रमझमआइतबार, भाद्र ९, २०७०
सुदूरपश्चिममा गौरा शुरु
गहुँ, केराउ, गहत, मास र गुरौस पाँच अन्न मिसाएको ‘विरुडा’ भिजाएर सुदूरपश्चिममा गौरा पर्वको शुरुवात गरिएको छ ।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि प्रारम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा बिरुडा (पाँच प्रकारको अन्न) भिजाएर पर्वको शुभारम्भ गर्छन ।
दशै–तिहार जत्तिकै महत्वका साथ मनाइने यो पर्वलाई पौराणिक कालमा भगवान शिवको प्राप्तिका लागि गौरा देवी (पार्वती) ले निराहार ब्रत बसी तपस्या गरेकाले शिवलाई पाएको भन्ने धार्मिक विश्वाससँग जोडिन्छ । गौराको दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।
सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पूजा–अर्चना गरिन्छ भने गौराष्टमी मुख्य दिनका रुपमा लिइन्छ । यो दिन गौराको धुमधामसँग पूजाआजा गरि देउडा खेल्ने गरिन्छ ।
गौरा पर्वको प्रमुख आकर्षण देउडा नै हो । देउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ ।
गौरा पर्वका अवसरमा यहाँका बभिन्न मठ, मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्न थालेको छ ।
बच्चु विक, महेन्द्रनगर