Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
डर ‘बाइप्रोडक्ट’को - Himalkhabar.com

रिपोर्टआइतबार, भाद्र २, २०७०

डर ‘बाइप्रोडक्ट’को

हिमालखबर

-सन्त गाहा मगर

उच्चस्तरीय राजनीतिक समिति खारेजीको माग गर्दै नेकपा-माओवादीले गरेको यातायात बन्दका क्रममा मध्यपुर थिमीमा प्रदर्शनकारी ।

‘नेकपा–माओवादीको गलत सोचको कारण देशभक्तको नाममा प्रायोजित रूपले मोर्चामा राजावादीहरूको प्रवेश र विषयगत अर्थात् राष्ट्रिय स्वाधीनताको नाममा पूर्वराजा तथा तिनका मतियारहरूसँग सहकार्य’ गरेको भन्दै मातृका यादव नेतृत्वको नेकपा (माओवादी) २७ साउनमा मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाबाट अलग भयो ।

अहिले एउटै मोर्चामा समेत बस्न नसकेका वैद्य र यादव हिंसात्मक विद्रोहताका तत्कालीन नेकपा माओवादीमा थिए । यादव यस्तै आरोप लगाउँदै केही वर्षअघि पुष्पकमल दाहाल र वैद्य रहेको एमाओवादीबाट अलग भएका थिए भने ४ असार २०६९ मा दाहालसँग अलग हुँदा वैद्यले पनि राजनीतिक र सैद्धान्तिक भिन्नता नै राखेका थिए ।

पूर्व माओवादीका दर्जन पार्टी
युद्धकालीन माओवादी, शान्तिकालमा बनेको एमाओवादी र ऊबाट फुटेको वैद्य माओवादीबाट विभाजित भएर बनेका दर्जनभन्दा धेरै पार्टीहरू अहिले अस्तित्वमा छन् । तिनीहरूमध्ये केहीले सैद्धान्तिक र राजनीतिक भिन्नता देखाउँदै शान्तिपूर्ण गतिविधि गरिरहेका छन् भने केही तराईमा भूमिगत सशस्त्र गतिविधि गर्नेदेखि लिएर राजधानीमा चन्दा आतङ्क मच्चाउनेसम्मका काममा संलग्न छन् ।

वैद्य माओवादीको ३३ दलीय मोर्चाबाट यादव अलग्गिए पनि मणि थापाको क्रान्तिकारी कम्युनिष्ट पार्टी, कुमारप्रसाद हुमागाईंको हाम्रो नेपाल पार्टी, जनक अधिकारीको समाजवादी जनएकता पार्टी र भावना विद्रोहीको नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) त्यही मोर्चामा छन् । दाहालको एमाओवादी र वैद्यको माओवादीलाई राजनीतिक र सैद्धान्तिक आरोप लगाए पनि उनीहरू अहिलेसम्म शान्तिपूर्ण गतिविधिमै संलग्न देखिन्छन् ।

माओवादीकै पूर्व केन्द्रीय सल्लाहकार मेघराज ज्ञवालीले संयुक्त राष्ट्रवादी मोर्चा नेपाल गठन गरेर निर्वाचन आयोगमा दर्ता गरेका छन् । उनको मोर्चाले चुनाव चिन्ह कलश पाएको छ । माओवादीका पूर्व नेता तथा लेखक भरत दाहालको नेकपा माओवादी केन्द्र आयोगमा दर्ता नभए पनि अराजनीतिक गतिविधिमा संलग्न देखिंदैन । एमाओवादीको युवा संगठन योङ्ग कम्युनिष्ट लिगको काठमाडौं उपत्यकाका पूर्व इन्चार्ज चन्द्रबहादुर थापा आफ्नो नेतृत्वको बेरोजगार युवा संघलाई पार्टी बनाउने तयारीमा भर्खरै लागेका छन् । एमाओवादीको किरात राज्य समिति सदस्य लेखक राईले भर्खरै नेकपा राष्ट्रिय युवा मोर्चा गठन गरेका छन् ।

गत संविधानसभा चुनावमा प्रभावशाली देखिएको मधेशी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव कुनै वेला माओवादीको मधेशी मोर्चामा थिए भने थारू सेना बनाएर चर्चामा आएका लक्ष्मण थारूको विगत पनि माओवादीसँगै जोडिन्छ । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी र थरुहट तराई पार्टी नेपाल हुँदै अहिले विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा पुगेका छन् ।

हिंसाको बीउ
दशवर्षे हिंसा छाडेर मुख्य माओवादी शान्तिपूर्ण राजनीतिमा आए पनि ऊबाट छुट्टिएका कैयौं व्यक्ति र समूह अहिले हिंसात्मक र आपराधिक क्रियाकलापमा संलग्न छन् । मुलुकको शान्ति सुरक्षा कमजोर बन्नुमा ती समूहको भूमिका उल्लेखनीय देखिन्छ ।

‘स्वतन्त्र मधेश’ को माग गर्दै हिंसात्मक गतिविधि गरिरहेको अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत द्वन्द्वकालमा माओवादीको राष्ट्रिय मधेशी मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष थिए । उनीसँगै माओवादी छाडेका नागेन्द्र पासवान ‘ज्वालासिंह’ को जनतान्त्रिक तराई मुक्ति मोर्चा कुनै वेला तराईमा आतङ्कको पर्याय बनेको थियो ।

जातीय वा क्षेत्रीय मुक्तिसँग माओवादको कोसौं टाढाको सम्बन्ध नभए पनि लडाकू स्वभावका जनजातिलाई लडाइँमा होम्न मात्र माओवादीले जातीय नारा उरालेको उसका नेताहरूको पछिल्ला बोलीले प्रष्ट पार्न थालेको छ । तर, त्यो वेला उसले उरालेको क्षेत्रीय र जातीय नारा अहिले हिंसाको बीउ बन्दै झङ्गिएकोमा भने एमाओवादी र माओवादीका कुनै नेताले पश्चात्ताप गरेका छैनन् ।

