समाचारमंगलबार, आषाढ ५, २०६९
चालू आवमा बजेटको ७२ प्रतिशत मात्र खर्च
नेपाल राष्ट्र बैंकले २०६९ जेठ मसान्तमा तयार पारेको ट्रेजरी पोजिशनअनुसार रु २६६ अर्ब ९६ करोड निकासा भएको छ भने महालेखा नियन्त्रकको कार्यालयले सो अवधिमा तयार गरेको तथ्याङ्कअनुसार बस्तुगत सहायता र सोझै नगद भुक्तानीतर्फ रु ८ अर्ब ५९ करोड खर्च भएको छ ।
अर्थसचिव कृष्णहरि बाँस्कोटाका अनुसार चालू आर्थिक वर्षमा नगदतर्फ रु ३४५ अर्ब २२ करोड बजेट छुट्टयाइएकोमा २०६९ जेठ मसान्तसम्ममा ७७.३ प्रतिशत रकम निकासा भएको छ भने सो अवधिमा बस्तुगत सहायता र सोझै नगद भुक्तानी तर्फ विनियोजित रु ३९ अर्ब ६८ करोडमा २१.७ प्रतिशत खर्च भएकोे छ ।
वस्तुगत सहायता तथा सोझै नगद भुक्तानी तर्फको रकम हाल प्राप्त भएको तथ्यांक भन्दा निकै नै बढी खर्च भएको भएता पनि सम्बन्धित दाता र आयोजनाको कार्यालयबाट महालेखा नियन्त्रकको कार्यालयमा सबै खर्चका विवरण उपलव्ध नभएकोले पनि खर्च कम देखिएको कुरा सम्बन्धित मन्त्रालयका उच्चपदाधिकारीहरूले अर्थ मन्त्रालयलाई जानकारी गराएको अर्थसचिव बाँस्कोटाले बताए ।
उनले चालू आर्थिक वर्षको कूल बजेट रु ३८४ अर्ब ९० करोड रहेको र हालसम्मको खर्चको प्रवृत्तिलाई नियाल्दा चालू खर्चतर्फ विनियोजित रु २६६ अर्ब ६१ करोड र वित्तीय व्यवस्थातर्फ विनियोजित रु ४५ अर्ब ६८ करोड पूरै खर्च हुने देखिएको जानकारी दिए ।
पूँजीगत खर्चतर्फ विनियोजित रु ७२ अर्ब ६१ करोडमा करिव रु ६५ अर्ब खर्च हुने मध्यावधि समीक्षाको प्रक्षेपणभन्दा केही बढी रकम खर्च हुने देखिएको उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवका आयोजना एवं बहुवर्षिय ठेक्कामा रहेका पहिलो प्राथमिकतामा परेका आयोजनाहरूलाई नपुग हुने रकम वचतबाट थप गरिदिंदा हुने खर्च लगायतका कारणले सबै जसो आर्थिक वर्षको अन्तिम महिनामा बढी खर्च हुने प्रवृत्तिले निरन्तरता पाइरहेको स्पष्ट पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
