ब्लगबुधबार, साउन २३, २०७०

‘लिभिङ टुगेदर’ विचार पुर्‍याऔं

tara

लिभिङ टुगेदरलाई कानूनी मान्यता दिने व्यवस्थाका लागि राष्ट्रिय महिला आयोगले घरेलु हिंसा ऐन २०६६ संशोधन गर्न सुझाएको खबर प्रकाशमा आएको छ।

यसबारे आएका मिश्रित प्रतिक्रियामा नकारात्मक हावी देखिएको छ। यसबारे कुरा गर्दा साथीसँगी र आफन्तमध्ये अधिकांशले यसको अर्थ थाहा नभएको बताए।

साथै विवाहपूर्व महिला–पुरुष श्रीमान्–श्रीमतीको रूपमा बस्ने चलनबारे अनुमानसम्म पनि नभएको स्वीकारे कतिपयले। जानकारी भएका अधिकांशले चाहिं विपक्षमा वकालत गरे। सन् २००९ तिरको कुरा हो, जेठो छोरो सिद्धार्थको ग्य्राजुएसनको दीक्षान्त समारोहमा सरिक हुन अमेरिका पुगेका वेला पहिलो पटक मैले लिभिङ टुगेदरको जीवनशैली देखें।

नेपालका धेरै विद्यार्थी लामो समयदेखि त्यहाँ एउटै अपार्टमेण्टमा फरक जातका नेपाली र केही विदेशीसँग जीवनसँगी झैं बस्दै आएका थिए। त्यस्तो जीवनशैली देख्दा न अनौठो लाग्यो, न त त्यस सम्बन्धमा कुनै विकृति नै महसूस गरें। नेपालमा अभिभावकको कमाइमा रजाइँ गरेर, आमाले पकाएको खानामा अनेक खोट लगाएर, साथीभाइसित मोजमस्तीमा डुलेर खान पल्केका युवा–युवतीहरू त्यहाँ एउटै अपार्टमेन्टमा एकजोडी/दुईजोडी मिलेर बसेका छन्।

रात–दिन काम गरेर पढाइ खर्च जुटाउँदै दुःख–सुखसाथ बाँचेका छन् त त्यसमा के खराबी भयोे? घर–परिवार, आमाबुबा, साथीसँगी, सबैबाट टाढा बस्दा हुनसक्ने होमसिक, डिप्रेसन, कुलत आदिबाट मुक्त हुन सहयोग हुने यस सम्बन्ध भित्र तीन साताको बसाइमा मैले कुनै खोट भेट्टाइनँ। पश्चिमा मुलुकमा लिभिङ टुगेदरको जीवनशैली सन् १९६० देखि बाक्लिन थालेको पाइन्छ।

अमेरिकामा सन् १९७० मा लिभिङ टुगेदरले कानूनी मान्यता पाएपछि यसको प्रचलन क्रमशः बढेको हो। म अमेरिका पुग्दा लिभिङ टुगेदर सामान्य कुरा भइसकेको थियो। जतिवेला करीब दुईतिहाइभन्दा बढी विवाहित जोडी विवाहपूर्व स्थायी रूपले सँगै बस्ने भइसकेका थिए। ल्याटिन अमेरिकामा त ५५ देखि ७४ प्रतिशत बच्चा आमाको विवाहपूर्व जन्मिसकेका हुन्थे।

यस्ता प्रसंगले पनि हुन सक्छ, अमेरिकामा नेपालीको लिभिङ टुगेदरको जीवनशैली खासै असहज लागेन। तर नेपाल, अमेरिका र यूरोप होइन। यहाँको धर्म, संस्कृति र परम्पराले विवाहपूर्व केटा–केटीको सहवास वर्जित ठान्छ। अझै पनि अधिकांशको विवाह आमाबुबाको रोजाइ र सहमतिमै हुन्छ।

विवाहपूर्व पुरुषले जति स्त्रीसँग प्रेम तथा यौन सम्पर्क राखेर हिंडे पनि केटासँग सहवास गर्ने नारीलाई खराब चरित्रको पंक्तिमा राख्ने प्रवृत्तिले अझै पनि अधिकांश नेपाली घरमा भित्रिने बुहारी तथा श्रीमती कुमारी हुनुपर्ने मान्यता राख्छन्। यो वास्तविक परिस्थितिमा हामीकहाँ लिभिङ टुगेदर जीवनशैली कतिसम्म सफल र सम्भव होला?

विदेशतिर महङ्गो घरभाडा, विवाहको झन्झट, विवाह तथा पारपाचुकेमा लाग्ने खर्च आदिबाट उन्मुक्ति पाउन र आफूले मन पराएको व्यक्तिलाई राम्ररी बुझन–जान्न लिभिङ टुगेदरको जीवनशैली अपनाउने गरिन्छ। हुन त यहाँ पनि जन्मभूमि छोडेर उच्चशिक्षा हासिल गर्न, सुन्दर भविष्य र नोकरीको खोजीमा ठूल्ठूला शहरमा भित्रिने शिक्षित वर्गको उद्देश्य पनि योभन्दा खासै भिन्न हुँदैन।

तर कामको खोजीमा आउने अधिकांश गरीब, अशिक्षित युवाको कथा अलि बेग्लै हुन्छ। जो पैसा बचत गर्न, घरभाडा पाउन र यौन इच्छा पूरा गर्न लिभिङ टुगेदर जीवनशैली अपनाइरहेका हुन्छन्। अधिकांश त्यस्ता सम्बन्धमा आपसी समझ्दारीभन्दा बढी घरेलु हिंसा, र यौन शोषण बढी हुन्छ। यसैको परिणाम हो, केही समयअघि सञ्चारमाध्यममा एकजना पुरुषले सँगै बस्दै आएकी साथी गर्भवती भएपछि हत्या गरी बोरामा पोको पारेर फालेको खबर आउनु।

अन्तमा, राष्ट्रिय महिला आयोगले महिलालाई हिंसाबाट बचाउनका लागि लिभिङ टुगेदरलाई कानूनी मान्यता दिने व्यवस्था सुझाएको हुन सक्छ। तर हामीकहाँ हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने परम्परा छ। आयोगको निर्णयमा कुनै त्रुटि नहुने कामना सहित दरिलो कानून बनाउनेतर्फ सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहन्छु।

२० साउनको साप्ताहिक खबरपत्रिका हिमालबाट ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...