रिपोर्टशनिबार, भाद्र १, २०७०

फेरिए ‘भूतघर’

हिमालखबर


– डम्बरकृष्ण श्रेष्ठ

एक दशकअघि घरधनी अमेरिका गएर खाली भएपछि 'भूतघर' भन्न थालिएको ज्ञानेश्वरको दुईतले घर।

गत वर्ष भूतले दिउँसै मानिस पिट्यो भनेर चर्चामा आएको काठमाडौं न्यूरोडको रञ्जनागल्लीमा रहेको ‘भूतघर’ गत वैशाखदेखि जुत्ताघर बनेको छ। नेपालमा निर्मित १० वटा ब्राण्डका जुत्ता कम्पनी मिलेर बनेको नेपाली जुत्ताघर प्रालिले पाँचतले सो घर १० वर्षका लागि सम्झौता गरेर भाडामा लिएको छ।

हल्लाको मारमाः ललितपुरको मंगलबजारमा 'भूतघर' को रुपमा चर्चित भवन, जहाँ एकपछि अर्को व्यावसायिक फर्म थपिंदै छन्।

कीर्तिपुरमा टेलिकम कार्यालय पछाडि नगाउँ चोक नजिकै रहेको अर्को चर्चित भूतघर पनि सहकारी भवनमा परिणत हुँदैछ। २० वर्षअघि गलैंचा कारखाना रहेको यो पाँचतले घर गलैंचा उद्योग सुस्ताएपछि लामो समय खाली रह्यो। रात परेपछि भूतले तर्साउने भनिएको यो घरको भुईंतलामा तीन वर्षदेखि कीर्तिपुर अस्पतालको सामान राखिएको छ भने बाँकी चार तलामा सहकारीले अहिले रंग लगाउँदैछ।

ललितपुर मंगलबजारको प्रहरी चौकीबाट ग्वार्को जाने बाटोमा रहेको पाँचतले पक्की घरको भुईं तला बाहेक अरू खाली छ। तीन दशकदेखि भूतघर भनेर चर्चित धर्मरत्न शाक्यको यो घरमा भूतले उपद्रो मच्चाउने गरेको हल्ला चले पनि भुईंतलामा कम्प्युटर पसल चलाएका शाक्यका भाञ्जा हेमन्त शाक्य भूत नरहेको बताउँदै माथिल्लो तलामा पनि ‘मनी ट्रान्सफर’ खोल्न लागेको बताउँछन्।

हल्ला कारण
न्यूरोडको जुत्ताघरकी घरधनी संगीता मास्के भूतको हल्लालाई केही पत्रिका र अनलाइनले समाचार बनाउँदा आफ्नो घरमा कोही बस्न नआएको बताउँछिन्। कुलेश्वरमा रहेको अर्को घरमा बस्ने उनीहरूले न्यूरोडको सो घर बेच्न नमान्दा किन्न खोज्नेहरूले नै भूतको चर्चा चलाएको उनको आशंका छ। थोरै जमीनमा बनेको सो घरको भुईंतलाको सटरमा भूतको हल्ला चल्नुअघि थोक पसल थियो भने माथिल्लो तलालाई उसैले गोदाम बनाएको थियो।

जुत्ताघरका सञ्चालकमध्येका नवराज गौतमले भूतमा विश्वास

फेरियो स्वरुपः 'भूतघर'का रुपमा चर्चित काठमाडौं न्यूरोडको रञ्जनागल्लीमा रहेको पाँचतले घरमा अहिले जुत्ताको राम्रो कारोबार भइरहेको छ ।

