रमझमबिहीबार, भाद्र १३, २०७०
सत्कर्मी सत्यनारायण
जनकपुरको ज्ञानकूपमा रहेको याज्ञवल्क्य संस्कृत विद्यापीठको दक्षिण–पश्चिमछेउमा २९ चैत २०६६ मा महीना नपुगेर जन्मिएको नवजात शिशु बेवारिसे अवस्थामा भेटिएपछि त्यहीं नजिक बस्ने सत्यनारायण आलोक (३८) ले अञ्चल अस्पताल जनकपुरमा भर्ना गरिदिए । ती बालिकाको स्वास्थ्य राम्रो हुँदै गएपछि उनले आफैं भरणपोषण गर्ने निर्णय गरेर देशना आलोक नाम पनि दिए ।
त्यो वेला बाध्यताले थालेको बेसहारा बालबालिका पाल्ने कामलाई निरन्तरता दिने निर्णय गरेपछि अहिले त्यसैगरी भेटिएर उनले नयाँ जीवन दिएका साधना, आराधना, अर्चना, चिराग र अर्पणा दुईदेखि पाँच वर्ष पुगेका छन् । यो सबै कामका लागि केही निजी संघ–संस्थाबाट सहयोग लिएका उनले सरकारी निकायबाट केही लिएका छैनन् ।
अहिले सत्यनारायणले ‘सदगुरु कविर अनाथ बालवात्सल्य आश्रम’ नै निर्माण गरेर ती बालबालिकाको हेरचाह गर्न तीन जना महिलालाई काम पनि दिएका छन् । बेवारिसे शिशुहरूलाई पाल्न उनले आश्रम खोलेको खबर फैलिएपछि धनुषा र महोत्तरीका गाउँबाट समेत बेवारिसे शिशु फेला पर्दा उनलाई खबर आउन थालेको छ । शिशु अवस्थामै त्यहाँ ल्याइएका बालिकाहरू सम्भावना र अर्चनाको भने केही समयअघि निधन भएको छ ।
महोत्तरीको विजलपुरा–३ घर भएका सत्यनारायण वि.सं. २०५७–२०५८ मा भक्तपुर, गुण्डुको उच्च माविमा शिक्षक थिए । त्यहाँबाट जनकपुरको विज्ञान अध्ययन केन्द्रमा पढाउन पुगेका उनी २०६३ मा योग साधना सिक्न भारतको इलाहावाद गए । त्यहाँबाट फर्केपछि आध्यात्मिक बाटोमा लागेका उनी बालबालिकासँगको लगावले विवाहतर्फ पनि ध्यान नगएको बताउँछन् । उनी भन्छन्, “अब त विवाह गर्ने सोच पनि आउन छाड्यो ।”
जनकपुरका युवा क्लब र संघसंस्थाहरूले आफ्नो वार्षिकोत्सवमा चामल, दाल, बिस्कुट, चाउचाउ दिए पनि आश्रम चल्न दैनिक रु.२ हजार खर्च हुने उनी बताउँछन् । त्यही भएर जिल्ला विकास समिति धनुषा र जनकपुर नगरपालिकालाई सहयोगका लागि गुहारे पनि अहिलेसम्म सहयोग भने पाएका छैनन् ।
ईश्वरचन्द्र झा, जनकपुर