खेलकुदबिहीबार, भाद्र १३, २०७०

साफ फुटबल जिते आवास र आजीवन भत्ता

हिमालखबर

१३ भदौमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले १५ देखि २६ भदौसम्म हुने साफ प्रतियोगितामा नेपाली खेलाडी विजयी भए आवास र रु. १० हजार आजीवन भत्ता दिने बताएका छन् ।

साफ खेल सञ्चालनका लागि रु पाँच करोड ४२ लाख १६ हजारको बजेट तर्जुमा गरिएको छ । एन्फा महासचिव धिरेन्द्र प्रधानका अनुसार प्रतियोगिता सञ्चालनका लागि चाहिने रकममध्ये नेपाल सरकारले रु ६० लाख प्रदान गरेको छ भने दक्षिण एसियाली फुटबल महसंघले ४० लाख अमेरिकी डलर उपलब्ध गराएको छ । बाँकी अपुग रकम टिकट बिक्रीबाट उठाइने पनि प्रधानले जानकारी दिए ।

प्रतियोगिताका दर्शकका लागि साधारण प्यारापिटतर्फ रु तीन सय र भिआइपी प्यारापिटतर्फ रु सात सय दरका टिकट उपलब्ध गराइने एन्फाले बताएको छ ।

प्रतियोगिताका १५ खेलमध्ये १० खेल दशरथ रङ्गशालामा र बाँकी पाँच खेल हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा सञ्चालन हुने जानकारी दिँदै एन्फा अध्यक्ष थापाले विजेता टोलीलाई ५० हजार अमेरिकी डलर तथा उपविजेतालाई २५ हजार डलर प्रदान गरिने जानकारी दिए । त्यसैगरी सेमिफाइनल प्रवेश गर्ने दुई समूहलाई १०/१० हजार डलर प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुने आठ राष्ट्रहरु नेपाल, भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, श्रीलङ्का, अफगानिस्तान र पाकिस्तानलाई टिम तयारीबापत जनही २५ हजार डलर प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिताको पहिलो खेल नेपाल र बङ्गलादेशबीच १५ भदौ साँझ ६:३० बजे सञ्चालन हुनेछ ।

सन् १९९९ मा भारतको गोवामा भएको दोस्रो साफ र सन् २०११ मा भारतको नयाँ दिल्लीमा भएको सातौं साफमा सेमिफाइनल पुग्नुबाहेक नेपालले अहिलेसम्म साफमा सफलता हासिल गर्न सकेको छैन । साफ फुटबल प्रतियोगिता पहिलो पटक सन् १९९७ मा नेपालमा भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...