ब्लगआइतबार, साउन २०, २०७०
आनीसँग आँखा जुधाउँदा…
२१ चैत २०६२
काठमाडौंको हायात रिजेन्सी होटलमा फूलको आँखामा फूलै संसार… गाइरहेकी आनीलाई हलको एउटा कुनाबाट हेर्दा/सुन्दा उर्मिला १४ वर्षकी थिइन् । उनले त्यो मौका आफ्नी मालिक्नीको कारको ढोका खोल्न, सामान बोक्न र उनका आफन्तहरूको बालबच्चा हेरचाह गर्न होटल आउँदा पाएकी थिइन् । जीवनकै पहिलो पटक ठूलो भीड माझ् यस्तो माहोलमा पुगेकी कमलरी उर्मिला आनीलाई देखेर यति प्रभावित भइन् कि आनीले गीत उनकै लागि गाइदिए जस्तै लाग्यो । आनीलाई अगाडि गएर भेट्न, बोल्न उनलाई मन लागे पनि उनको हैसियत र स्थान त्यो कुनाभन्दा कतै जान सक्ने थिएन । ‘आनी जस्तै यत्रा मान्छेको सामु बोल्न पाए कस्तो हुन्थ्यो होला ?’ उर्मिलालाई धेरै पछिसम्म यस्तो लागिरह्यो ।
१६ साउन २०७०
ललितपुरको हिमालय होटलमा युनिसेफले बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि सञ्चालन गरेको अभियान घोषणा कार्यक्रम चलिरहेको छ । कार्यक्रममा आनी छोइङ डोल्माले बुद्ध मन्त्रसँगै आफनो चर्चित गीत ‘फूलको आँखामा…’ को केही हरफ गाउँदै बाल हिंसाका घटनालाई शून्यमा झर्न सबै माझ् आग्रह गरिन् । कार्यक्रममा भने २२ वर्षीया उर्मिला मञ्चमा आनीसँगै थिइन्, अतिथी वक्ताको रूपमा । युनिसेफकी नेपाल प्रतिनिधि हाना सिङ्गरसँगै बसेर दोस्रो पटक आनीलाई प्रत्यक्ष सुनेकी उर्मिलाले भाषणको क्रममा भनिन्, “आठ वर्ष अगाडि आनीलाई देख्दा मलाई उहाँ जस्तै उदाहरणीय बन्ने रहर लागेको थियो । त्यो वेला म मालिक्नीको भरिया भएर त्यहाँ पुगेकी थिएँ, आज दाङबाट यही कार्यक्रममा बोल्नका लागि निम्त्याइएकी छु । आज मेरो जीवनको सबैभन्दा ठूलो खुशीको दिन भएको छ ।”
दाङकी उर्मिलाले १२ वर्ष कमलरी बनेर राजधानीको शाह र राणा परिवारमा विताइन् । त्यो समय उनका लागि पिंजडामा कुँजिए जस्तो थियो । १ माघ २०६३ मा मुक्त भएकी उनी वितेको सात वर्षमा पूरै फेरिएकी छन् । उनी मुक्त भएपछि आफनै गाउँ गढवा फर्केर कक्षा ५ मा नाम लेखाइन् र अरू कमलरीहरूलाई मुक्त गर्ने सामाजिक अभियानमा लागिन् । ‘कमन फर कमलरी फ्रिडम’ समूह बनाएर सडक नाटक, कचहरीदेखि उद्धार गरिएका कमलरीहरूको आवास र शिक्षाको क्षेत्रमा सक्रिय रहिन् । यसरी कमलरी उद्धार अभियानकी सिपाही बनेकी उनी सन् २०१० मा जर्मन, २०११ म नर्वेको ओस्लो र २०१२ मा नेपालकै ‘गल्र्स एम्बासडर’ बनेर अमेरिकामा नेपाली बालबालिकाको अवस्थाबारे बताउन पुगेकी थिइन् । मुक्त कमलरी विकास मञ्च दाङकी अध्यक्ष उर्मिला एक महीनाअघि काठमाडौंको सिंहदरबार केन्द्रित आन्दोलनमा प्रहरीको लाठीचार्जमा परेर ४८ घण्टा बेहोश भएकी थिइन् ।
