अन्तर्वार्ता/विचारआइतबार, साउन २०, २०७०
‘१०० डिग्री तताएपछि वर्डफ्लू भाइरस मर्छ’
१७ साउनमा सरकारले काठमाडौं, भक्तपुर र ललितपुरमा जीवित पक्षीको ओसारपसारमा एक साता रोक लगाएको विषयमा पशु सेवा विभागका निमित्त महानिर्देशक डा. रामकृष्ण खतिवडा भन्छन्, “वर्डफ्लूको समस्या बढ्ने खतराले यो निर्णय लिनु परेको हो ।”
कुखुरा बिक्री–वितरणमा रोक लगाउने निर्णय किन गर्नुपर्यो ?
काठमाडौंमा वर्डफ्लू संक्रमणको घटना बढेकाले रोक लगाइएको हो । एक ठाउँबाट अर्को ठाउँमा संक्रमण नफैलियोस् भनेर जीवित पक्षीको ओसारपसारमा रोक लगाइएको छ ।
सात दिन बिक्री–वितरण रोक्दैमा वर्डफ्लू नियन्त्रण होला र ?
भाइरस नियन्त्रण गर्न तीन हप्ता रोक लगाउनुपर्ने हो । तर उपत्यकामा अहिलेसम्म २५–३० ठाउँमा मात्र संक्रमण देखिएको छ । ओसारपसारमा रोक लगाएपछि समस्या पहिचान हुन्छ र नियन्त्रण गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
अहिले वर्डफ्लूको समस्या हाम्रो मुलुकमा कुन स्तरमा पुगेको छ ?
यो चीन, भियतनाम लगायत धेरै देशको समस्या हो । यो रोगले अहिलेसम्म हाम्रोमा ज्यान नलिए पनि संक्रमण बढ्दो छ । पहिले जाडोमा मात्रै देखिने यो रोग यस पटक गर्मीमा पनि देखियो ।
वर्डफ्लू लागेको कुखुरा खानै नहुने कि हो पकाएर खाँदा हुन्छ ?
रोग लागेको कुनै पनि चीज खानु भन्ने सल्लाह कसैले दिन मिल्दैन । तर, यो रोग लगाउने एभियन एन्फ्लुएञ्जा भाइरस १०० डिग्री तताएपछि मर्छ । राम्रोसँग पाकेको मासु खानेलाई भन्दा कुखुराका फर्ममा काम गर्ने, मासु काट्ने र उपचार गर्नेलाई यो रोग लाग्ने संभावना बढी हुन्छ ।
वर्डफ्लू लागेको मानिसलाई कस्तो समस्या देखिन्छ र नियन्त्रणका लागि के गर्नुपर्छ ?
मान्छेलाई लाग्ने रोगको विषयमा डाक्टरहरूलाई बढी थाहा हुन्छ । हाम्रो अनुभवमा एन्फ्लुएञ्जा हुने भएकाले रुघाखोकी, ज्वरो, र्याल, सिंगान आउन थाल्छ । यसबाट बँच्न संक्रमण देखिएको पक्षीलाई पुर्नुपर्छ । वर्डफ्लू देखिएका पक्षी र उसको मासु ओसारपसार गर्नुहुँदैन ।
२० साउनको साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
