रिपोर्टशुक्रबार, साउन १८, २०७०
नयाँ मतदाता निर्णायक
रामेश्वर बोहरा
२०५२ सालमा माओवादीले हिंसात्मक द्वन्द्व शुरू गरेकै वर्ष जन्मिएका करीब ६ लाख युवाले ४ मंसीरमा हुने संविधानसभा निर्वाचनमा पहिलो पटक मताधिकार प्रयोग गर्दैछन्। हिंसा, अस्थिरता र राजनीतिक अन्योल हेर्दै र भोग्दै हुर्केको यो पुस्ता नै आउँदो निर्वाचनमा मतदान गर्ने सबैभन्दा कान्छो हो।
२०६८ को जनगणनामा १७ देखि २३ वर्ष उमेर पुगेका युवाहरू पनि आउँदो निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन्। यसरी हेर्दा आउँदो निर्वाचनमा ४२ लाख २० हजार ९८७ जनाले पहिलो पटक मतदान गर्नेछन्।
अध्ययन र रोजगारीका लागि विदेशिएर तथा अन्य कुनै कारणले मतदानमा आधा नै सहभागी भएनन् भने पनि कम्तीमा २१ लाख जना आउँदो निर्वाचनमा नयाँ मतदाता हुनेछन्। र, अहिले दर्ता भएका कुल मतदाताको झण्डै २० प्रतिशत हुन आउने यो संख्या आउँदो निर्वाचनको परिणाम प्रभावित पार्न पर्याप्त हुने देखिन्छ।

पहिलो पटक निर्वाचनमा भाग लिन लागेको पुस्तालाई आकर्षित गर्न सक्ने राजनीतिक शक्ति आउँदो निर्वाचनमा हावी हुनेछ: प्रा. डा. भीमप्रसाद सुवेदी, जनसंख्याविद्
निराश र आक्रोशित पुस्ता
आउँदो संविधानसभा निर्वाचनमा पहिलो पटक मताधिकार प्रयोग गर्ने यो पुस्ताको स्वभाव, सोच र मनोविज्ञान आकलन गर्न सहज नभएको विज्ञहरू बताउँछन्। त्यही कारण चलायमान र स–साना घटनाबाट उद्वेलित हुने यो पुस्ताको मत कता पर्छ भन्ने निश्चित नरहेको उनीहरूको निष्कर्ष छ।
बढी सक्रिय हुने भएकाले परिवार, साथीसँगी र समाजलाई समेत प्रभाव पार्न सक्ने यो पुस्ता जोशिलो र सामाजिक असमानता तथा थिचोमिचो विरुद्ध आक्रामक पनि छ। नयाँ र विविधता रुचाउने यो पुस्ताको राजनीतिक रोजाइ अनुमान गर्नु कठिन हुने बताउँदै जनसंख्याविद् प्रा.डा. भीमप्रसाद सुवेदी भन्छन्, “त्यही भएर पहिलो पटक निर्वाचनमा भाग लिन लागेको यो पुस्तालाई आकर्षित गर्न सक्ने राजनीतिक शक्ति आउँदो निर्वाचनमा हावी हुनेछ।”
परिवर्तन पक्षधर र असमानता विरोधी यो पुस्ता आफ्नो रुचिको नारा लगाउने राजनीतिक दलप्रति आकर्षित हुने भएकाले सन्तुलित विचार राख्ने लोकतान्त्रिक र परम्परावादी दक्षिणपन्थी शक्तिहरूभन्दा वामपन्थी र उग्रवामपन्थी शक्तिको पक्षमा लाग्ने सम्भावना बढी रहेको केहीको विश्लेषण छ। एसएलसी परीक्षामा अनुत्तीर्णहरू पनि रहेको यो पुस्ता वर्तमान र संस्थापनासँग आक्रोशित र निराश छ। मुलुकमा रोजगारीका सम्भावना नदेख्दा यो पुस्ताको आक्रोश र निराशा अरू बढेको छ। यही उमेर हुँदा पुरानो पुस्ता यति आक्रोशित नरहेको महसूस गरेका जनसंख्याविद् डा. सुवेदी निराशा र आक्रोश बोकेको यो पुस्ता मतदान केन्द्रमै नजान सक्ने सम्भावना पनि देख्छन्।
राजनीतिप्रति वितृष्णा देखाउन थालेको यो पुस्ताको निराशा र आक्रोशलाई निर्वाचन बहिष्कार गर्ने योजनामा रहेको शक्तिले प्रयोग गर्न सक्ने सम्भावना पनि देखिन्छ। तर, निर्वाचनमा भाग लिने दलहरूले आफ्ना समस्या सम्बोधन गर्ने नारा दिए अनि त्यही अनुसारका कार्यक्रम ल्याए भने उनीहरू उत्साहित हुँदै मतदान केन्द्रमा पुग्ने सम्भावना पनि छ।
२०६४ को संविधानसभा निर्वाचनभन्दा यो पटक मतदाता घट्नुमा यो पुस्ताको निराशा पनि एउटा कारण हुन सक्छ।
