रिपोर्टबिहीबार, भाद्र ६, २०७०

चासो चर्पी र चूलोको

हिमालखबर

– कुन्द दीक्षित

यशोदा ताम्राकार

चर्पी र चूलोलाई आधुनिक बनाउने हो भने धेरै नेपालीलाई अकाल मर्नबाट जोगाउन सकिन्छ ।

हरेक नेपालीको घरपरिवारमा हरेक दिन प्रयोग हुने चूलो र चर्पी जीवन–मरणको विषय भए पनि थोरैले मात्र त्यसबारे ध्यान दिन्छन् । नेपालको ८० प्रतिशत घर–आँगनका चूलामा दाउरा, छेस्का, गुइँठा बालिन्छ ।

हिमाल, पहाड र तराईमा खाना पकाउने चूलोबाट निस्कने धूवाँका कारण निमोनिया र फोक्सो सम्बन्धी रोग लागेर हरेक वर्ष १० हजार बालबालिकाको मृत्यु हुन्छ । हिउँदमा गुम्सेर घरभित्रै बस्नुपर्ने हुँदा धूवाँबाट अरू वेलाभन्दा बढी निमोनिया हुन्छ ।

चूलोनिर अधिकांश महिला नै बस्ने भएकाले धूवाँले छाती र आँखामा ल्याउने रोग पनि महिलालाई नै बढी लाग्छ । यति धेरै नेपालीहरूलाई प्रत्यक्ष असर पार्ने, महिला, बालिकालाई हानि गर्ने चूलोको बारेमा भने मिडियामा कमै चर्चा भएको पाइन्छ । जबकि, आठ प्रतिशत मात्र नेपालीले प्रयोग गर्ने मट्टीतेल र ग्याँसका बारेमा पत्रिकामा पानाका पाना छापिन्छ ।

बाबुराम भट्टराई सरकारले अबको चार वर्षभित्र नेपालका सबै घरमा धूवाँ नआउने र दाउरा कम लाग्ने सुधारिएको चूलो प्रयोगमा ल्याउने निर्णय गरेको थियो । नेपालको ३५ लाख ग्रामीण घरहरूमध्ये १० लाखमा नयाँ प्रविधिको चूलो प्रयोगमा आइसकेको छ ।

डडेल्धुराको डोमाडाका सबै ११५ घरधुरीमा ‘रकेट’ प्रविधिको नयाँ चूलो गत एक वर्षमा जडान गरिएका छन् । रु.४०० मात्र पर्ने यो चूलोले दिने फाइदाहरू अनगिन्ती छन्: दाउरा आधा लाग्छ, खाना पकाउने समय आधा घट्छ, धूवाँ नआउने भएकाले महिला र बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ, महिलाहरूको दाउरा खोज्ने, बोक्ने र भाँडा अनि लुगा धुने चटारो कम हुन्छ ।

यो चूलो नहुँदासम्म ४० वर्षीया यशोदा ताम्राकार दैनिक ६ घण्टा लगाएर जंगलमा दाउरा खोज्थिन् र ५० किलोसम्म दाउराको भारी बोकेर ल्याउँथिन् । यशोदा जस्ता सुदूरपश्चिमका धेरै महिलाको धपेडी एउटा मामूली चूलोले हल गरेको छ । “यो रकेट चूलोले त हाम्रो जिन्दगी नै फरक पारेको छ”, डोमाडाकी गौरी देवी भाट भन्छिन्, “पैसा, समय, काम सबै कम पार्दै हाम्रो आयु पनि बढाएको छ ।”

रकेटको प्रविधि साधारण, सस्तो र जडान गर्न सजिलो छ । गाउँघरकै फलामे पसलमा फलामको ट्यूव बनाएर त्यसमा माटोले लिपेपछि झट्ट हेर्दा परम्परागत जस्तै देखिने यो चूलो बन्छ । चूलोको मुखमा दाउरा र हावा छिर्ने ठाउँ अलग हुने भएकाले पर्याप्त हावा छिर्दा आगोको राप बढी आउँछ भने धूवाँ निस्किंदैन । राप बढी भएको आगोले धूवाँलाई खाइदिने हुनाले अरू सुधारिएको चूलोलाई जस्तो यसलाई चिम्नी पनि चाहिंदैन । यस कारण पनि रकेट चूलो अरूभन्दा सस्तो पर्छ ।

गौरीदेवी भाट

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका डा. गोविन्द पोखरेलका अनुसार यो वर्ष ३३ जिल्लामा २ लाख ५० हजार धूवाँरहित चूलो जडान हुँदैछन् । “यही गतिमा विस्तार हुँदै जाने हो भने २०१७ को लक्ष्य पूरा हुन्छ”, पोखरेलले हिमाल सँग भने । चूलो जडान अभियानमा सहयोग गर्न नेदरल्याण्डका एसएनभी, आईयूसीएन र डब्ल्यूडब्ल्यूएफ लागिपरेका छन् ।

