रिपोर्टबिहीबार, साउन १७, २०७०
अस्पतालमै अपमान
– मीना शर्मा
गत साता काठमाडौंको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा सुत्केरी भएकी राधिका सुनुवारलाई अस्पतालले ४५ दिनपछि ‘फलो–अप’मा आउने गरी नौ घण्टामै डिस्चार्ज गर्यो। “मलाई गाह्रो त भएको छ”, ८ साउन दिउँसो १ बजे घर फर्कन लागेकी उनले भनिन्, “तर, यहाँ नयाँ बिरामीलाई राख्नुपर्ने भएकाले मैले बस्न मिल्दैन रे!” अघिल्लो साता डिस्चार्ज भएकी ललिता बि.क. (नाम परिवर्तन) ले साह्रै पीडा भएर चिच्याउँदा ‘तिमीले मात्र बच्चा जन्माएकी हौ र संसार थर्काउनुपर्छ?’ भन्दै नर्सहरूले हप्काएको बताइन्। पहिलो बच्चाकी आमा ललिता सुत्केरी हुनु चार घण्टाअघि अस्पताल पुगेकी थिइन्। “आफूलाई अप्ठ्यारो भएर केही सोध्दा नर्सहरूले चूप लागेर बस भन्दै हप्काए”, ललिता भन्छिन्।
तेस्रो पटक सुत्केरी हुन थापाथली अस्पताल पुगेकी विष्णुमाया मगरलाई नर्सहरूले ‘धेरै बच्चा जन्माउने आइमाई’ भन्दै हप्काउनु हप्काए। दुई सन्तान डेरामै जन्माएकी विष्णुमायाले नर्सहरूले पालैपालो हप्काउँदा किन अस्पताल आए छु नि जस्तो लागेको बताइन्। धन्न उनका श्रीमान् नर्सहरूको अगाडि परेनन्। २०६५ सालदेखि ‘आमा सुरक्षा कार्यक्रम’ लागू भएको मुलुककै यो ठूलो प्रसूति अस्पतालमा सुत्केरीलाई असुरक्षित अवस्थामै डिस्चार्ज गर्ने र दुईभन्दा बढी बच्चा जन्माउने पति–पत्नीलाई बेइज्जत गर्ने समस्या चर्को छ।
असभ्य व्यवहार
सरकारले ‘आमा सुरक्षा कार्यक्रम’ लागू गरेपछि सुत्केरी हुन अस्पताल आउने महिलाको संख्या बढे पनि असभ्य व्यवहारले धेरैलाई पीडित बनाएको छ। यो समस्या प्रसूति गृहको मात्र हैन। “अनावश्यक स्वास्थ्यकर्मीहरू आएर घेर्दा मलाई साहै्र गाह्रो भयो”, एक निजी अस्पतालमा बच्चा जन्माएकी ललितपुरकी सोनु विष्ट भन्छिन्, “यसबारे सोध्दा विद्यार्थीहरूले सिक्ने तपाईं जस्तैबाट हो भन्ने रुखो जवाफ दिए।”
नियमित परीक्षणका लागि पाटन अस्पताल जाँदा यस्तै अपमानजनक व्यवहार भोगेकी सुरक्षित मातृत्व सञ्जालकी कार्यक्रम अधिकृत सम्झ्ना फुँयाल आफूलाई ‘तपाईंको बच्चा सानो छ, जे पनि हुन सक्छ’ भन्दै आतंकित पारेको बताउँछिन्। त्यसको दुई महीनापछि ‘नर्मल डेलिभरी’ भएकी उनी अस्पतालमा महिलाहरूलाई थर्काउने प्रवृत्ति हटाउन यो क्षेत्रमा लागेको बताउँदै भन्छिन्, “मलाई असजिलो भयो भन्दा नर्सले तपाईं कराउँदैमा बच्चा जन्मँदैन भनिन्, तर त्यसको १५ मिनेटमै बच्चा जन्मियो।”
दोस्रो बच्चा जन्माउन अस्पताल पुगेकी सीमा लुईटेल (नाम परिवर्तन) लाई नर्सले ‘फेरि छोरी जन्मियो, पहिल्यै जँचाउनुपर्थ्यो नि!’ भनेकी थिइन्। उनको कुरा सुन्दा एक थप्पड लगाएर हिंडूँ जस्तो लागेको सीमा बताउँछिन्। अस्पतालमा यस्तो असभ्य व्यवहारको समस्या चर्को छ। “नर्सहरूको व्यवहारबारे ठूलो जनगुनासो छ”, नाम उल्लेख गर्न नचाहने थापाथली प्रसूति गृहका एक डाक्टर भन्छन्, “जति तालीम दिंदा पनि संस्कारगत कारणले हुन सक्छ, उनीहरूमा सुधार आएको छैन।”
सुरक्षित मातृत्व सञ्जाल महासंघले दुई वर्षअघि गरेको सर्वेक्षणमा सहभागी २५ जिल्लाका ६५० जना गर्भवती तथा सुत्केरीमध्ये ८० प्रतिशतले स्वास्थ्यकर्मीबाट राम्रो व्यवहार नपाएको बताएका थिए। सञ्जालकी अध्यक्ष डा. आरजू राणा देउवा प्रसूति सेवामा समेत जात, चिनजान र सरसफाईले फरक पार्ने गरेको बताउँछिन्। देउवा भन्छिन्, “अस्पतालमा कटु व्यवहार खेपेका ग्रामीण महिलाहरू अर्को पटक अस्पताल जान मान्दैनन्, जसबाट मातृ मृत्युदर बढ्न सक्छ।”
