रमझमशनिबार, साउन २६, २०७०

केश काट्ने केटी

हिमालखबर

उमेर ढल्किएका बाबुआमाबाट दुई दाजु र तीन दिदी पछि जन्मिएकी रमा कठरिया (१९) को बाल्यकाल दुःखैमा बित्यो । किशोरकालमा गरेको संघर्षले अहिले उनलाई ७५ वर्षीया ललितादेवी र ७१ वर्षका बुबा लौटन कठरियाको भरपर्दो सहारा बनाएको छ । अनि अभिभावकलाई समेत भरथेग गर्ने रमाको इलम भएको छ– कपाल काट्ने सीप ।

“कपाल काट्ने तालीममा म मात्र केटी थिएँ”, कैलालीको मनुवा–२ कञ्चनपुरकी रमा भन्छिन्, “तर, मैले जसरी पनि तालीम सकेर पेशा बनाउने सोच बनाएकीले सफल भएँ ।” रमाका दाजु र दिदीहरूको बिहे भएर सबैले घर छाडिसके ।

घर–आँगन बाहेक जग्गा–जमीन नभएका वृद्ध आमाबुबाले रमालाई ६ कक्षाभन्दा माथि पढाउन सकेनन् । बाबुआमालाई पाल्न स्कूल छाडेर केही काम नगरी नहुने अवस्था आएपछि कृषि मजदूरी गर्दागर्दै कपाल काट्ने तालीम लिएको उनी बताउँछिन् ।

“ब्यूटिसिएनको तालीम लिएँ, गाउँघरमा कामै लागेन”, रमा भन्छिन्, “त्यसपछि सिलाइ–कटाइको तालीम लिएँ, तर पसल राख्ने पैसा भएन । आखिरमा छोटो समयको कपाल काट्ने तालीम काम लाग्यो ।”

दुई वर्षअघि टीकापुर नगरपालिका–८ विजयनगरमा रमाले झुण्ड्याएको ‘शैलेश हेयर कटिङ्ग सेन्टर एण्ड ब्यूटीपार्लर’को बोर्डमुनि अहिले कपाल काट्नेहरू पालो कुरेर बसेका हुन्छन् । बाध्यता र अनुभवले सिपालु भइसकेकी उनी कपाल काटेको रु.४० र सेभिङ्ग गरेको रु.२५ लिन्छिन् ।

उनको शैलून बिहान ८ देखि साँझ ७ बजेसम्म खुल्छ । अब त शैलूनलाई नियमित ग्राहकले मात्र पनि पुग्ने भइसकेको छ । उनको नामै ‘केश काट्ने केटी’ भएको छ । अब आफ्नो जीवनभरिको पेशा नै यही हुने उनले बताइन् ।
बच्चु विक, कञ्चनपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>