रमझमसोमबार, साउन २८, २०७०
युवा दिवस– दश युवा सम्मानित
१४ औ अन्तराष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले १० जना युवा तथा युवा सम्बद्ध संस्थाहरुलाई १ लाख नगद सहितको युवा प्रतिभा पुरस्कारबाट सम्मान गरेका छन् ।
युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत तथा सम्मानित हुनेहरुमा साहित्यकार झमककुमारी घिमिरे (धनकुटा), समाजसेवी राधा पौडेल (चितवन), पर्यटकीय पथप्रदर्शक तथा गोरखापत्र दैनिकका सञ्चारकर्मी सञ्जोग आचार्य र देवप्रकाश सापकोटा (आधुनिक कृषि व्यवसायी) छन् । त्यसैगरी, विभिन्न युवालाई पुरस्कृत गरी प्रोत्साहन गरेको भन्दै राष्ट्रिय युवा कोष, बबरमहललाई पनि पुरस्कृत गरिएको छ ।
त्यस्तै, खेलकुद प्रतिभा पुरस्कारद्वारा पुरस्कृत तथा सम्मानित हुने खेलाडीमा क्रिकेटका पारस खड्का, कराँतेका सुनिल लामा, फुटबलकी जमुना गुरुङ, उसुकी चाहना बम्जन र उत्कृष्ट खेल सङ्घमा नेपाल भलिबल सङ्घ छन् । पुरस्कृत खेलाडी तथा सङ्घलाई सम्मानपत्रका साथै जनही रु एक लाख पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पर्याप्त रोजगारीको सिर्जना नहुँदा तथा आप्रवासनलाई व्यवस्थित गर्न नसक्दा देशका शिक्षित युवाहरु विदेशिने गरेको बताए । उनले विदेशमा रहेका नेपाली ठगिने, लुटिन, शोषित हुने, र मृत्युवरण गर्नुपर्नेजस्ता समस्या रहेको, विप्रेषण अस्थायी आम्दानी भएको भन्दै स्वदेशमै रोजगारीको सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
देवकी बिष्ट