जनशक्ति अभाव
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सुधार शाखा प्रमुख डा. बाबुराम मरासिनी कामको बोझ्मा कहिलेकाहीं स्वास्थ्यकर्मीले नराम्रो व्यवहार गरे पनि उनीहरूकै कारण मातृ मृत्युदर घटेको तथ्य बिर्सन नहुने बताउँछन्। हरेक वर्ष सेवा लिनेको संख्या अनुसार सेवा दिनेको संख्या नबढ्नाले समस्या भएको डा. मरासिनीको तर्क छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार, १० हजार जनसंख्याका लागि २६ जना स्वास्थ्यकर्मी हुनुपर्छ, तर नेपालमा ११ जना मात्र छ। वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्याय बच्चा जन्मिसकेपछि पनि कतिपय महिलालाई ‘पोस्टपार्टम् डिप्रेसन’ बाट जोगाउन अस्पतालले ध्यान दिनुपर्ने भए पनि कामको बोझ्का कारण स्वास्थ्यकर्मीहरूले परामर्श सहितको उपचार दिन नसकेको बताउँछन्। “त्यसो त अस्पताल आएका सबै बिरामीले राम्रो व्यवहारको आशा गरिरहेका हुन्छन्, जसको सर्वथा अभाव छ”, डा. उपाध्याय भन्छन्।
सम्मानजनक स्वास्थ्य सेवाको लागि कार्यक्रमहरू गर्दै आएको सुरक्षित मातृत्व सञ्जाल महासंघकी अध्यक्ष डा. आरजू सम्मानजनक मातृत्व महिलाको अधिकार भएको बताउँछिन्। उता, स्वास्थ्य सेवा विभाग टेकुको सुरक्षित मातृत्व कार्यक्रमकी फोकल पर्सन डा. शिलु अर्याल ‘आमा सुरक्षा कार्यक्रम’ मातृ मृत्युदर घटाउन प्रभावकारी भए पनि सम्मानजनक मातृत्वको लागि काम गर्न बाँकी रहेको बताउँछिन्। उनका अनुसार, सन् २००१ मा मातृ मृत्युदर ५३४ रहेकोमा अहिले १७० मा झ्रेको छ र ८० प्रतिशत महिला बच्चा जन्माउन स्वास्थ्य संस्था जान थालेका छन्। “तर, सम्मानजनक व्यवहारको विषयमा भने पर्याप्त काम हुन सकेको छैन।”
गर्न बाँकी
नर्सिङ क्याम्पस महाराजगञ्जकी सह―प्राध्यापक किरण बज्राचार्य नेपाली महिलाले सम्मानजनक स्वास्थ्य सेवा त के महीनावारीको अवधिमा चाहिने सुविधा समेत नपाएको बताउँछिन्। मीडवाइफरी सोसाइटी अफ नेपाल (मिडसन)की अध्यक्ष समेत रहेकी बज्राचार्यले स्वास्थ्य मन्त्रालयले सन् २००६ मा गाउँ―गाउँमा मीडवाइफको व्यवस्था गरिने भने पनि त्यो शुरू नभएको बताइन्।
“गाउँ–गाउँमा दक्ष मिडवाइफ हुने हो भने अस्पतालमा थोरै स्वास्थ्यकर्मी भए पनि समस्या हुने थिएन” बज्राचार्य भन्छिन्, “अनि डाक्टर–नर्स उत्पादन गर्ने नाममा बिरामीको अनुमति नै नलिई बेड वरिपरि विद्यार्थी राख्ने असभ्य पारा पनि देखाउनुपर्ने थिएन, न त सुत्केरीलाई विना उपचार अस्पतालबाट निकाल्नुपर्थ्यो।”
प्रसूति गृह थापाथलीका डा. धनराज अर्याल भने अस्पतालमा चाप बढी हुँदा सुत्केरी भएको केही घण्टामै बिरामीलाई डिस्चार्ज गर्नुपरेको बताउँछन्। जबकि, सामान्य रूपमा सुत्केरी भएकी महिलालाई २४―७२ घण्टा र शल्यक्रिया गरेर बच्चा जन्माएकीलाई एक सातासम्म अस्पतालमा राख्नुपर्छ। डा. अर्याल भन्छन्, “तर, बाहिर अर्की महिला सुत्केरी व्यथाले छटपटाइरहेको अवस्थामा बच्चा जन्माएकाहरूलाई पठाउनै पर्छ।” अस्पतालको यस्तो बाध्यताले बिरामीलाई जोखिममा पार्नुको औचित्य भने पुष्टि गर्न सक्ने देखिंदैन।
५४ वर्षअघि ४० बेडबाट शुरू भएको प्रसूति गृह थापाथलीमा अहिले ४१५ बेड छन्। दैनिक करीब ६० जना महिला सुत्केरी हुने यो अस्पतालमा तीमध्ये २० प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माउँछन्। १० जना विशेषज्ञ डाक्टर र ११० नर्सिङ स्टाफ रहेको यो अस्पतालमा गर्भ परीक्षणका लागि हरेक वर्ष ५२ हजार महिला आउने गरेको अस्पतालले जनाएको छ।
१३ साउनको साप्ताहिक खबरपत्रिका हिमालबाट ।