रमझमआइतबार, साउन १३, २०७०
नेपथ्य वेम्बले कन्सर्टको अन्तिम तयारीमा
बेलातको वेम्ब्ले एरेनामा सांगीतिक प्रस्तुती दिन नेपथ्यको नौ सदस्यीय टोली १५ साउनमा त्यस्तर्फ जाँदैछ ।
“वेम्ब्लेजस्तो ठूलो इतिहास बोकेको मञ्चमा कार्यक्रम गर्न पाउनु हाम्रो निम्ति गौरवको विषय हो,” नेपथ्यका गायक अमृत गुरुङले भने, “हाम्रो वर्षौंदेखिको सपना साकार भएको छ । नेपाली संगीतको यो महत्वपूर्ण ऐतिहासिक घडीमा हिस्सेदार बन्न बेलायत र वरपर देशमा बस्ने नेपालीहरू पनि उत्साहित हुनुहोला भन्ने मलाई विश्वास छ ।”
नेपथ्यले दुई दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान गर्दै आएको छ । यस अवधिमा नेपथ्य आफ्नो सांगीतिक प्रस्तुतिलाई निरन्तरता दिँदै दर्शक/श्रोतामाझ लोकप्रिय रहँदै आएको छ । हालसम्म यो समूहले नौवटा एल्बम निकालिसकेको छ ।
नेपथ्यले भारत, अस्ट्रेलिया, इजरायल, हङकङ, दक्षिण कोरिया, अमेरिका, फिनल्यान्ड, हल्यान्ड, बेल्जियम लगायत मुलुकमा कार्यक्रम गरिसकेको छ ।
“बेलायत र अन्य युरोपेली देशका हाम्रा शुभेच्छुकहरूले वेम्ब्ले कन्सर्टप्रति उत्साह देखाइरहेका छन् । कन्सर्ट हेर्न हल्यान्ड, बेल्जियम, नर्वे र अमेरिकादेखि पनि दर्शक बेलायत आउने मैले थाहा पाएको छु,” नेपाञ्लयका किरणकृष्ण श्रेष्ठले भने, “विदेश बस्ने नेपालीहरूको यो ऐक्यबद्धताले हामी निकै उत्साहित भएका छौं ।”
ticketmaster.co.uk मार्फत् र वेम्ब्लेको बक्स अफिसबाट टिकट खरिद गर्न सकिने नेपथ्यले जनाएको छ ।