माओवादीकै पूर्व लडाकूहरूले खोलेको मंगोल रिभेन्ज ग्रुपले २०६५ मा रोल्पा र रुकुममा हिंसात्मक गतिविधि शुरू गरेको थियो । जुन केही मानिस पक्राउ परेपछि निष्क्रिय छ । माओवादी लडाकू संगठनमा काम गरेका गोरखाका जनलाल थापाले बनाएको मगर हाङ स्वायत्त राज्य परिषद्को अहिलेसम्म खासै गतिविधि देखिएको छैन । तर, हिंसाको धङधङी नछाडेका उनीहरूको आगामी बाटो कस्तो हुनेछ भन्न सकिने स्थिति छैन ।

दाहाल नेतृत्वको एमाओवादीसँग विभाजनपछि वैद्य माओवादी सम्बद्ध विद्यार्थी संगठनले १ साउन २०६९ मा ललितपुरको रातो बंगला स्कूल, ८ साउनमा इटहरीको दिल्ली पब्लिक स्कूल तथा ९ साउनमा रूपन्देहीको एम्स कलेज र ग्लोबल कलेजका विद्यार्थी बोकेको बसमा आगजनी गर्नुले माओवादीको समग्र स्कूलिङलाई हिंसाको धङधङीले नछाडेको देखाउँछ । ती घटनाले माओवादीको मुख्य धार हिंसामा नगए पनि फुटेर बनेका व्यक्ति वा समूह हिंसामा फर्कने सम्भावना कायम रहेको देखाउँछन् ।

शान्ति सम्झैताको कमजोरी
राजनीतिक विश्लेषक नीलाम्बर आचार्यको विचारमा ५ मंसीर २०६३ मा भएको शान्ति सम्झैता अनुसार एमाओवादीले हिंसा नत्यागेकाले हिंसात्मक द्वन्द्वका वाइप्रडक्टहरूको जन्म भएका हुन् । हिंसात्मक द्वन्द्वबाट आएको पार्टीका अध्यक्ष दाहालले हामी पनि हिंसा गर्दैनौं र अरूलाई गर्न दिदैनौं नभनेकाले उनीबाट छुट्टिएका समूहलाई हिंसात्मक गतिविधि गर्न सजिलो भएको पनि उनको धारणा छ ।

आचार्य भन्छन्, “प्रतिरोध, विद्रोह वा छापामार युद्धको धम्की, जबर्जस्ती चन्दा असुली शान्ति सम्झैताको उल्लंघन भएकाले सरकारले त्यस्तो भन्ने र गर्नेलाई कानूनी दायरामा ल्याउन सक्नुपर्छ ।”

प्राध्यापक कृष्ण खनालको विचारमा सशस्त्र द्वन्द्वका वेला व्यक्तिको आकांक्षालाई उकास्दै हतियारबाट लैस गराएकाले हिंसा जन्मिने तथा जारी रहने खतरा देखिएको हो । धमाधम खुल्न थालेका समूहहरूले ‘घातक परिणाम’ निम्त्याउन सक्ने बताउँदै खनाल भन्छन्, “राजनीतिक र आपराधिक चरित्रका समूहलाई राज्यले फरक व्यवहार गर्नुपर्छ ।” सशस्त्र द्वन्द्वका वेला माओवादीले चलाएको प्रचारात्मक नारालाई यथार्थ मानेर लडाइँमा लागेकाहरू निराश भएर समूहहरूमा विभाजन हुन थालेको पनि उनी बताउँछन् ।
————————————————————————————–
घातक संकेत
प्रा. कृष्ण खनाल
माओवादी युद्धको असर कहाँसम्म पुग्छ भन्ने विषयमा गम्भीर अध्ययन भएकै छैन । तर अहिलेसम्मको स्थिति मूल्यांकन गर्दा यसले घातक परिणाम ल्याउने संकेतहरू देखा परेका छन् । एमाओवादीबाट फुटेर दल वा समूह बन्नुमा वैचारिक भन्दा व्यक्तिगत स्वार्थ प्रमुख कारण रहेको देखिन्छ । यही हिसाबले जाने हो भने कार्यकर्तापिच्छे दल बन्ने अवस्था नआउला भन्न सकिंदैन ।

आफूले आफैंलाई दल भनेर दावी गरे पनि अधिकांश समूहलाई दल भन्न मिल्दैन । कतिपय आपराधिक समूहले सजायबाट उन्मुक्ति पाउन दल बनाएको देखिन्छ । राज्यले राजनीतिक र आपराधिक समूहको पहिचान गर्नुपर्छ । माओवादीले हिजो हिंसात्मक राजनीतिलाई बढावा दिएकाले यस्तो अवस्था आएको हो ।

कम्युनिष्ट पार्टीहरू टुक्रिंदा झ्न् चर्का नारा दिन्छन् । युद्धरत पार्टीमा यस्तो प्रवृत्ति झ्न् बढी हुन्छ । नेताका भाषण र नारामा ९९ प्रतिशत प्रचारात्मक सामग्री हुन्छन् । प्रचारात्मक सामग्रीलाई यथार्थ मानेर माओवादीमा लागेका धेरै शान्ति प्रक्रियामा आएपछि निराश हुनु अस्वाभाविक होइन । यसतर्फ सरकार र दलहरूले वेलैमा ध्यान दिएनन् भने त्यस्ता समूहबाट धेरैले दुःख पाउने निश्चित छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>