पीडादायी बाल्यकाल
काठमाडौंका शाह परिवारले उर्मिलाको अभिभावकको ऋण तिरिदिएर उनलाई काठमाडौं ल्याएका थिए । त्यसवेला उनले मालिकका दुई स्कूले बच्चालाई दैनिक सामाखुसीको कपुरधाराबाट लैनचौरको स्कूल पुरयाउने–ल्याउनेदेखि सानी भएकीले टुलमाथि चढेर चिया पकाउने र भाँडा माझ्नेसम्मको काम गर्नुपथ्र्यो । घर सरसफाईदेखि गाडी धुनेसम्मको काम पनि उनैलाई लगाइन्थ्यो । उनी राति १२ देखि बिहान ४ बजेसम्म मात्र सुत्न पाउँथिन् । मालिक्नीहरू बाहिर जाँदा उर्मिलालाई ताला लगाएर घरमै छोड्थे ।
दुई परिवारमा ८ र ४ वर्ष विताउँदा उनी जम्मा तीन पटक दाङ जान पाइन्, त्यो पनि घरमा एक दिन मात्र बस्ने गरी । १२ वर्ष काम गर्दा उनको हातमा एक पैसा परेन । त्यो अवधिमा उनलाई रमाइलो लागेको दिन भनेको मालिक्नीले कृष्णजन्माष्टमीमा दिनभर सत्संग र २०६२ चैतमा हायात होटलमा लगेको दिन नै हो । त्यो दिन उनले आनीको गीत कण्ठ पारेर त्यसलाई जीवनको मन्त्र बनाइन् ।
आनीको फूलको आँखामा फूलै संसार… गीतबाट उर्मिला यति प्रभावित भइन् कि उनी जहिल्यै त्यही गाइरहन्थिन् । दुई वर्षअघि ‘फूलको आँखामा’ किताब प्रकाशित भएको थाहा पाउनासाथ काठमाडौंबाट मगाएर पढिन् अनि आनीको जीवनकथाबाट अरू प्रभावित भइन् । “मैले हायातको रंगमञ्चमा गाइरहेको देखेकी आनीले त बाल्यकालमा मैले जस्तै चरम पीडा र घरेलु हिंसा पो खेपेकी रहिछन्”, उर्मिला भन्छिन्, “त्यसपछि आनीप्रति अझ सम्मान बढ्यो, आज आनीको आँखामा आँखा जुधाएर बोल्दा जीवनभरकै ठूलो खुशी पाएको महसूस भयो ।”
उर्मिलालाई लाग्छ उनलाई कमलरी समाजले बनाएको हो उनी जन्मँदै कमलरी भएर आएकी हैनन् । त्यसैले आफू जस्तै बाल्यकालमा दुःख–पीडा खेपिरहेका बालबालिकाको मुक्तिका लागि उनले आफनो बाँकी जीवन सुम्पेकी छिन् । चार वर्षअघि नै जर्मन भाषामा उनको आत्मकथा प्रकाशित भएको छ भने उनको बारेमा जर्मनी भाषामा वृत्तचित्र समेत बनिसकेको छ । १६ साउनको कार्यक्रममा उर्मिलाको अनुभवले आनीलाई समेत भावुक बनायो । बाल्यकालमा त्यस्तो पीडा सहेर पनि आज यो रूपमा प्रस्तुत भएकी उर्मिला समाजका धेरै बालबालिकाको प्रेरणाको स्रोत भएको बताइन् । दुःख–पीडा खेपिरहेका बालबालिकाको मुक्तिका लागि फरक क्षेत्रबाट लडिरहेका आनी र उर्मिलाले १६ साउनको कार्यक्रमपछि कुम जोडेर तस्वीर खिचे । उर्मिलाले आनीसँग बसेको भिडियो समेत खिचाइन्, आफनो मोबाइलबाट । फरक परिवेशमा काम गरिरहेका यी दुई सिपाहीको सफलताले नेपाली समाजलाई सुन्दर बनाउनेछ ।