नगर्ने भएकाले ‘भूतघर’ मा आफूहरूले पसल खोलेको बताए। पसलका लागि कोठा पाउन मुश्किल न्यूरोडमा सजिलै कोठा पाउनुमा भूतको हल्ला नै कारण रहेको बताउँदै उनले भने “तीन महीनादेखि बिहान ६ देखि राति ९ बजेसम्म पसल खोले पनि भूतले अहिलेसम्म सताएको छैन।” पसल शुरू गर्ने बेला राति १ बजेसम्म त्यहाँ बस्दा पनि केही नभएकाले उत्साहित बनेका उनी मुख्य चोकमा भए अरू भूतघरमा पनि पसल खोल्न तयार रहेको बताउँछन्।

मानवशास्त्री सुरेश ढकाल चाहिं भूत–प्रेतको चर्चाले यूरोप र अमेरिका जस्ता विकसित समाजलाई प्रभावित पारे पनि राजधानीमै चलेको भूतघरको हल्लाको वास्तविकता पत्ता लगाउन सरकार, स्थानीय प्रशासन र नागरिक समाज कोही अघि नसर्नु आश्चर्य भएको बताउँछन्। रहस्यको पछि लाग्ने अधिकांश मानिसको प्रवृत्ति रहेकाले भूतको चर्चा चल्ने गरेको बताउँदै ढकाल भन्छन्, “अनुसन्धान र खोजबिन नगरी हल्लाको पछि लागेकाले यस्ता हल्ला बढेका हुन्।”

खोजबिन आवश्यक

कसैले खोजबिन नगर्दा काठमाडौंको बागबजारबाट पुतलीसडक जाने बाटोमा देव्रेतर्फ रहेको पुरानो तीनतले घर डेढ दशकदेखि ‘भूतघर’ भनेर खाली छ। त्यसअघि त्यहाँ ‘स्नो लाइन होटल’ थियो। ज्ञानेश्वरबाट डिल्लीबजार पीपलबोट जाने शाखा बाटोको मुखैमा रहेको चाइनिज ईंटाको दुईतले घर भने घरधनी एक दशकअघि अमेरिका गएर खाली भएपछि भूतघर भन्न थालियो। सो घर रहेको जमीनमा पारिवारिक किचलो छ।

काठमाडौं, ललितपुर, कीर्तिपुर र भक्तपुरमा भूतघरको हल्लाले कैयौं घर खाली छन् भने खाली रहेकै कारण कैयौंलाई भूतघर

कीर्तिपुरको नगाउँ चोक नजिकै रहेको चर्चित 'भूतघर' सहकारी भवनमा परिणत हुँदैछ।

भनिएको छ। ‘अदृश्य शक्तिको बास भएको, घरमुनि गाडिएको मान्छेको आत्मा जागेको, कालो छायाँ आउने र सुतेकै ठाउँमा मान्छेलाई घिस्याउने’ जस्ता कैयौं हल्ला ती भूतघरसँग जोडिएको पाइन्छ।

पाटन मंगलबजारको अहिले आवाद हुँदै गरेको घरसँग पनि ‘भूत’ का यस्तै किस्साहरू जोडिएका छन्। नजिकैको घरमा बस्ने सुनचाँदीका कारीगर सुव्रतो पात्रो (२५) सो घरमा मध्यरातमा मान्छे हिंडेको आवाज सुनिने गरेको बताउँछन् भने सूर्यमान महर्जन (५९) ले सो घरमा बस्नेहरूले तर्सायो भनेर आफूसँग भनेको बताए।

भूतको हल्ला चले पनि सो घरमा तीन वर्ष लुम्बिनी फाइनान्सको कार्यालय थियो भने फाइनान्स सरेपछि स्टार डान्स सेन्टर बस्यो। ‘भूत’ को हल्लाले विद्यार्थी नआएपछि डान्स सेन्टर सरेको त्यहाँ पसल गर्ने हेमन्त बताउँछन्। सुनचाँदी व्यवसायी रहेका घरधनी शाक्यको काठमाडौंका विभिन्न ठाउँ र तिब्बतको ल्हासामा पनि घर रहेकाले सो घर भाडामा लगाउन उनले चासो नदिंदा भूतघरको हल्ला अरू बढेको हेमन्तले बताए।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>