एसएनभीका सरोज राईका अनुसार सरकारले यो अभियानलाई प्राथमिकतामा राख्ने हो भने, दशौं हजारको ज्यान जोगिन्छ र नेपालको ग्रामीण विकासमा अकल्पनीय प्रगति हुनेछ । राई भन्छन्, “सरकारले ग्याँसको लागि अर्बौंको अनुदान दिएको छ, तर यो सस्तो र साधारण प्रविधिले त्योभन्दा धेरै बढीको जीवनमा परिवर्तन ल्याउन सक्छ ।”

चूलो ओझेलमा परेकैले चर्पी पनि ओझेलमा परेको हो । यो प्रविधि र अभियानले ग्रामीण नेपालका खासगरी गरीब महिला र बालबालिकालाई लक्ष्य गरेकोले पनि ओझेलमा परेको हुन सक्छ । तर, काठमाडौंका शासकले धेरै ध्यान नदिए पनि जिल्ला र गाविसमा भने चूलो र चर्पीको लहर चलेको छ ।

सन् २०१७ मा पूरा गर्ने सरकारको अर्को लक्ष्य हो, नेपालका ७५ वटै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नु । धूवाँ नआउने चूलोले बालबालिकालाई निमोनियाबाट जोगाए जसरी नै खुला दिसापिसाब नगर्ने र हात धुने बानी बसाल्दा झडापखाला, टाइफाइड र हैजा जस्ता महामारी फैलन रोकिन्छ ।

नेपालमा हरेक दिन झडापखालाले पाँच वर्षमुनिका पाँच जना बालबालिकाको ज्यान लिन्छ । नेपालको जनसंख्याको ७० प्रतिशतमा टेलिफोन/मोबाइलको पहुँच पुगेको छ तर, चर्पीको पहुँच ६० प्रतिशतमा मात्र छ । २० वर्षअघि १० प्रतिशत नेपालीले मात्र ट्वाइलेट प्रयोग गर्ने गरेको तथ्यले भने अहिले प्रगति भएको नै देखाउँछ ।

काठमाडौं जिल्ला खुला दिसामुक्त घोषणा नहुँदै अछाम जिल्ला सुदूरपश्चिमको पहिलो खुला दिसामुक्त जिल्ला भर्खरै बनेको छ । चर्पी बनाउँदा कति फाइदा हुन्छ भन्ने अछामको मंगलसेनबाट ४० किलोमिटर टाढाको भागेश्वर गाविसलाई हेरे पुग्छ ।

“पाँच वर्षअघिसम्म पनि जताततै दिसा डुङ्डुङ्ती गन्हाएर यो बाटो हिंड्नै नहुने हुन्थ्यो”, रतन बोहरा भन्छन् । सामुदायिक वनको बीचबाट अघि बढ्ने त्यही बाटो अहिले सफा र रमणीय बनेको छ ।

तीन वर्षअघिसम्म भागेश्वरको स्वास्थ्य चौकीमा आउने बिरामीको आधारमा झडापखाला त्यहाँको नम्बर १ रोग थियो, अहिले यो नम्बर १२ मा झरेको छ । भागेश्वरमा ९० प्रतिशत स्कूल भर्ना, १०० प्रतिशत खोप कार्यक्रम छ, कुपोषण, बालविवाह, घरेलु हिंसा र छाउपडी निर्मूल पारिएको छ । भागेश्वरका उपलब्धिहरू राष्ट्रियस्तरमा परिणत गर्ने हो भने नेपाल अल्पविकसित मुलुकबाट तुरुन्तै मध्य विकसितमा पुग्नेथियो ।

भागेश्वरको यो प्रगति त्यहाँका महिला समूहको जागरुकताले भएको हो । युनिसेफकी मञ्जु वाग्ले भन्छिन्, “भागेश्वरले यत्रो प्रगति हासिल गर्नुको मूल कारण यहाँका महिलाहरूले पुरुषहरूलाई विकासमा आफूसँगै संलग्न गराएर प्रचलित पितृसत्तात्मक सोच बदल्न सक्नु हो ।”

सावित्री बटाला, जानकी बोहरा र लक्ष्मी शर्मा भागेश्वरको विकास अभियानमा जुटेका छन् । तर सावित्रीलाई भागेश्वरमा मात्रै परिवर्तन ल्याएर चित्त बुझेको छैन । “भागेश्वर मात्र खुला दिसामुक्त अथवा छाउपडी मुक्त भएर पुग्दैन । मेरो माइती गाउँ, पूरै सुदूरपश्चिममा प्रगति हुनुपर्यो ।”

अछाम जिल्ला खुला दिसामुक्त भएपछि कालीकोटले पनि सोही घोषणा गर्‍यो, र अबको चार वर्षमा सबै जिल्लामा यो लागू हुने लक्ष्य छ । भागेश्वरले जस्तै भाग्यमा विश्वास नगरेर आफ्नो विकास आफैं गरे देशले नै ठूलो फड्को मार्ने निश्चित छ । तर त्यसको लागि चूलो र चर्पीको बारेमा खुला बहस भने हुनुपर्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>