टिप्पणीआइतबार, साउन २७, २०७०
भाग्ने या भूमिका खेल्ने ?
जीवित र क्रियाशील राजनीतिक दलले आफ्नो अस्तित्वको औचित्य व्यवहारद्वारा सिद्ध गर्न सक्नुपर्दछ । कागज र अभिव्यक्तिमा सीमित सिद्धान्त, नीति र राम्रा भनाइहरू काममा रूपान्तरित नहुँदासम्म कुनै अर्थ हुँदैन । उग्रता र जडता राजनीतिमा देखापर्ने त्यस्ता रोग हुन्, जसले शुद्धताको नाममा राजनीतिक दलको गतिशीलता, परिस्थितिलाई बुझने क्षमता र भूमिका खेल्ने अवसरलाई अवरुद्ध पार्छन् ।
नेपालको राजनीतिमा मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेकपा–माओवादी त्यही चिन्तनको बन्दी बनेर तात्कालिक राजनीतिक दायित्व पूरा गर्ने भूमिकाबाट आफूलाई वञ्चित तुल्याउँदैछ ।
समानतामा आधारित शोषणरहित समाजको स्थापना गर्न जीवनलाई पार्टीमा समर्पित गर्ने आदर्शवान, समर्पित र क्रियाशील कार्यकर्ताहरूको कमी नेपालको कम्युनिष्ट आन्दोलनमा कहिल्यै रहेन । यस्ता समर्पित कार्यकर्ताहरूकै कारण आज नेपालमा वामपन्थी दलहरू राजनीतिको निर्णायक भूमिकामा पुगेका हुन् ।
समर्पित र क्रियाशील कार्यकर्ताहरूको देशव्यापी संगठन र सञ्जाल भएको एउटा दल माओवादी पनि हो । तर आफ्नो संगठन र केही शक्ति हुँदाहुँदै पनि उसले तत्कालीन राजनीतिमा सार्थक र प्रभावकारी भूमिका त टाढा, सकारात्मक भूमिकासम्म खेल्न सकेको छैन ।
आज त्यसै पनि राजनीतिक दलहरूप्रति जनतामा चर्को आलोचना छ । यतिवेला जनताको चाहना राजनीतिक स्थिरता, शान्ति, सद्भाव, एकता र आर्थिक विकास हो । छिटोभन्दा छिटो स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन होस्, संविधानसभाबाट संविधान बनोस् र देश राजनीतिक स्थिरताको बाटोमा लम्कियोस् भन्ने भावना सबैमा छ ।
माओवादी भने आम जनताको यो भावना विरुद्ध उभिन पुगेको छ । आफूले भने जस्तो नभए बल प्रयोग गरेर भए पनि संविधानसभाको निर्वाचन बिथोल्छु भन्छ, ऊ । दश/बाह्र वर्षको हिंसात्मक द्वन्द्वबाट देश थिलथिलो भएकोले जनता थकित छन्, शान्ति, सद्भाव र आपसी विश्वास खलबलिएको छ ।
जनता यस्तो अवस्थाबाट छिटो मुक्ति चाहन्छन् तर माओवादी जनविद्रोहको कुरा गर्छ । यसरी, निर्वाचन भाँड्न खोज्ने राजनीतिक खलनायकका रूपमा माओवादीलाई नेपाली जनताको बीचमा चित्रित गरेर आफूलाई लोकतन्त्र र निर्वाचनको घनघोर पक्षधर देखाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रणनीतिलाई प्रकारान्तरमा माओवादीकै अदूरदर्शी नीति र उग्र व्यवहारले सहयोग पुर्याइरहेको छ ।
वास्तवमा माओवादीले राष्ट्रिय राजनीतिमा नपाएर हैन नचाहेर र नजानेर उपयुक्त भूमिका खेल्न नसकेको हो । मित्र शक्ति चिन्न नसक्ने, आफ्नो भूमिका पहिल्याउन नसक्ने, शक्तिको ठीक मूल्यांकन गरेर आफ्ना लागि उपयुक्त भूमिका नखोज्ने र तात्कालिक राजनीतिमा सही नीति र व्यवहार नलिने हो भने माओवादी नेपालको राजनीतिमा एउटा शक्ति बन्न सक्दैन ।
माओवादी र त्यसका नेताहरू वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, देव गुरुङ र नेत्रविक्रम चन्दहरूको अघि अहिले अवसर र चुनौती दुवै छन् । निर्वाचनमा भाग नलिने, निर्वाचित हुन आँट नगर्ने, निर्वाचन मार्फत जनताले दिएको दायित्व लिन अघि नसर्ने तर एकोहोरो र अव्यावहारिक रूपमा क्रान्ति, बहिष्कार र विद्रोहको कुरा मात्रै गरिरहने सजिलो तर सारमा पलायनवादी बाटोमा हिंडिरहने या लोकतान्त्रिक बाटोमा हिंड्दै व्यवहारबाटै क्रान्तिकारी, देशभक्त र जनताप्रति उत्तरदायी सावित गर्ने ?
आज नेपालको आन्तरिक राजनीतिमा राष्ट्रवादी शक्तिहरू कमजोर हुन थालेका छन् र हाम्रा आन्तरिक मामलामा विदेशी शक्तिहरूको अवाञ्छित रुचि र हस्तक्षेप बढ्दो छ । यस्तो हस्तक्षेपलाई रोक्ने हो भने नेपालका देशभक्त राजनीतिक दल र शक्तिहरू एकैठाउँ उभिन जरूरी छ । देशभक्त शक्तिहरू लोकतान्त्रिक भएनन् भने तिनकै गतिविधि र आन्दोलनलाई कारण देखाएर विदेशी शक्तिहरूले हस्तक्षेप बढाउँछन् भन्ने सबैभन्दा ताजा प्रमाण माओवादी ‘जनयुद्ध’मार्फत भएका विदेशी खेल र हस्तक्षेपले नै दिन्छन् ।
‘जनयुद्ध’ कसरी विदेशी हस्तक्षेप निम्त्याउने आधार बन्न पुग्यो भनेर प्रत्यक्ष देखे–भोगेका वैद्य र उहाँका सहकर्मीहरूले देशलाई फेरि द्वन्द्व र विदेशी हस्तक्षेपको बाटोमा जान नदिने हो भने ‘जनयुद्धको जगमा आधारित जनविद्रोह’ हैन, शान्तिपूर्ण ढंगले लोकशक्तिको मत, संगठन र आधारलाई स्वीकार गर्नुपर्दछ । आजको युगमा लोकशक्तिको शान्तिपूर्ण विद्रोहबाट भएका र भइरहेका ठूलाठूला परिवर्तन र क्रान्तिलाई आत्मसात् गर्न सक्नुपर्दछ ।
आजको राजनीति जनताको बीचमा रहेर जनताको लागि गर्नुपर्दछ, जनताबाट भागेर जंगलको बीचमा पुगेर हैन । त्यसैले संविधानसभाको निर्वाचनबाट भाग्ने हैन त्यसमा सहभागी भएर आफ्नो भूमिका राष्ट्रिय राजनीतिमा स्थापित गर्ने बाटो माओवादीले लिनुपर्दछ ।
साप्ताहिक हिमाल खबरपत्रिकाबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
