ब्लगसोमबार, भाद्र ३, २०७०

भत्किएको स्वप्नमहल हेरेपछि…

रमेश कुमार

आफ्नै असीमित सपनाहरुले किचिने पात्रहरुको कथा हो ‘स्वप्नमहल’ । मण्डला थिएटरमा करिब एक महिना चलेर आइतबार विसर्जन भएको यो नाटकले तासको महलजस्तो सपना पूरा नहुँदै ढलेकाहरुको कथा भन्छ । भारतीय मसला फिल्म ‘चेन्नई एक्सप्रेस’ ले उपत्यकाबाट तीन दिनमा २ करोड १० लाख ‘ग्रस कलेक्सन’ गरेको व्यापारिक रिपोर्ट आएकै बेला चलिरहेको नाटकले दर्शकहरुको गतिलै वाहवाही पायो ।

अपार महत्वकांक्षा र यथार्थबीचको द्वन्द्वलाई उतारिएको यो नाटकले चकाचौंध जीवन भोग्न चाहने युवतीको अध्याँरो वर्तमानलाई खोतलेको छ । अमेरिकी नाटककार टेनसी विलियम्सको ‘अ स्ट्रीटकार नेम्ड डिजायर’ को नेपाली रुपान्तर हो स्वप्नमहल । नाटकमा असीमित सपना संगालेर बम्बईया फिल्ममा हराउन चाहने युवतीको अधोगति र तनावपूर्ण जीवनलाई उधिनिएको छ ।

कलाकारहरुको अभिनय, पात्रको मनस्थितिअनुसारको परिवेश चित्रण र संवाद गज्जबको छ नाटकमा । सौन्दर्यको तेज र संघर्षको बलमा बम्बईया फिल्मी दुनियाँमा पुगेकी गान्तोककी नेपाली मुलकी बेली बस्नेत अनेक हण्डर खाँदै काठमाडौं आइपुग्छे ।

पारिवारिक साहाराबिहीन बेली बहिनी–ज्वाईँको आड भरोसा खोज्दै काठमाडौं त आउँछे तर, उसका दिनहरु सुखद हुँदैन । एकातिर बेसहारा जीवन अर्कोतिर अति महत्वकांक्षाका कारण बेली बिस्तारै मानसिक रुपमा विक्षिप्त बन्न थाल्छे । सँगसँगै जीवन धान्ने पारिवारिक भरोसा पनि मेटिएपछि उसमा मानसिक समस्या चर्कदै जान्छ । वास्तविकताबाट सँधै भाग्ने बेली भ्रम बाँच्छे । हिन्दी फिल्मको काल्पनिक निर्देशकसँग बागबजारको छिंडीबाट टेलिफोनमा कुरा गर्ने उसको विक्षिप्त मनोदशालाई राम्रोसँग स्टेजमा उतारिएको छ । र, अन्त्यमा उसको यात्रा बन्दै नबनेको स्वप्नमहलको भग्नावशेषमा टेक्दै मानसिक अस्पतालतिर पुग्छ ।

अमेरिकाको कुनै निश्चित स्थान र समय केन्द्रित मूल नाटकको नेपाली रुपान्तर बागबजारको एक नेवारको घरको भुईतलामा केन्द्रित छ । र पात्रविधानमा पनि उसै गरी स्थानीयकरण गरिएको छ । पात्रहरुमार्फत समकालीन नेपालको साम्प्रदायिक भावनालाई सान्दर्भिक तरिकाले प्रस्तुत गरिएको छ । अवसरवादी पुरुषको उपयोगवादी चरित्रको मारमा पिल्सिएका नारीको दयनीय अवस्था नाटकमा छ ।

फ्रिलान्सर नेपालको प्रस्तुति रहेको यो नाटकको रुपान्तरण समुना केसीले गरेकी हुन् । रुपान्तरणको सान्दर्भिक स्थानीयकरण गर्ने र प्रभावकारी प्रस्तुति छोड्ने इलम दीक्षितको निर्देशन प्रसंशनीय छ । नाटकका प्रमुख पुरुष पात्र प्रमोद अग्रहरीको संवाद प्रवाह बेजोड छ । सरिता गिरीले उत्कृष्ट अभिनय देखाएकी छन् भने समुना केसी लगायतका अन्य कलाकारको अभिनयमा खोट भेटिदैन । एक महिना हाउसफुल चलेको नाटकमा बन्दै नबनेको स्वप्नमहल भत्काएका निर्देशकले नेपाली नाटकका लागि सम्भावनाको महल ठड्याएका छन् ।

फिल्म वा नाटक दुबैतिर त्यसको प्रभावकारिता कत्तिको भयो भनेर जाँच्ने सबैभन्दा ठूलो कसी दर्शकको सन्तुष्टि हो । नाटक हेरेर निस्किएका दर्शकको खुलेको ‘मुड’ मात्र होइन, भोलिपल्ट अफिसमा पुग्दा समेत सहकर्मीहरु नाटककै चर्चा गरिरहेका भेटिँदा लाग्यो, नाटक हेर्नेबित्तीकै बिर्सने खालको होइन रहेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>