टिप्पणीआइतबार, जेठ ३०, २०७३

अब माफी माग्ने कि ?

दिनकर नेपाल

साप्ताहिक खबर पत्रिका हिमालमा दुई वर्षअघि साउन, २०७० मा प्रकाशित यो लेख अहिले पनि सान्दर्भिक भएकोले पुन: प्रकाशित गरेका छौं ।
कथित दलित अल्पमतमा रहेको नेपाली समाजमा उच्च जातीय मानसिकता विद्यमान छ ।

मोरङको बेलबारीमा भएको घटनाले निकै चर्चा पायो, गएको हप्ता । शुरूमा केही स्थानीय पत्रकारले सामाजिक सञ्जाल फेसबूक र ब्लगहरूमा मान्छेको भीडले एउटी महिलालाई हातपात गर्दै कालोमोसो दलेको र जुत्ताको माला लगाइदिएको फोटो सहित समाचार प्रवाह गरे ।

फेसबूक र ट्वीटरमा निकै चर्चा चलेपछि मूलधारका मिडियाले पनि यो विषयलाई महत्व दिए । दलित महिलाले उच्च जातिका पुरुषलाई बलात्कारको आरोप लगाएर प्रहरीमा दिएको उजुरी झूटो सावित भएपछि यो घटना भएको रहेछ ।

यो घटनाबाट नेपाली समाजमा अझैसम्म व्याप्त उँच–नीचको भावना, भेदभाव र उच्च जातीय अहं छताछुल्ल भएको छ । कानूनले छुवाछूत अन्त्य गरेर जातीय भेदभावलाई अपराध मान्दैमा समाज सङ्लो नबन्दो रहेछ । शताब्दीयौंदेखिको यो रोग विरुद्धको संघर्ष सजिलो छैन ।

२५ सय वर्ष अगाडि बुद्धले पनि यसको विरोध गरेकै हुन् । महात्मा गान्धीले पनि आफ्नो जीवनकालमा अनेक रणनीति अपनाएर यसको विरोध गरे । कथित तल्लो जातिलाई ‘हरिजन’ भनेर समाजको दृष्टिकोण फेर्न चाहन्थे गान्धी । तर, उल्टो सो संज्ञा नै पछि ‘तल्लो जाति’को पर्याय बन्न पुग्यो । ग्रामीण भारतमा छुवाछूत प्रथा अझै बलियो छ ।

उच्च जातीय अहं
नेपालमा दलित वर्गको हितमा दरिलो आवाज र बलियो नेतृत्व अझै उठ्न सकेको छैन । दलित संघ–संस्थाहरूमा एकता छैन, दलहरूसँग जोडिएका संगठनहरू दलका सुगा भइहाले । कुनै दलित संघसंस्था दलित आन्दोलनको आगोलाई हावा दिने ‘आरन’ बन्न सकेको छैन । दलितहरू देशभरि छरिएर रहेकाले उनीहरू संगठित हुने संभावना पनि छैन ।

मैले यस खाले ऐतिहासिक अन्यायको लागि केही प्रतिनिधि व्यक्तित्वद्वारा माफी मागिनुपर्छ र यस्ता घटनाहरू दोहोरिन नदिने वाचा गरिनुपर्छ भन्ने प्रस्ताव राख्दा एउटा स्व–घोषित समावेशी दलका युवा नेताले सम्पूर्ण दोष राज्य, सरकार र ‘सिस्टम’माथि थोपरे । उनले समाजका अगुवाहरूले माफी माग्ने कुरामा चर्को आपत्ति जनाए ।

द्वन्द्वपछिको नेपाल साम्प्रदायिक रूपमा कति विभाजित छ र यसलाई मिलाउन कति गाह्रो हुनेछ भन्ने कुरा बेलबारी घटना र यसका लागि माफी मागिनुपर्ने प्रस्तावमा उच्च जातका युवा नेताको प्रतिक्रियाले प्रष्ट पार्छ । साथै, समतामूलक समाजका लागि आवश्यक भावनात्मक एकीकरण अझै टाढा छ भन्ने देखाउँछ ।

नीतिगत सुधार, सामेलीपनाको संवैधानिक ढाँचा–संरचना र ती सिद्धान्तलाई थेग्न सक्ने प्रशासनिक व्यवस्थाको आवश्यकता आफ्नो ठाउँमा छ, तर सबभन्दा पहिला कथित उच्च जाति भनिएकाले आत्मसात् गर्नैपर्छ– युगौंदेखि धर्म, कर्म वा पुनर्जन्मको नाममा हामीले अन्याय गरेकै हौं । हामी पढे–लेखेका भनाउँदाहरू पनि व्यक्तिगत रूपमा कि आफैं‌ यस्ता घटनामा संलग्न छौं कि त आफन्तद्वारा भए/गरिएका भेदभाव नदेखे जस्तो गरेका छौं ।

शहरी परिवेशमा प्रत्यक्ष संलग्न नभए पनि अप्रत्यक्ष रूपमा यो व्यवस्थाबाट हामीले फाइदा लिएकै हो । र, त्यसलाई बदल्ने प्रयासमा हामी खासै पहल गर्न चाहँदैनौं । बेलबारी घटनामा दलका युवा नेताले साँधेको मौनताले पनि त्यही पुष्टि गरेको छ । हामी उच्च जाति भनिनेहरूले जुन धर्मको नाममा युगौंदेखि यो अन्यायको सिलसिला जारी राख्यौं, त्यही धर्ममा विश्वकर्मा र वाल्मीकिको उच्च स्थानले भन्न खोजेको कुरा आत्मसात् गरेनौं । तर अब भने माफी माग्नैपर्ने भइसकेको छ ।

गाउँ–टोलमा नेता–प्रतिनिधि बनेर डुल्ने कथित उच्च जातिका महानुभावहरूलाई अनुरोध– तपाईंका गाउँ–टोलमा दलितलाई होटल खोल्न सघाउनुस् र आफैं त्यहाँ गएर खान थाल्नुहोस् । अनि तपाईं अग्रगामी–परिवर्तनकारी बन्नुहुनेछ । नत्र, युवा पुस्ताका लागि तपाईं तिरस्कार र विस्थापन लायक पात्र बन्नुहुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...