रमझमसोमबार, आषाढ ४, २०६९
अपांगता भएका दिदी–बहिनीलाई जिरेखुर्सानीको एक लाख
सदरमुकाम कुस्माबाट ५ घण्टाको बसयात्रापछि पुगिने रानीपानीका बलबहादुर–कौशिला परियार दम्पत्तिका ५ छोरी मिठु (१९) मञ्जु (१७) जम्लेहा गंगा–जमुना (११) अनिता (८) सबैको हातखुट्टा चल्दैन । बलबहादुरका अनुसार, उनीहरुको उपचार नहुने चिकित्सकहरुले बताएका छन् । दैवले ठगेका यी ५ बहिनीमध्ये ४ जना उठेर बस्नसमेत सक्दैनन् । बलबहादुर र कौशिलाका १ छोरा भने सवलांग छन् ।
यी अपांग बालबालिकालाई सहयोग गर्न जिरेखुर्सानीका शिवहरि पौडेल, किरण केसी, जितु नेपाल, राजाराम पौडेल, मनोज आचार्य, शिवहरि वैरागी, देवीराम पराजुली, सविता गुरुङ, मुकुन्द आचार्य, हिमा कोइराला, निरज नेपाल रानीपानी पुगेका थिए । टोलीमा छायाँकार मनराज श्रेष्ठ, सम्पादक रविन भट्टलगायत दुई दर्जन सहभागी थिए । जिरेखुर्सानीले ३०० भाग पूरा गर्दा काठमाडौं जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा सांस्कृतिक कार्यक्रम र जलपान आयोजना गरेको थियो।
समसामयिक विषयवस्तुमाथि तिखो व्यंग्य गर्दै दर्शकमाझ लोकप्रिय जिरेखुर्सानी पछिल्लो समयमा सर्वाधिक हेरिने टेलिभिजन सिरियलमा पर्छ । कला क्षेत्रले मनोरञ्जनसंगै समाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्छ भनेर सेवाको क्षेत्रमा ध्यान दिएको अभिनेता जितु नेपालले बताए ।
सबै तस्बीर:ऋषिराम कट्टेल