रमझमशुक्रबार, भाद्र ७, २०७०

चिल्लो पातको लक्षण

हिमालखबर

चलचित्र भिमदत्तकी नायिका सुमिना घिमिरेसँग निर्देशक टासी

मुगुको दुर्गम गाउँ मुगुका हिमग्याप लामा टासी (३६) का धेरै साथी अहिले पनि यार्सागुम्बाको व्यापार गरेर पैसा कमाउँछन् । तर, उनलाई भने पैसाले भन्दा नामको मोहले सानैदेखि तान्यो ।

त्यही भएर भारतको दार्जीलिङबाट स्कूले शिक्षा सक्ने बित्तिकै नृत्य सिक्न भारतकै धर्मशाला र दिल्ली पुगे । त्यहाँबाट काठमाडौं फर्केपछि त्रिचन्द्र क्याम्पसमा पढ्दै वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठसँग पनि नृत्य सिके ।

राम्रो अध्ययनपछि मात्र राम्रो परिणाम आउने गरी काम गर्न सकिने मान्यता राख्ने उनले निर्देशक प्रताप सुब्बासँग ‘क्लासिक सिनेयुनिभर्स’ मा अभिनय, चलचित्र निर्देशन, क्यामेरा चलाउने प्रशिक्षण लिए ।

त्यसपछि जर्मनीको प्राइपर्ग फिल्म इन्ष्टिच्यूटबाट तिनै विषयमा ७ महीने कोर्ष गरेलगत्तै अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमी क्यालिफोर्नियाबाट एकवर्षे फिल्म निर्देशन अभिनय, सिनेमाटोग्राफी, स्क्रिप्ट लेखन र सम्पादन पढे । टासी भन्छन्, “योग्य निर्देशक बनुँ भनेर नै मैले यत्रो मिहिनेत गरेको हुँ ।”

नभन्दै, ती कोर्ष गरेर फिल्म निर्देशनमा आएका उनले गरेका कामको वरिष्ठ निर्देशकहरूबाट समेत प्रशंसा हुन थालेको छ । वरिष्ठ निर्देशक यादव खरेल भन्छन्, “टासीको काम हेर्दा नेपाली फिल्म क्षेत्रले प्रतिभाशाली निर्देशक पायो भन्न सकिन्छ ।” “टासी जस्तै अध्ययन, नयाँ सोच र काम गर्ने शैली भएका निर्देशक आए भने नेपाली चलचित्रमा परिवर्तन आउन समय लाग्दैन” अर्का वरिष्ठ निर्देशक प्रताप सुब्बाको विचार छ ।

चलचित्र भिमदत्तको छायांकनका क्रममा शट बारे नायिका निशा अधिकारीलाई सम्झाउँदै निर्देशक टासी

वरिष्ठहरूबाट हौसला पाएका टासीको काम पनि हौसला दिनुपर्ने खालकै छ । टाउको काटेर वि.सं. २०१० मा प्रहरीले हत्या गरेका किसान आन्दोलनका अगुवा शहीद भीमदत्त पन्तको विषयको चलचित्र उनकै निर्देशनमा बनेको छ ।

५०–६० वर्ष अघिको घटनालाई फिल्ममा उतार्नु गाह्रो काम भए पनि टासीले त्यो सफलतापूर्वक गरेको बताउँदै भीमदत्त का निर्माता नवल खड्का भन्छन्, “युवा जोश र काम गर्ने क्षमता देखेरै मैले यो चलचित्र निर्देशन गर्ने जिम्मा उहाँलाई दिएको हुँ ।” भीमदत्तको जन्म गाउँ डडेलधुराको कारी, त्यहींका अरू गाउँ र कर्णाली क्षेत्रमा चलचित्र छायांकन गरिएको छ ।
अमेरिकामा कोर्ष सकेलगत्तै उनले त्यहाँ बसेका भुटानी शरणार्थीको कथामा आधारित चलचित्र भुल्ने पो हो कि निर्देशन गरेका थिए । नायिका प्रियंका कार्कीलाई चलचित्रमा प्रवेश दिएको सो चलचित्रपछि नायिका रेखा थापाले उनलाई चलचित्र काली को निर्देशन गर्न अमेरिका हुँदै प्रस्ताव राखेकी थिइन् ।

जसलाई माने पनि भीमदत्त सँग समय जुधेपछि गर्न नभ्याएको टासी बताउँछन् । चलचित्र भीमदत्त आफ्नो करिअरका लागि मात्र नभएर नेपाली चलचित्रकै लागि महत्वपूर्ण हुने उनको विश्वास छ ।

अमेरिकामा अध्ययन गरेको वेलामै उनले घरबास नभएकाहरूको विषयमा होमलेस डार्कनेस, नेपालमा दाइजो र बालविवाह सम्बन्धी अनसल्भ फ्याक्ट, तिब्बती शरणार्थी सम्बन्धी फेथ, काठमाडौंदेखि सुर्खेत, मुगु हुँदै तिब्बतसम्मको यात्रा डकुमेन्ट्री भर्जिन अफ हिमालय, काठमाडौंमा ईंटाभट्टाले पारेको असर बारे डिस्ट्रोय काठमाडू जस्ता डकुमेन्ट्री बनाएका थिए ।

भिमदत्तका नायकसँग टासी

गत असोजमा चलचित्र निर्देशक समाजले लमजुङको घलेगाउँमा आयोजना गरेको फिल्म कार्यशालामा मन्सरी नामक उनले बनाएको छोटो चलचित्र सर्वोत्कृष्ट घोषित भएको थियो । भीमदत्त को पोष्ट प्रोडक्सनको काम गर्दै रहेका टासीले त्यो सक्नासाथ अमेरिका र क्यानाडा गएर चलचित्र सिमलको फूल खिच्नेछन् । जसको कथा उनका गुरु निर्देशक प्रताप सुब्बाले लेखेका हुन् भने अमेरिकामै बस्ने अनुराधा शाह निर्माता हुन् ।

ऐतिहासिक पात्र भृकुटीको बारेमा प्रिन्सेस भृकुटी बनाउने योजना उनको ड्रिम प्रोजेक्ट हो । जुन आफ्नो करिअर र नेपाली सिनेमाका लागि कोसेढुंगा बन्ने उनको आशा छ ।
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>