रमझममंगलबार, भाद्र ४, २०७०
‘कलरफुल’ राजधानी
-शब्द/तस्बीर: संगम शिल्पकार
राजधानीको सडकछेउका पर्खालका खाली भित्तामा पछिल्लो समय सामान्य आँखाले हेर्दा बुझिने र नबुझिने चित्रहरू रंगिएका देखिन्छन् । अंग्रेजी शब्द पनि सँगै लेखिएका ती चित्र कसले र किन बनाएका होलान्, जिज्ञाशा भए पनि धेरैले सोध्ने र बुझ्ने ठाउँ पाउँदैनन् ।
चिनिएका अनुहार समेत देखिने ती चित्रहरू नेपाल र विदेशका कलाकारहरूले बनाएका हुन् । ती चित्र बनाउने कलाकारहरू राजनीतिक विसंगति र नेताहरूलाई व्यङ्ग्य गर्न तथा चेतना जगाउन यो अभियान थालिएको बताउँछन् ।
१४ जेठ २०६८ मा संविधानसभाको विघटन हुने दिन कलाकारहरूको समूह आर्टूडियोले ‘वी मेक द नेशन’ (हामी बनाउँछौं देश) भन्ने नारामा ललितपुरको कुपण्डोलको भित्तामा चित्र बनाएपछि यो अभियान शुरु भएको हो । त्यसपछि कलाकारहरूको विभिन्न समूहले राजधानी र अरु शहरका भित्तामा त्यस्तै चित्र बनाउन थाले ।
विभिन्न अभियान चलाउन भित्तामा अनेक रंगले चित्र र नारा लेख्ने चलन धेरै अघि देखिको हो । काठमाडौंमा लिच्छविकालदेखि भित्ते चित्र शुरु भएको मानिन्छ । मैथिलभाषी क्षेत्रको मिथिला चित्रकला पनि यसैगरी भित्तामा बनाउने चलन छ । तर, भित्तामा कलात्मक चित्र बनाउने पछिल्लो प्रयोग युवा कलाकारहरूबाट शुरु भएको देखिन्छ ।
चेतनाका लागि भित्ते चित्र
विदेशी कलाकार स्पेस इन्भेडरले सन् २००८ मा नेपालका सडकका भित्तामा चित्र बनाए पनि त्यसले धेरैलाई आकर्षित गर्न सकेको थिएन । फ्रेन्च कलाकार ब्रूनो लेभी, अमेरिकन कलाकार रेन्बो वारियर र छद्म नाम राखेका यती, मिस्टर के जस्ता नेपाली कलाकारहरूले सन् २०११ देखि भूमिगत रुपमा राजधानीका भित्ता रङ्गाउन थाले ।
‘बिग फूट’ नामक त्यो अभियानमा लागेका फ्रेन्च कलाकार लेभी बाहेक सबै कलाकारहरूले आफ्नो परिचय लुकाउन राति चित्र बनाएका थिए । अहिले चित्र बनाइरहेका युवा कलाकारहरूको समूह आर्टूडियो, आर्टल्याब र कलर तिनै ब्रूनोको सकारात्मक विचार र चेतना दिऔं अनि शहरलाई रमाइलो बनाऔं भन्ने अभियानबाट प्रेरित छ ।
आर्टूडियोले भिजुअल माध्यमबाट समाजमा भइरहेका विकृतिलाई सार्वजनिक गर्दै मानिसहरूलाई सचेत बनाउने र सुधार्ने उद्देश्य राखेको छ । त्यसका लागि उसले फोटो सर्कल जस्तो समूहसँग मिलेर फोटो, भिडियो, वृत्तचित्र, कला र अन्य मल्टिमिडियामा पनि काम गर्छ । त्यो समूहले युनिसेफसँगको सहआयोजनामा तथा विद्यालय र अरु सहकर्मीसँग मिलेर सन् २०१२ को ‘ग्लोबल ह्यान वशिङ डे’ मा काठमाडौं, पोेखरा, झापा, जनकपुर, महोत्तरीमा यस्तै चित्र बनाएको थियो ।
यो समूहले महिलाहरूको पाठेघर झर्ने समस्या, महिला हिंसाको विरोध, विश्व धूम्रपान हटाउने दिवस, बाल शोषण जस्ता विषयमा पनि भित्तामा चित्र बनाइसकेको छ । ‘आई एम् यू’ (म तिमी हो) भन्ने प्रोजेक्टमा व्यस्त आर्टूडियोलाई पशुपति पेन्ट्सले सहयोग गरेको छ ।
