अन्तर्वार्ता/विचारसोमबार, साउन १४, २०७०
‘रोजगारी र सीप विकासमा ध्यान दिन्छौं’
शक्ति समूह कस्तो संस्था हो ?
यो मानव बेचविखनमा परेका दिदीबहिनी मिलेर मानव बेचविखन विरुद्ध काम गर्न स्थापित संस्था हो । १५ जना मिलेर २०५४ मा स्थापना गरेको यो समूहमा अहिले १६८ जना छौं । बेचविखनमा परेका मात्र यसका सदस्य हुन सक्छन् ।
यो पुरस्कार पाउने संकेत तपाईंहरुले कहिले पाउनुभयो ?
गत माघमा हाम्रो अफिसमा आएर सोधखोज गर्नेहरू यही पुरस्कार समितिका रहेछन् भन्ने हामीलाई अहिले मात्र थाहा भयो । दुई साता पहिले उनीहरुले मागे अनुसार संस्थाको प्रोफाइल र गतिविधि समूहकी अध्यक्ष सुनिता दनुवारले पठाउनुभएको थियो । त्यसपछि इमेलमा उनीहरुले तपाईंहरूको संस्थालाई सम्मान गर्दैछौं भनेका थिए ।
पुरस्कार पाउनुको कारण के हो जस्तो लाग्छ ?
यो पुरस्कार शक्ति समूह एक्लैले होइन, बेचविखन विरुद्ध अभियान चलाएका सबै र सम्पूर्ण नेपालले जितेको हो । म्यागसेसे फाउण्डेशनको विज्ञप्तिमा पनि बेचविखनमा परेका महिलाहरूका लागि अनवरत रुपमा काम गरेकाले सम्मानित गरेको भनिएको छ । अन्यायमा परेका महिलाले अरुलाई अन्याय हुनबाट जोगाउन् भनेर पुरस्कृत गरिएको हुनुपर्छ ।
पुरस्कारको रकम केमा खर्च गर्नुहुन्छ ?
बेचविखनबाट प्रभावित महिलाहरूलाई रोजगारी दिलाउन खर्च गर्नेछौं । अब बेचविखनमा परेका महिलाको उद्धार गरेर मात्रै नपुग्ने निष्कर्षमा हामी पुगेका छौं ।
पुरस्कारले तपाईंहरुको योजना र काममा केही फरक पार्छ ?
सीमित दिदीबहिनीको संस्था मानिएको शक्ति समूह यो पुरस्कार पाएपछि अन्तर्राष्ट्रिय रुपमा परिचित भएको छ । हामीले चलाएको अभियान सफल पार्न संस्थागत विकास पनि हुनुपर्छ भन्ने हाम्रो ठहर छ । ‘जसको सवाल उसको सहभागिता’ भन्ने नारालाई हामी अरु दह्रोसँग कार्यान्वयन गर्छौ ।