थप समाचारशुक्रबार, साउन ११, २०७०
प्रहरीको प्रारम्भिक अनुसन्धानः आत्महत्याबाट भूमिकाको मृत्यु
११ साउनमा अपराध अनुसन्धान महाशाखा, हनुमानढोकामा प्रहरीले गरेको पत्रकार सम्मेलनमा घटनाको प्रकृति र मेडिकल रिपोर्टहरूले आत्महत्या देखिएको विवरण सार्वजनिक गरेको छ । अमेरिकामा घर भई दुई वर्षअघि काठमाडौंमा बस्दै आएका भारतीय नागरिक आकाश जाटिया(२५)सँग प्रेम विवाह गरेकी भूमिका(२५)लाई परिवारले हत्या गरेको हुनसक्ने भन्दै मृतकका बुबाले जाहेरी दिएका थिए । भूमिकाका बुबा चन्द्रमोहन कोचरले हालै अमेरिकाको न्युयोर्कमा पत्रकार सम्मेलन गरेरै नेपालमा आफनी छोरीको हत्या भए पनि पर्याप्त अनुसन्धान नभएको बताएका थिए । कोचरले भूमिकाले बारम्बार श्रीमान् र सासू–ससुराको व्यवहार राम्रो नभएको बताउँदै रुँदै फोन गर्ने गरेकाले मृत्यु रहस्यमय भएको दाबी गरेका छन् । पत्रकार सम्मेलनपछि अमेरिकी सञ्चारमाध्यमहरुले समेत यो घटनालाई प्राथमीकताकासाथ प्रसारण प्रशन गरेको छ भने नेपाल स्थित अमेरीकी दुतावासले समेत चासो लिएको छ ।
महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय हनुमानढोकाका एसएसपीद्वय विजयलाल कायस्थ र सुबोध घिमिरेले प्रारम्भिक अनुसन्धानमा भूमिकाले आत्महत्या गरेको देखिने प्रमाणहरू प्रस्तुत गरेका थिए । घटनाको दिन श्रीमान् आकाशसँग मनमुटाव भएपछि तीन वटा ढोका बन्द गरेर वाथरुमको भेण्टिलेसनमा डोरीको पासो बनाई आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ । भूमिका रिसाएर आफूलाई एक्लै छाड्न भनेपछि फकाउनलाई फूल किन्न गएर आउँदा सबै ढोका बन्द भएको र फोडेर हेर्दा झुण्डिएको पाएपछि अस्पताल लगेको आकाशले बताएका छन् । आकाशले शिक्षण अस्पताल पुगेपछि मात्रै प्रहरीलाई खबर गरेका थिए । भूमिकाका ससुरा अनिल जाटिया र सासू नीता जाटिया घरमा नभए पनि घरमा ४ जना कामदार रहेको अवस्थामा ढोका थुनेर उनले आत्महत्या गरेको पाइएको छ ।

जानकारी : महाराजगञ्जमा १ असारमा मृत फेला परेकी भुमिका जाटिया केशको ११ साउनमा जानकारी दिदै एसएसपीद्वय विजयलाल कायस्थ र सुवोध घिमीरे। तस्बीर:डम्बरकृष्ण श्रेष्ठ/ हिमालखबर
एसएसपी विजयलाल कायस्थका अनुसार ३ असारमा अमेरिकाबाट आएका भूमिकाका बुबा चन्द्रमोहनले घटनास्थल हेरेपछि छोरीको आत्महत्या भएको निष्कर्ष निकाल्दै शव अमेरिका लिएर गएका थिए । उनले भने “अहिले उहाँले हत्याको आशंका गर्दै जाहेरी दिएकाले हामीले अनुसन्धान गरिरहेका छौं ।” परिवारले घरेलु हिंसा या मानसिक टर्चर दिएर आत्महत्या गर्न बाध्य पारिएको देखिए पनि भूमिकाले आत्महत्या गरेको पुष्टि भए पीडकलाई कारबाही गर्ने कानून नेपालमा छैन ।
भूमिका र आकाशबीच बारम्बार खटपट देखिएपछि ६ महीना अघि मात्र दिल्लीमा दुवै परिवार बसेर घर झगडा मिलाएका थिए । भूमिकाले आकाशलाई पटक पटक कि दिल्ली गएर ब्यापार गरेर बस्ने कि अमेरिकातिरै बस्न जाने कर गरे पनि एक्लो छोरा भएकाले बुबा–आमा छाड्न नसक्ने बताउँदै आएका थिए । तीन वर्ष लामो प्रेमपछि दुई वर्षअघि विवाह गरेर नेपाल बस्न थाले पनि भूमिका यहाँको माहोलमा घुलमिल हुनसकेकी थिइनन् । जगदम्बा स्टीलमा काम गर्ने श्रीमान् काममा व्यस्त भएपछि उनले एक्लो महसूस गर्न थालेकी थिइन् भने घरमा सासूले प्रायः पूजापाठ गर्न र हिन्दू परम्परा र संस्कारमा रहन दबाब दिने गरेकी थिइन् । तीन वर्षकै उमेरबाट अमेरिकी जीवनशैलीमा हुर्किएकी भूमिकाको जाटिया परिवारमा घुलमिल हुन नसक्नु नै आत्महत्याको कारण हुनसक्ने देखिन्छ । पब्लिक हेल्थ पढेकी भूमिका ६ महीना अघिदेखि नर्भिक अस्पतालमा काम गर्न थाले पनि नेपालमा बस्न गाह्रो भएकाले आफूलाई लिन आउन बुबालाई बारम्बार फोन गर्ने गरेकी थिइन् । १ असारमा भने उनी संसारबाटै बिदा भइन् ।
पोष्टमार्टम रिपोर्टमा समेत आत्महत्या देखिए पनि भूमिकाको माइतीपक्षको जाहेरीपछि प्रहरीले थप अनुसन्धान थालेको छ । एसएसपी घिमिरेका अनुसार सबै सम्भावना र शंकाहरूलाई ध्यानमा राखेर अनुसन्धान भइरहेको छ । उनले भने “अहिलेसम्मको अनुसन्धानले आत्महत्या देखाएको छ, थप अनुसन्धान भइरहेको र परिवारले शवको सेम्पलहरूको थप परीक्षण अमेरिकामै गर्न चाहेकाले त्यसको पनि अध्ययन गरिरहेका छौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