आर्टूडियोका संस्थापक कैलाश श्रेष्ठ भित्ते कलाले देश र जनतालाई सकारात्मक सोचमा लैजाने बताउँछन् । पैसा कमाउन भन्दा देश र समाजका लागि केही गर्न यो अभियान चलाएको उनको भनाइ छ ।
भित्तामा ७५ जिल्ला र प्रसिद्ध अनुहार
सत्या मिडिया आर्टस्ले सन् २०१२ मा शुरु गरेको ‘कलर काठमाडौं’ अभियान जनतालाई देशबारे जानकारी दिन र काठमाडौं शहरलाई रङ्गीन बनाउन केन्द्रित छ । त्यसका लागि उसले ७५ जिल्ला दर्शाउने चित्र काठमाडौं उपत्यकाका ७५ ठाउँमा भित्तामा कोर्दैछ । यो अभियानमा स्वदेशी र विदेशी २६ जना कलाकार सहभागी छन् ।
कलर काठमाडौंका संचालक युकी पौडेल राजनीतिक नारा, बन्द, हड्तालका खबर लेखिएर राजधानीका भित्ता फोहोर भएकाले यो अभियान शुरु गरेको बताउँछिन् । अमेरिकाको फिलाडेल्फियामा पढ्दा त्यहाँका भित्तामा सुन्दर चित्र देखेर प्रभावित भएको उनी बताउँछिन् । यो अभियान अगष्ट २०१३ सम्ममा चल्नेछ ।
सहभागिताका लागि कलाकारहरू आह्वान गरेर शुरु गरिएको यो अभियानकी संयोजक प्रीति शेरचन पढाइ, अनुभव भन्दा लगनशीलता र चाहनालाई आधार बनाएर कलाकार छनोट गरेको बताउँछिन् । नेदरल्याण्डको प्रिन्स क्लज फण्डले सहयोग गरेको यो अभियानमा विदेशी कलाकारहरू पनि सहभागी छन् । अभियानलाई पशुपति पेन्ट्सले ८०० लिटर रङ दिएको छ भने अभियानमा सहभागी हरेक कलाकारलाई रङ र खर्च बाहेक मासिक रु.१४ हजार पारिश्रमिक दिइएको छ ।
एक वर्षदेखि यस्तै भित्ते चित्र बनाउने अभियानमा लागेको आर्टल्याबमा ७ जना कलाकार छन् । समाजबाट नकारात्मक सोच हटाउन भित्ते कलालाई माध्यम बनाएको यो समूहका कला निर्देशक आदित्य अर्याल सार्वजनिक ठाउँलाई रोचक तथा आकर्षक पार्दै सार्वजनिक ग्यालरी बनाउने योजना रहेको बताउँछन् भने प्रबन्ध निर्देशक रोमेन भट्टराई यो कलाले मानिसहरूलाई समस्याको समाधान खोज्न प्रोत्साहित गर्ने विचार राख्छन् । कलर काठमाडौं अभियानमा संलग्न यो समूह लक्ष्मीप्रसाद देवकोटा, संगीना वैद्य, पुष्पा बस्नेत, मह जोडी, विनोद शाही, झमक घिमिरे, नारायणगोपाल, पासाङ ल्हामु शेर्पा, सत्यमोहन जोशीका मुहारको चित्र भित्तामा बनाउने ‘प्रसाद’ अभियान चलाइरहेको छ ।
जोगाउने चिन्ता
४ मंसीरमा निर्वाचन हुने चर्चासँगै भित्तामा चित्र बनाउने समूहहरूलाई त्यहाँ बनेका चित्र जोगाउने चिन्ताले सताउन थालेको छ । अहिले नै पनि कैयौं ठाउँका चित्रहरू माथि विभिन्न प्रचार सामग्री र राजनीतिक दलका भ्रातृ संगठनका नाराहरू लेखिन थालिसकेका छन् ।
आर्टूडियोका संस्थापक कैलाश श्रेष्ठ भित्ताका चित्र जोगाउन अरु समूह, चर्चित कलाकार तथा कला सम्बन्धी संघ–संस्थासँग छलफल गर्ने योजना बनाएको बताउँछन् । “उनीहरूसँग छलफल गरेपछि राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूलाई पनि ती चित्र जोगाउन अनुरोध गर्नेछौं”, श्रेष्ठ भन्छन् ।