस्या रहेका पुरुषभन्दा महिलाको समस्या चर्को छ। घरले नसहने हुनाले मानसिक समस्या केही बढी देखिनासाथ महिलाहरू घर छाड्न बाध्य हुने बताउँदै सुब्बा भन्छन्, “आफ्ना समस्या अरूलाई बताउन नसक्ने हुनाले महिलाहरू भित्रभित्रै जटिल स्थितिमा पुगिसकेका हुन्छन्।”
मनोविज्ञ डा. उपाध्याय चाहिं सुत्केरी भएको आठ सातासम्म हर्मोनमा आउने परिवर्तनले महिलामा डिप्रेसन, साइकोसिस जस्ता समस्या ल्याउने र त्यही कारण उनीहरू आत्महत्या समेत गर्ने अवस्थामा पुग्ने बताउँछन्।
पतिले छाडेपछि तीन छोराछोरीको हेरचाह गर्ने समस्यासँग जुध्न नसकेर मानसिक सन्तुलन गुमाएकी गुल्मीकी सावित्री राई (२४) को कथाले महिलामा मानसिक रोग लाग्नुको अर्को कारण उजागर गर्छ।
गुल्मीमा ज्यालादारी गरेर छोराछोरी हुर्काइरहेको बेला मानसिक रोग लागेपछि भौंतारिंदै काठमाडौं आएकी उनलाई असार दोस्रो साताको एक दिन काठमाडौंको प्रदर्शनीमार्गमा धोवीखोलाको पुलमा छोराछोरीलाई खसाल्न लागेको देखेर प्रहरीले पक्राउ गरेको थियो।
मानसिक रोग लागेका बिरामीलाई परामर्श दिने गरेको नेशनल मेन्टल हेल्थ सेल्फ―हेल्प अर्गनाइजेसन कोशिशका सामाजिक परिचालक कृष्ण थापा काठमाडौंमा भेटिने मानसिक समस्या रहेका महिला बिरामी प्रायः अरू जिल्लाबाट आएको पाइएको र राजधानीका ठाउँबारे केही थाहा नहुने भएकाले उनीहरूले धेरै प्रकारका समस्या भोग्नुपरेको बताउँछन्। आफन्तले नै धेरै बिरामीलाई जबरजस्ती गाडीमा राखेर पठाउने गरेको पनि उनको भनाइ छ।
राम्रो उपचार नहुँदा दोहोरिन्छ
दुई वर्षअघि काठमाडौंको एक सेल्टरमा तीन महीनाको उपचारपछि मानसिक रोग निको भएर घर फर्केकी वाग्लुङकी मीरा वि.क. (१७) लाई नियमित औषधि नखाएकाले फेरि रोग देखियो। नियमित औषधि नखाँदा गोरखाकी रमा अधिकारी (१८) को रोग पनि बल्झिएको छ। १३ वर्षदेखि मानसिक रोगको औषधि नियमित खाए पनि पछिल्लो समय औषधि खान बिराउँदा उनमा पुनः रोग देखिएको हो।
अरबबाट मानसिक रोग लिएर फर्केका ललितपुरका शिव खड्का (३३) ले तीन महीना औषधि खाएपछि निको भएको ठानी औषधि खान छाडे। तर, पुनः पुरानै रोग देखिएपछि उनी ८ महीनादेखि फेरि औषधि खाइरहेका छन्। दुई वर्षअघि ऋण खोजेर विदेशिएका उनी सोचे जस्तो कमाइ नभएपछि मानसिक समस्या उपहार लिएर नेपाल फर्केका हुन्। मानसिक समस्या देखिएपछि घरबाट निकालिएकी नुवाकोटकी भूमि खड्का (३५), त्यही कारण घर छाड्न बाध्य भएकी स्याङ्जाकी मनकुमारी गुरुङ (३८) लाई पनि एक पटक निको भएको ठानी औषधि खान छाड्दा रोग दोहोरिएको थियो।
कसरी थाहा पाउने मानसिक रोग
चिकित्साशास्त्रको भाषामा मानसिक रोग लाग्नु भनेको मानसिक समस्या या लक्षणहरू लगातार देखिनु हो। मानिसको व्यवहारमा गडबडी उत्पन्न भएमा मानसिक रोगको लक्षण देखिएको मानिन्छ।
मानसिक रोग दुई किसिमका हुन्छन्– मनस्ताप (न्युरोसिस) र मनोविक्षिप्त (साइकोसिस)। मनस्तापलाई सामान्य र मनोविक्षिप्तलाई कडा रोग मानिन्छ। उदासीनता वा चिन्ता हुँदा बिरामीले रोग लागेको महसूस गर्न सक्छ। कडा रोग लागेको बिरामीलाई भने केही थाहा हुँदैन। बाटोमा नाङ्गै हिंड्ने, सुत्ने, कैयौं दिनसम्म नखाने, अनौठा क्रियाकलाप गर्ने कारण त्यही हो।
तर, सामान्य मानसिक रोगलाई बेवास्ता गर्दा त्यही रोग पछि कडा पनि हुनसक्छ। त्यसैले सबै मानसिक रोगको समयमै उपचार गर्नुपर्छ। उदासीनता, अत्यधिक मदिरा सेवन र लागूपदार्थ दुर्व्यसनले लाग्ने रोग, छारेरोग, मास हिस्टेरिया नेपालमा धेरै देखिन्छन्।
६ साउनको साप्ताहिक खबरपत्रिका हिमालबाट