रमझमआइतबार, साउन २०, २०७०
बेलायतमा गुञ्जियो नेपथ्य
सांगीतिक समूह नेपथ्यले बेलायतको १२ हजार पाँच सय सिट क्षमता भएको वेम्बली एरेनामा करिब सात हजार दर्शकमाझ आफ्ना गीत प्रस्तुत गर्यो ।
संसारकै प्रसिद्ध गायक र सांगीतिक समूहहरुले आफ्ना गीत प्रस्तुत गर्ने एरेनामा गायक अमृत गुरुङले पाएको मौकाको पूरै सदुपयोग गरे । जस्ले नेपाली गीत संगीतलाई थप उचाई प्रदान गरेको छ । नेपालीले वेम्बली एरेनामा आफ्ना गीतसंगीत प्रस्तुत गरेको यो पहिलो अवसर थियो ।
विश्व विख्यात व्याण्डहरु बिटल्स्, स्याडोज्, पप समूह दि होलिज, सांगीतिक समूह स्पाइस गल्र्सदेखि इंग्लिस रक व्याण्ड रोलिङ स्टोन्स्, द हुलगायतले यो एरेनामा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । त्यस्तै अमेरिकी गायिकाहरु ब्रिट्नी स्पेयर्स, टेलर स्वीफ्थ, वियोन्स् र म्याडोना, कोलम्बियन गायिका साकिरा, अंग्रेजी गायक एवं संगीतकार डेभिड रोवर्ट जोन्स्जस्ताको पनि रोजाइमा पर्ने स्थान हो यो ।
अमृतले गीत गाइरहँदाको दुईघण्टा सम्म दर्शक–श्रोताहरु निरन्तर नाचिरहे । अमृतले गीतको बीचबीचमा दर्शकरुलाई नेपालको द्वन्द्वका कारण शिक्षा र अवसरबाट वञ्चित बालबालिकाहरुलाई सहयोग गर्न पनि आग्रह गरे ।