टिप्पणीआइतबार, भाद्र ९, २०७०
बेच्न सकिएला नेपाल ?
‘स्वागत छ नेपालमा’ शीर्षकमा एउटा लेख छापिएको छ– १२ साउनको कान्तिपुर कोसेलीमा । जन्मिन लागेको सन्तानलाई पिताले लेखेको पत्र हो, त्यो । ग्रेटर नेपाल, दासढुंगा, बधशाला जस्ता चलचित्र बनाएका मनोज पण्डितको त्यो लेखमा हामी सबैको चिन्ता अटाएको छ । जहाँ, देशको परिस्थिति र भावी पुस्ताका अप्ठेरा समेटिएका छन् ।
‘सिस्टम’ खराब ?
संविधान नबनेकाले संक्रमणकाल लम्बिंदै गएको छ । पञ्चायतकालका प्रधानमन्त्री मृत्युपछि राष्ट्रवादका नायक बन्नुले नै देखाउँछ, दलहरूका नेताहरूप्रति बढेको अविश्वास । श्रद्धाका पुराना केन्द्र ढले पनि नयाँ स्थापित हुन नसक्दा यस्तो अवस्था आउनु अनौठो होइन ।
अहिले जताततै फाटो मात्र देखिन्छ, जोड्ने वस्तु कहीं केही देखिंदैन । तर, यही अव्यवस्थालाई भजाउँदै राजनीति गर्न एउटा तप्का कस्सिएको छ । मुलुकले अरू देशसँग आपसी हितका लागि गर्ने समझ्दारीका प्रयासलाई बंग्याउँदै ‘हस्तक्षेप’ भनेर त्यो तप्का त्रासको राजनीति गर्न खोज्दैछ । तथ्यहरू लुकाएर जनमत धमिल्याउँदै स्वार्थ पूरा गर्ने तथा हुँदै नभएको इतिहास लेख्ने प्रयत्न पनि त्यही शक्तिबाट हुँदैछ ।
यस्तो परिस्थितिमा हामी आम मानिस पनि देशलाई खाल्डोमा हाल्न आफ्नो तर्फबाट भरमग्दुर प्रयास गर्दैछौं । नेताहरूलाई गाली गर्छौं, ‘सिस्टम’ नै खराब छ, दलहरूले फोहोर राजनीति गरे भन्छौं । तर, यो परिस्थिति बदल्न जिम्मेवार नागरिकको हिसाबले के ग¥यौं वा के गर्न सक्छौं भन्ने चाहिं कहिल्यै सोच्दैनौं ।
अंग्रेजीमा नाम भन्न जान्नासाथ अमेरिका पुग्ने सपना देख्ने हामीहरू ‘मेरा छोराछोरी सुख र शान्तिसाथ विकसित मुलुकमा बसून् र दाम कमाउन् तथा अरूका छोराछोरी यहीं बसेर देश बनाइदिउन्’ भन्ने सोच्छौं । अरूले देश बनाएपछि आफ्ना सन्तान नातिनातिना लिएर फर्किन पाउन् भन्ने हाम्रो सोच रहन्छ । तर, यस्तो सोच्नु तथा हातमा अरू देशको ‘ग्रीनकार्ड’ लिएर देशको चिन्ता गरेको देखाउन खोज्नु पाखण्ड बाहेक केही होइन । छोराछोरीले ग्रीनकार्ड पाए भनेर भोज गर्नु अर्को पाखण्ड हो ।
देश बेच्ने चिन्ता
मनोज पण्डितको त्यो लेखले मलाई भने आफैंलाई परेको समस्याको सम्झ्ना गराएको छ, छोराको नागरिकताको । त्यसबारे दुई वर्षअघि रिपब्लिका दैनिकमा ‘सेलिङ माइ कन्ट्री’ भन्ने लेखमा लेखेको पनि थिएँ ।
मेरी श्रीमती नेपाली मूलकी भारतीय नागरिक हुन् भने म नेपाली । बच्चा जन्मनुअघि हामीलाई उसको भविष्यसँगै नागरिकता सम्बन्धी पनि चिन्ता थियो । छोरा नेपाली हुनेछ कि भारतीय भन्ने त्यो चिन्ता मलाई अझै पनि छँदैछ ।
मसँग बिहे भएपछि पनि मेरी श्रीमतीले भारतीय नागरिकता छोड्न चाहिनन् र मैले उनको त्यो भावनाको कदर गरें । म पनि भारतीय नागरिक बन्न चाहिनँ, जस्तै भए पनि आफ्नै नेपाल राम्रो लाग्ने भएकाले । मेरो भित्रैदेखिको चाहना छ, मेरो छोरो पनि नेपाली नागरिक रहोस् । तर, यो विषयमा ‘भिटो’ प्रयोग गर्न सक्ने ताकत मसँग थिएन र अब पनि हुने छैन । त्यसैले यो विषयमा उमेर पुगेपछि छोरालाई नै निर्णय गर्न दिने निष्कर्ष निकालेर हामीले विवाद टुङ्ग्यायौं ।
दुई वर्षको छोरा सिद्धान्तले आफ्नो बारे भविष्यमा आफैंले निर्णय गर्ने विश्वासमा हामी अहिले ढुक्क छौं । तर, देशमा अहिले भइरहेका घटनालाई छोराका आँखाले हेर्ने प्रयत्न गर्दा भने ममा चिन्ता बढ्न थालेको छ । देशको यो परिस्थिति, हामीले देखाएका लक्षण, हामीले खनेको जगलाई उसले कसरी हेर्ला भनेर सोच्दा मेरो चिन्ता अरू बढ्छ । र, यो सबै सोच्दासोच्दै उमेर पुगेपछि छोराले कुन विकल्प रोज्ला भन्नेसम्म सोचेर म अरू चिन्तित बन्छु ।
मलाई आफ्नो देश आफ्नै छोरालाई बिकाउने बाध्यता छ । किनभने, त्यसो हुन सकेन भने मेरो जीवन असफल हुनेछ । आउँदो एक दशकमा हामीले के गर्नेछौं, त्यसैले निर्धारण गर्नेछ, म सफल हुने र असफल हुने । “हाम्रै भावी पुस्तामा बिक्न सक्ने नेपाल हामी बनाउँदैछौं त ?” यो प्रश्नलाई केन्द्रमा राखेर अहिले नै काम थाल्ने हो भने मात्र भावी पुस्ताका लागि यो देश लायक बनाउन सक्नेछौं । यो देश हामीले बनाउने हो भन्ने सोच्दा यो असम्भव पनि छैन ।
साप्ताहिक खबरपत्रिका हिमालबाट