संविधानसभाको गत निर्वाचनमा १ करोड ७६ लाख मतदाता रहेकोमा यसपटक त्यो संख्या घटेर १ करोड २३ लाख भएको छ। २०६८ मा राष्ट्रिय जनगणना हुँदासम्म १८ वर्ष पुगेकाको संख्या १ करोड ५४ लाख भए पनि असार मसान्तसम्म १८ वर्ष पुगेकालाई गणना गर्दा मतदानका लागि योग्यहरूको संख्या १ करोड ६६ लाख हुन आउँछ।
जनगणनाले वैदेशिक रोजगारीका निम्ति भारत बाहेकका मुलुकमा गएका नेपालीको संख्या १९ लाख देखाएको छ र विदेशमा अहिले करीब ३० लाख नेपाली रहेको हुनसक्ने सरकारी निकायहरूको अनुमान छ।

माओवादी विद्रोहका नकारात्मक कुरा भोग्दै हुर्केको युवा पुस्ताको समर्थन एमाओवादीले पाउँदैन: सुरेश ढकाल, मानवशास्त्री
मतदाता संख्या
२०४७———————————— १,११,९१,७७७
२०५०———————————— १,२३,२७,३२९
२०५६———————————— १,३५,१८,८३९
२०५७———————————— १,४३,५९,८२४
२०५८———————————— १,४६,६३,९४९
२०५९———————————— १,४७,९९,९२७
२०६०—————— ——————१,५०,४९,४३८
२०६१————————————-१,५१,२७,१९८
२०६२————————————-१,५३,२२,८६२
२०६३————————————-१,७६,०९,८९५
२०७०———————————— १,२३,०८,३१४
यो तथ्याङ्क अनुसार आउँदो निर्वाचनका लागि देशभित्रै रहेका करीब १३ लाख मतदाताले निर्वाचन आयोगमा नाम दर्ता नगरेको देखिन्छ। तर, फोटो सहितको मतदाता नामावली दर्ता गर्न व्यक्ति आफैं उपस्थित हुनुपर्ने भएकाले मृत्यु भइसकेकाको नाम नरहने, दुई वा दुईभन्दा बढी ठाउँमा नाम रहन नसक्ने र नाम दर्ता गर्न नागरिकता चाहिने हुँदा गैरनेपाली नामावलीमा नपर्ने भएकाले मतदाताको संख्या केही घटेको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भन्छन्, “मतदाता नामावलीमा छुटेकाहरूको संख्या निकै थोरै छ।”
मानवशास्त्री सुरेश ढकाल चाहिं मतदाता नामावलीमा कति छुटे भन्दा पनि को छुटे भन्ने प्रश्न महत्वपूर्ण रहेको बताउँछन्। ढकाल भन्छन्, “मतदाता नामावलीलाई सिस्टममा ल्याउन खोज्दा पहिलेभन्दा कम संख्या देखिनु स्वाभाविक भए पनि यसमा नसमेटिएकाहरू निर्वाचनप्रति चासो नराख्ने नयाँ पुस्ताका हुनसक्छन्, यो उल्लेखनीय विषय हो।”
चुनावी जोडघटाउ
पहिलो पटक मताधिकार प्रयोग गर्न लागेको युवा पुस्ताको मतले अबको चुनावमा निर्णायक प्रभाव पार्ने र त्यो प्रभावले चुनावी परिणाममा मात्र नभएर राजनीतिक रूपमै बेग्लै अर्थ बोक्ने विज्ञहरू बताउँछन्।
मानवशास्त्री ढकाल माओवादीको हिंसात्मक विद्रोहकालका नकारात्मक कुरा सुन्दै र त्यसका नकारात्मक परिणाम देख्दै/भोग्दै हुर्केको शहरिया युवा पुस्ता एमाओवादीप्रति नकारात्मक रहेको विश्लेषण गर्छन्। तर, राजनीतिक सक्रियता र प्रचार शैलीमा एमाओवादी आक्रामक रहेकाले गाउँको युवा पुस्ता नेपाली कांग्रेस र एमालेभन्दा एमाओवादीसँगै आकर्षित रहेको धारणा राख्दै ढकाल भन्छन्, “गाउँले युवा पनि पछिल्लो समय हावी हुँदै गएको जातीय र क्षेत्रीय नाराप्रति आकर्षित रहेकाले एमाओवादीको प्रभावबाट उम्केर जातीय र क्षेत्रीय दलसँग नजिक हुँदै गरेको देखिन्छ।”
छुटेका मतदाता
२०६८ को जनगणना अनुसार १८ वर्षभन्दा माथिको कुल जनसंख्या—– १,५४,१०,०९३
अहिले १८ पुगेका १६ र १७ वर्षका समेत जोड्दा————————- १,६५,९३,६३३
फोटो सहितको मतदाता नामावलीमा दर्ता भएका मतदाता संख्या—— १,२३,००,०००
विदेशमा रहेका नेपालीको अनुमानित संख्या————————– ३०,००,०००
मतदाता नामावलीमा नसमेटिएकाको संख्या————————- १३,००,०००
साप्ताहिक हिमाल खबरपत्रिकाबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
